ग्लोबल


दुविधामा डोनाल्ड ट्रम्प: किन भए अचानक ‘यू-टर्न’?

दुविधामा डोनाल्ड ट्रम्प: किन भए अचानक ‘यू-टर्न’?

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प


नेपालखबर
बैशाख ९, २०८३ बुधबार १२:५, काठमाडौँ

इरानसँगको युद्धविराम अनिश्चितकालसम्म बढाउने निर्णय गर्नु अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प, केही घण्टाअघि मात्र राखेको आफ्नो अडानबाट ‘यू-टर्न’ हुनु हो।

किनिक युद्धविराम अवधि थपेको घोषणा गर्नुभन्दा केही घण्टा अघि ट्रम्पले सीएनबीसीसँग भनेका थिए, ‘मलाई लाग्छ- हामी (इरानमा) बमबारी गर्नेछौँ। यसका लागि सेना पूर्ण रूपमा तयार छ।’

उनले इरानका सबै पुल र पावर प्लान्ट ध्वस्त पार्ने चेतावनी पनि दोहोर्‍याएका थिए।

तर दुईहप्ते युद्धविराम सकिनु केही घण्टा मात्र बाँकी रहँदा उनले यसको अवधि अनिश्चितकालका लागि लम्ब्याइएको घोषणा गरे। 

उनको भनाइ छ, ‘पाकिस्तानको अनुरोधमा यो निर्णय गरेको हुँ।’  

यसअघि युद्ध अवधिभरि ट्रम्पले इरानलाई पटकपटक आक्रामक र धम्कीपूर्ण अभिव्यक्ति दिए।

तर अब यस्तो लाग्छ- उनी साँच्चै इरानमा अर्को आक्रमण गर्न चाहँदैनन्।

डोनाल्ड ट्रम्पले गरेको अनिश्चितकालीन युद्धविराम घोषणाले धेरै कुराको खुलासा गर्छ र आगामी दिनमा वार्ता हुने सम्भावनाको संकेत दिन्छ।

ट्रम्पको भनाइले के देखाउँछ भने इरानको प्रस्ताव वास्तवमा के हो र इरान सरकारभित्र अन्तिम निर्णय कसले गरिरहेको छ भन्ने विषयमा उनी अन्योलग्रस्त छन्।

यो ट्रम्पले बारम्बार गर्ने त्यही दाबी, ‘इरानको नेतृत्व निकै कमजोर भएको र आन्तरिक निर्णय लिने प्रक्रिया अराजक छ’को विस्तार हो। 

युद्धविराम घोषणाले इरानसँग उही स्तरमा युद्ध पुनः सुरु गर्न उनको अनिच्छा पनि देखाउँछ।

अमेरिकाको आन्तरिक राजनीति र तेलको मूल्यमा पर्ने असरका कारण ट्रम्पलाई फेरि लडाइँ गर्न गाह्रो हुन सक्थ्यो। 

ध्यान दिन लायक अर्को कुरा के हो भने उनले युद्धविरामका लागि निश्चित समय दिएका छैनन्, अर्थात् विवाद समाधानका लागि ‘डेडलाइन’ तोकेका छैनन्। 

तर ट्रम्पले इरानी बन्दरगाह (होर्मुज स्ट्रेट) नाकाबन्दी कायमै राखेका छन्। जसलाई इरानले युद्धकै कार्य मान्छ र थप वार्ताका लागि प्रमुख बाधा ठान्छ। 

यस्तो अवस्थामा इरानले चाह्यो भने तनाव अझ बढाउन सक्छ वा फारसी खाडी र होर्मुज स्ट्रेटमा सानातिनो संघर्ष सुरु गर्न सक्छ।

युद्ध जारी राख्न इच्छुक छैनन् ट्रम्प

ट्रम्पले यो निर्णय गरेर आफ्ना लागि थप समय निकालेका छन्।

यसअघि उनले इरानलाई बारम्बार सम्झौतामा पुग्न दबाब दिँदै अन्यथा आज (बुधबार) देखि पुनः हमला गरिने धम्की दिइरहेका थिए। 

तर यसो भनेको केही घण्टापछि नै ट्रम्पले युद्धविराम अवधि अनिश्चितकालका लागि थपिएको घोषणा गरे। 

यसो गरेर ट्रम्पले इरानमा ठुलो हवाई आक्रमण पुनः सुरु गर्ने आफ्नो धम्की कार्यान्वयन नगर्ने निर्णय गरेका छन्। साथै यसले के देखाउँछ भने आगामी दिनमा पनि उनले यही निर्णय दोहोर्‍याउनुपर्नेछ। 

