ad ad

अन्तर्वार्ता


ओलीले सडकमा फालिदिएपछि क्रान्तिकारी धार समात्न एमाले समाजवादी बनायौँ : माधव नेपाल (अन्तर्वार्ता)

ओलीले सडकमा फालिदिएपछि क्रान्तिकारी धार समात्न एमाले समाजवादी बनायौँ : माधव नेपाल (अन्तर्वार्ता)

बिनु सुवेदी
भदौ २, २०७८ बुधबार १८:२६, काठमाडौँ

एमालेको असन्तुष्ट पक्षले बुधबार माधवकुमार नेपालको अध्यक्षतामा एमाले समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ। यससँगै लामो समयदेखि दुई चिरामा रहेको एमाले औपचारिक रुपमा विभाजित भएको छ। २०४७ सालमा एमाले गठन गर्ने मध्येका एक नेपाल सधैँ एमालेको संस्थापन धारमै थिए। यसपाली आफैँले बनाएको पार्टी छोडेर नयाँ पार्टी गठन गरेका नेपालले नेपालखबरसित कुराकानी गर्दै भनेका छन्, 'एमाले आफैले हुर्काएको नाम हो कसरी छोड्न सकिन्छ र?' 

एमाले समाजवादी पार्टीका अध्यक्ष नेपालसँग गरिएको कुराकानीको सम्पादित अंश-

अन्ततः आफैले निर्माण गरेको एमाले फुटाएरै छोड्नुभयो है? 
हामीमाथि गम्भीर षडयन्त्र भयो। पार्टीबाट निकालिदिने र सडकमा फालिदिने काम केपी ओलीजीले गर्नुभयो। यो ओलीजीको गम्भीर षड्यन्त्रपूर्ण क्रियाकलाप हो। उहाँले पार्टीबाट पनि निकालिदिने भएपछि हामी घर न घाटको भयौँ। 

अब नयाँ पार्टी खोलेपछि त घर पनि बन्यो होला हैन? 
होे नेकपा एमाले समाजवादी पार्टी बनाएर उहाँको गम्भीर षड्यन्त्रमूलक योजनालाई हामीले विफल पारिदियौँ। अब हाम्रो पार्टी क्रान्तिकारी योजनासहित अघि बढ्छ। 

के गर्छ तपाईंको नयाँ पार्टीले? 
हामीले क्रान्तिकारी पार्टी नेकपा एमाले समाजवादी घोषणा गरेका छौँ। यो पार्टीले क्रान्तिकारी धार समात्नेछ। देशभक्तिपूर्ण एजेण्डा हुनेछ राष्ट्रियताको पक्षपोषण गर्नेछ। लोकतन्त्रको झण्डा बुलन्द गर्नेछ। लोकतन्त्रका मूल्य र मान्यतालाई आत्मसात् गर्नेछ।

केपी ओलीको एमालेले पनि यसै त भन्छ नि!
होइन। हाम्रो पार्टी विधि र पद्धतिको पक्षमा उभिनेछ। सामाजिक न्याय, समानताको बाटोमा अगाडि बढ्नेछ। जनताका दुःखमा साथ दिनेछ। जनतालाई सुखी बनाउनका लागि देशलाई सुखी बनाउनका लागि पार्टी र पार्टीमा आबद्ध भएका सबै नेता र कार्यकर्ताहरु सम्पूर्ण शक्ति लगाएर उच्च मनोबलका साथ अघि बढ्नेछन्।

सबैखालका दक्षिणपन्थी अवसरवादका विरुद्धमा, सबैखालका विकृति र विसंगतिका विरुद्धमा, सबैखालका सामाजिक र राजनीतिक विकृतिहरुका विरुद्धमा उभिनेछौँ। संविधानको रक्षा, संघीयताको रक्षाको पक्षमा उभिनेछ। समावेशिताको रक्षाको पक्षमा उभिनेछौँ।

नेपालको गौरवशाली इतिहासलाई जोगाउने गौरवका साथ प्रण गर्दै देश र जनताको कल्याणको निम्ति समर्पित हुनेछौँ। यो पार्टी अतिवादका विरुद्धमा जुध्नेछ, निरंकुशताका विरुद्धमा जुध्नेछ। व्यक्तिवादी अहंकारका विरुद्धमा जुध्नेछ।  

यो त नेकपा एमालेले पनि भन्ने गर्थ्याे । एमाले (समाजवादी) नेकपा एमाले भन्दा कति फरक छ? 
हामी क्रान्तिको बाटोमा हिड्दैछौं। हाम्रो बिचार सिंगो क्रान्तिकारी पंक्ति र क्रान्तिकारी पार्टीका नेता कार्यकर्तालाई प्रवाहित गर्नेछौँ। हाम्रो लक्ष्य क्रान्ति हो।

यो पनि: माधव नेपाललाई नयाँको सहारा, पुरानाले छोडे साथ (नामावलीसहित)

तपाईंहरूले क्रान्तिका कुरा त कम्युनिष्ट पार्टी गठन गरेदेखि नै भन्दै आउनुभएको छ नि, मैले अझै जोड दिएर सोधेको चाँहि ओली भन्दा के कति फरक हो भनेरै हो! 
मैले माथि भनेको सबै विशेषता ओलीमा छैन। नेकपा एमाले समाजवादीले राम्रो संस्कार सिकाउनेछ। सुसंस्कृत हुन सिकाउनेछ।

अपशब्द प्रयोग नगर्न र अशिष्ट नहुनका लागि आफ्ना नेता कार्यकर्तालाई सचेत गराउनेछ। समाजको मर्यादित नागरिकको रुपमा आफू पनि र अरुलाई पनि अगाडि बढ्न प्रेरित गर्नेछ। नमुना व्यक्तिका रुपमा पार्टी पंक्ति अघि बढ्नेछन्। हामी नयाँ जोससहित जनताका माझमा जान्छौं क्रान्तिकारी पार्टी बनाउँछौं। 

यति धेरै नयाँ विशेषता रैछन, तर एमाले नाम नयाँ पार्टीमा पनि छोड्न सक्नुभएन नि?
आफैले बनाएको पार्टी हो आफैले जुराएको नाम हो, कसरी छोड्न सकिन्छ र? हामीले कानुन, विधि, पद्धति र विधान अनुसार नै पार्टीको नाम दर्ता गराएका छौँ। 

तर तपाईलाई स्थायी कमिटीका कसैले साथ दिएनन, आफ्नै गुटका पनि धेरैले छोडे नि! 
यसबारे अहिले नसोध्नुस्। पछि कुरा गरौँला। 

 

यो पनि : एमालेमा ओली–नेपाल : ५ दशकसम्म अभिन्न, उत्तरार्धमा छिन्नभिन्न

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .