ग्लोबल


अमेरिकासँग वार्ता गर्न फ्रान्स जाँदै चीनका उपप्रधानमन्त्री, बढ्यो कूटनीतिक चासो

अमेरिकासँग वार्ता गर्न फ्रान्स जाँदै चीनका उपप्रधानमन्त्री, बढ्यो कूटनीतिक चासो

चीनका उपप्रधानमन्त्री हे लिफेङ


नेपालखबर
फागुन २९, २०८२ शुक्रबार १५:१६, काठमाडौँ

चीन र अमेरिकाबिच आर्थिक तथा व्यापारिक मुद्दामा उच्चस्तरीय संवाद अघि बढाउने प्रयासस्वरूप चीनका उपप्रधानमन्त्री हे लिफेङ शनिबार फ्रान्सतर्फ प्रस्थान गर्ने भएका छन्। 

फ्रान्सको राजधानी पेरिसमा हुने यस वार्तालाई अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी चिनफिङबिच हुने सम्भावित शिखर भेटवार्ताअघि महत्त्वपूर्ण तयारीका रूपमा हेरिएको छ।

चीन सरकारका अनुसार हे लिफेङले मार्च १४ देखि १७ सम्म फ्रान्समा अमेरिकी प्रतिनिधिमण्डलसँग आर्थिक तथा व्यापारिक परामर्शका लागि चिनियाँ टोलीको नेतृत्व गर्नेछन्।

चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले शुक्रबार जारी गरेको अनलाइन विज्ञप्तिमा चीन र अमेरिकाबिच भएको सहमतिअनुसार उक्त वार्ता आयोजना हुन लागेको उल्लेख गरिएको छ।

विज्ञप्तिअनुसार वार्तामा दुवै देशका अधिकारीहरूले आपसी चासोका आर्थिक र व्यापारिक विषयमा छलफल गर्नेछन्। तर बैठकको विस्तृत कार्यसूची वा वार्ताको ठोस विषयवस्तुबारे थप विवरण सार्वजनिक गरिएको छैन।

यसअघि अमेरिकी सरकारले पनि पेरिसमा हुने उक्त वार्ताको पुष्टि गरेको थियो।

अमेरिकाका अर्थमन्त्री स्कट बेसेन्टले अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गर्ने तयारी छ भने अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियर पनि टोलीमा सहभागी हुने बताइएको छ।

ग्रियरले बिहीबार जारी गरेको वक्तव्यमा चीन र अमेरिकाबिचको ‘आर्थिक संवाद’ अघि बढिरहेको उल्लेख थियो।

पेरिसमा हुने यो भेटवार्तालाई यस महिनाको अन्त्यतिर अमेरिकाका राष्ट्रपति ट्रम्पको सम्भावित चीन भ्रमणको पूर्वतयारीका रूपमा पनि हेरिएको छ।

अमेरिकाका अनुसार ट्रम्पले मार्च ३१ देखि अप्रिल २ सम्म चीन भ्रमण गर्ने सम्भावना छ, यद्यपि चीनले आफ्नो नियमित कूटनीतिक अभ्यासअनुसार यो मिति पुष्टि गरेको छैन।

सन् २०२५ को जनवरीमा ट्रम्पले दोस्रो कार्यकाल सुरु गरेपछि चीन र अमेरिकाबिचको सम्बन्धमा पुनः तिक्तता बढ्दै गएको छ।

व्यापार, औद्योगिक क्षमता र बजार पहुँचका विषयमा दुवै देशबिच मतभेद भइरहेको छ। 

यसै सन्दर्भमा अमेरिकी व्यापार प्रतिनिधि ग्रियरले बुधबार चीनसहित प्रमुख व्यापार साझेदारहरूलाई लक्ष्य गर्दै अतिरिक्त औद्योगिक क्षमतासम्बन्धी नयाँ व्यापार अनुसन्धान सुरु गर्ने घोषणा गरेका थिए। 

चीनको वाणिज्य मन्त्रालयले भने अमेरिकी कदमको कडा आलोचना गरेको छ।

मन्त्रालयले यसलाई ‘एकपक्षीयताको स्पष्ट उदाहरण’ भन्दै यस्तो अभ्यासले अन्तर्राष्ट्रिय आर्थिक तथा व्यापार व्यवस्थालाई गम्भीर रूपमा कमजोर पार्ने टिप्पणी गरेको छ। 

शुक्रबार जारी अर्को विज्ञप्तिमा चीनले अमेरिकालाई आफ्ना ‘गलत अभ्यासहरू सुधार गर्न’ आग्रह गरेको छ।

यस्तो तनावका बिच पेरिसमा हुने आगामी वार्ताले दुई ठुला अर्थतन्त्रबिचको आर्थिक सम्बन्धलाई कता मोड्ने भन्नेबारे कूटनीतिक चासो बढाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad