अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आज पाकिस्तानमा इरानसँग सम्झौतामा हस्ताक्षर हुने दाबी गरेका छन्। उनले फक्स न्युजसँगको अन्तर्वार्तामा इरानसँग आजै सम्झौता हुन सक्ने बताएका हुन्।
यसअघि न्युयोर्क पोस्टसँगको अन्तर्वार्तामा ट्रम्पले उपराष्ट्रपति जेडी भान्ससहितको अमेरिकी प्रतिनिधिमण्डल वार्ताका लागि इस्लामाबाद प्रस्थान गरेको र केही घण्टामै त्यहाँ पुग्ने बताएका थिए।
ट्रम्पले अमेरिकाले इरानसँग वार्ता गर्ने र यसपटक कुनै ‘खेल’ नखेल्ने आशा गरेको बताएका छन्।
यसैबिच पाकिस्तान र इरानबिच कूटनीतिक गतिविधि पनि तीव्र भएका छन्।
पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीले इरानी राजदूत रेजा अमीरी मोघद्दामसँग भेटेर अमेरिकासँग सम्भावित वार्ता र क्षेत्रीय तनाव कम गर्नेबारे छलफल गरेका छन्।
ट्रम्पले आज इरानसँग सम्झौता हुने दाबी गरे पनि वार्ता नै हुने हो वा होइन भन्ने अनिश्चितता भने कायमै छ।
किनकि अमेरिकाले होर्मुज स्ट्रेटमा नाकाबन्दी जारी राखेको छ भने इरानले युद्धविराम सम्झौता उल्लंघन भएको र अमेरिकाको धम्कीपूर्ण भाषाले स्थितिलाई बिगारिरहेको बताएको छ।
यसैबिच स्रोतलाई उद्धृत गर्दै अल जजिराले वार्ता धेरै दिनसम्म चल्न सक्ने उल्लेख गरेको छ।
अल जजिराले भनेको छ, ‘एउटा अस्थायी सम्झौता वा एमओयूमा हस्ताक्षर गर्ने प्रयास भइरहेको छ, जसले युद्धविराम विस्तार गर्नेछ र व्यापक शान्ति सम्झौतालाई अन्तिम रूप दिन लगभग ६० दिन प्रदान गर्नेछ। यद्यपि यो तब मात्र सम्भव छ जब इरान वार्तामा सहभागी हुन्छ।’
यसअघि पाकिस्तानमै अमेरिका र इरानबिच २१ घण्टा चलेको वार्ता निष्कर्षविहीन भएको थियो।
Shares

प्रतिक्रिया