इजरायल र लेबनानबिचको सीमा तथा सुरक्षासम्बन्धी वार्ताको अर्को चरण आगामी अगस्ट ४ देखि ६ सम्म इटालीको रोममा हुने अमेरिकाको विदेश मन्त्रालयले पुष्टि गरेको छ।
इजरायल दक्षिणी लेबनानका दुई ‘पाइलट जोन’बाट क्रमिक रूपमा सेना फिर्ता गर्ने तयारीमा रहेका बेला वार्ताको नयाँ चरण तय गरिएको हो।
अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीले नाम सार्वजनिक नगर्ने सर्तमा एएफपीसँग वार्तामा प्राविधिक समूहहरूले इजरायल–लेबनान फ्रेमवर्क सम्झौताको पूर्ण कार्यान्वयनमा केन्द्रित हुने जानकारी दिएका छन्।
उनका अनुसार छलफलमा ‘पाइलट जोन’को कार्यान्वयन विस्तार गर्ने, बाँकी रहेका सबै सीमा विवाद समाधान गर्ने तथा दीर्घकालीन शान्ति र सुरक्षा सम्झौताका आधार तयार गर्ने विषय समावेश हुनेछन्।
इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले गत साता अमेरिकी मध्यस्थतामा हुने वार्ताको नयाँ चरणबारे पहिलोपटक सार्वजनिक जानकारी दिएका थिए।
इजरायल र इरान समर्थित हेजबुल्लाहबिच मार्च २ मा युद्ध सुरु भएपछि मध्यपूर्व द्वन्द्वको पृष्ठभूमिमा इजरायल–लेबनान फ्रेमवर्क सम्झौता भएको थियो।
उक्त सम्झौताले युद्ध अन्त्य, हेजबुल्लाहको निःशस्त्रीकरण, दक्षिणी लेबनानमा लेबनानी सेनाको पूर्ण तैनाती तथा इजरायली सेनाको दुई ‘पाइलट जोन’बाट चरणबद्ध फिर्तालाई समेटेको छ।
अमेरिकी अधिकारीका अनुसार प्रारम्भिक ‘पाइलट जोन’को अनुभवका आधारमा कार्यान्वयन प्रक्रियालाई अझ प्रभावकारी बनाउँदै त्यसलाई विस्तार गरिनेछ।
यसैबिच लेबनानी सेनाले आइतबार दक्षिणी क्षेत्रमा इजरायलले सैन्य कारबाही जारी राखेकाले फ्रेमवर्क सम्झौताअनुसार आफ्नो पूर्ण तैनाती रोकिएको जनाएको छ।
बेरुतले युद्धको तीव्रता घटे पनि दक्षिणी लेबनानमा इजरायली आक्रमण र तोपखानाबाट गोलाबारी जारी रहेको जनाएको छ।
Shares

प्रतिक्रिया