इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले अमेरिकाले आक्रमण गरेमा त्यसको कडा जवाफ दिइने चेतावनी दिएका छन्।
खामेनीले विज्ञप्ति जारी गरी भनेका छन्, ‘अमेरिकाले गर्ने कुनै पनि प्रकारका सैन्य हस्तक्षेपको जवाफ निश्चित रूपमा अपूरणीय क्षतिका रूपमा दिइनेछ।’
खामेनीले इरानीहरू आत्मसमर्पण गर्ने मानिस नभएकाले इरानलाई धम्की नदिन अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सुझाव पनि दिएका छन्।
विज्ञप्तिमा उनले भनेका छन्, ‘इरान, यसका जनता र यसको इतिहास जान्ने बुद्धिमान व्यक्तिहरू कहिल्यै पनि यो देशसँग धम्कीको भाषामा कुरा गर्दैनन्, किनभने इरानीहरू आत्मसमर्पण गर्ने मानिस होइनन्।’
खामेनीले अगाडि भनेका छन्, ‘अमेरिकी राष्ट्रपति हामीलाई धम्की दिन्छन्। आफ्ना आधारहीन वक्तव्यमार्फत उनी इरानी जनताबाट आत्मसमर्पणको माग गर्छन्। उनले त्यस्ता मानिसहरूलाई धम्की दिनुपर्छ, जो धम्कीबाट डराउँछन्। इरानी जनता यस्ता धम्कीबाट डराउँदैनन्।’
यसअघि मंगलबार राति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत इारनलाई 'निःसर्त आत्मसमर्पण’ गर्न चेतावनी दिउका थिए।
अनि ट्रम्पले यस्तो पनि लेखेका छन्, ‘हामीलाई राम्ररी थाहा छ- तथाकथित 'सर्वोच्च नेता' कहाँ लुकेका छन्। उनी एक सजिलो निशाना हुन्, तर उनी अहिलेको लागि त्यहाँ सुरक्षित छन्।’
Shares

प्रतिक्रिया