ट्रम्पले युद्धविराम कहिलेसम्म कायम रहन्छ भन्ने कुरा बताएका छैनन्। यत्ति मात्र भनेका छन्, ‘उनीहरू (इरान) को प्रस्ताव नआएसम्म र वार्ता पूरा नभएसम्म युद्धविराम लम्ब्याइनेछ।’

बाँकी नै छन् मुद्दा

नयाँ घटनाक्रमको विकासलाई अमेरिका र विश्वका लागि ठुलो राहत मान्न सकिन्छ। इरानभित्र थप आक्रमण गर्ने योजनाबाट एक कदम पछि हटेका छन्- ट्रम्प।

रोचक कुरा के छ भने अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नेतृत्व विभाजित अवस्थामा रहेको भनिरहेका छन्। यसले के संकेत गर्छ भने अमेरिका अझै कोसँग वार्ता गर्ने र कस्तो प्रकारको प्रस्ताव राख्ने भनेर बुझ्ने प्रयास गरिरहेको छ।

अमेरिकाको योजना स्पष्ट छ: होर्मुज स्ट्रेट पुनः खोल्ने र इरानको युरेनियम संवर्धन क्षमता नियन्त्रण गर्ने।

शंका के पनि छ भने इरानले आणविक बम नचाहेको बताए पनि भविष्यमा त्यो बनाउने विकल्प कायम राख्न चाहन्छ।

यसैले दुई पक्षबिच धेरै महत्त्वपूर्ण र जटिल मुद्दा समाधान हुन बाँकी नै छन्।

दुईहप्ते युद्धविराम सकिने र पुनः बमबारी सुरु हुने खतरा मडारिइरहेका बेला अमेरिका एक कदम पछि हटेको छ।

अब अगाडि के होला? त्यो हेर्न रोचक हुनेछ।

युद्धविरामका मुख्य कुरा संक्षेपमा

-यही अप्रिल ८ मा इरान र अमेरिकाले गरेको दुई हप्ताको ससर्त युद्धविरामको अवधि आज (बुधबार) सकिनेवाला थियो।

-ट्रम्पको भनाइअनुसार यो युद्धविराम सम्झौता इरानले तेल र अन्य निर्यातका लागि महत्त्वपूर्ण समुद्री मार्ग होर्मुज स्ट्रेट पुन: खोल्ने सर्तमा गरिएको थियो।

-इरानले आफ्नो सेनाको निगरानीमा जहाजहरूलाई दुई हप्तासम्म होर्मुज स्ट्रेट भएर जान अनुमति दियो।

-अमेरिकाका उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा पाकिस्तान गएको अमेरिकी प्रतिनिधिमण्डलले अप्रिल ११ र १२ इरानसँग पहिलो चरणको वार्ता गर्‍यो तर कुनै सहमति हुन सकेन।

-कुनै सम्झौता नभएपछि अमेरिकाले इरानविरुद्ध होर्मुज स्ट्रेटमा नाकाबन्दी सुरु गर्‍यो र आर्थिक दबाब पनि बढायो।

द्वन्द्वको दोस्रो मोर्चा (इजरायल-लेबनन) सँग सम्बन्धित कुरा 

लेबनन (जहाँ हेज्बुल्लाह सक्रिय छ) र इजरायलबिच पनि युद्धविराम भयो।

-अप्रिल १६ मा ट्रम्पले इजरायल र लेबनानबिच १० दिनका लागि युद्धविराम घोषणा गरे, जुन १९९३ पछि दुई देशबिच पहिलोपटक प्रत्यक्ष वार्तापछि भएको थियो। 

-इरानका विदेशमन्त्रीका अनुसार 'लेबननमा युद्धविरामपछि' होर्मुज स्ट्रेट पूर्ण रूपमा खोलिएको थियो, तर अमेरिकाले नाकाबन्दी नहटाएपछि भोलिपल्टदेखि फेरि बन्द गरियो।

-सम्झौताअन्तर्गत इजरायललाई आक्रमणको डर भए पनि वा हमला जारी रहे पनि आत्मरक्षामा सबै उपाय अपनाउने अधिकार दिइएको छ।

-सम्झौतामा यो पनि भनिएको छ: लेबननले हेजबुल्लाह र अन्य 'गैरराज्य (नन स्टेट) सशस्त्र समूह'लाई इजरायलमा आक्रमण गर्नबाट रोक्न ठोस कदम चाल्नुपर्नेछ। बीबीसीबाट भावानुवाद

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad