लगातार तेस्रो कार्यकाल भारतको प्रधानमन्त्री बनेका नरेन्द्र मोदीको शपथ समारोहमा सहभागी हुन विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुख दिल्ली पुगिरहेका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार बंगलादेशकी प्रधानमन्त्री शेख हसिना शनिबार भारत पुगेपछि आज माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु दिल्ली पुगेका छन्।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले फेसबुकमा पोस्ट गर्दै सो जानकारी दिएका हुन्।
उनले लेखेका छन्, ‘माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुलाई प्रधानमन्त्री र मन्त्रिपरिषद्को शपथ ग्रहण समारोहमा सहभागी हुन नयाँ दिल्लीमा स्वागत गरियो। उनलाई विमानस्थलमा सचिव (पश्चिम) पवन कपुरले स्वागत गरे। भारत र माल्दिभ्स समुद्री साझेदार र नजिकका छिमेकी हुन्।’
मोहम्मद मुइज्जु राष्ट्रपति बनेदेखि नै भारत र माल्दिभ्सको सम्बन्धमा उतारचढाव आएको थियो। उनको चुनावी अभियान पनि भारतविरुद्ध केन्द्रित थियो।
अब उनी भारत आएपछि दुई देशबीचको सम्बन्धमा नयाँ उचाइ आउने अपेक्षा गरिएको छ।
Shares

प्रतिक्रिया