ad ad

अन्तर्वार्ता


ओलीले मलाई छाड्नुभएको छैन, महासचिव मैले पाउनुपर्छः पृथ्वीसुब्बा गुरुङ (अन्तर्वार्ता)

ओलीले मलाई छाड्नुभएको छैन, महासचिव मैले पाउनुपर्छः पृथ्वीसुब्बा गुरुङ (अन्तर्वार्ता)

वाशुदेव मिश्र
मंसिर ५, २०७८ आइतबार १६:४०, काठमाडौँ

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई हरेक मोर्चामा सघाउँदै आएका नेता हुन्, पृथ्वीसुब्बा गुरुङ। एमालेको केन्द्रीय सचिव तथा गण्डकीका निवर्तमान मुख्यमन्त्रीसमेत रहेका गुरुङले आउँदो महाधिवेशनमा आफू महासचिवको योग्य दाबेदार रहेको ओलीलाई जानकारी गराइसकेका छन्। आवश्यक पर्दा अध्यक्षको पनि आलोचना गर्नसक्ने तर संकटको बेला बलियोगरी ओलीसँग उभिने गुरुङ आफूलाई १० बुँदे सहमतिको प्रणेता दाबी गर्छन्। 

प्रदेश सरकार सञ्चालनमा अब्बल रहेका उनले आफूले निभाएको राजकीय भूमिकाको पनि मूल्याङ्कन हुनुपर्ने माग गरेका छन्। अशोक राईसहितका नेताहरुले एमाले छाड्दा पार्टीमा रहेर जनजाति समूहलाई जोगाउने काम गरेका र ओलीलाई अध्यक्ष बनाउन ठूलो भूमिका खेलेका उनै गुरुङसँग एमाले १० औं महाधिवेशनको सेरोफेरोमा गरिएको कुराकानीः 

एमाले विधान अधिवेशनको सन्देश के हो? 
एमालेले आयोजना गरेको प्रथम विधान महाधिवेशन ऐतिहासिक हो। एमालेले सधैँ सिर्जनात्मक काम गर्छ। नेतृत्व चयन गर्ने महाधिवेशन अलग र नीति तथा कार्यदिशा निर्धारण गर्ने महाधिवेशन अलग गरेर सिर्जनात्मकताको सन्देश दिएको छ।

अर्कोतिर वरिष्ठ नेता माधव नेपाल एकीकृत समाजवादी पार्टी गठनसँगै बाहिरिएपछि एमाले कमजोर छ भन्ने सन्देश प्रवाहित भएको थियो। तर, विधान महाधिवेशनले एमाले टुक्रिएको छैन, चोइिटिएको हो र एमालेको आन्तरिक जीवनमा त्यसले कुनै प्रभाव पारेको छैन, अस्तव्यस्त भएको छैन भन्ने देखाएको छ। विधान महाधिवेशनमार्फत् एमालेका सदस्यहरु एमालेमै बरकरार छन्। यथावत् छ। कुनै पनि प्रवृत्ति र शक्तिले यसलाई टुक्र्याउन सक्दैन। त्यस्तै, आजको राजनीतिक कार्यदिशा निर्धारण भएको छ, विधि–विधान बनेको छ। अबको महाधिवेशनले त्यो विधानलाई कार्यान्वयन गर्ने एकीकृत नेतृत्वको चयन गर्छ। 

एकीकृत नेतृत्वको कुरा गर्नुभयो तर अध्यक्ष केपी ओलीले त बहुपद हैन, खल्तीबाट नेतृत्व चयनको बाटो खोल्नुभयो भनिन्छ नि!

त्यस्तो हैन। एउटा व्यक्तिमा अधिकार सीमित हुँदैन। बहुपदमा अध्यक्ष, उपाध्यक्ष, महासचिवसहितका पद हुन्छन्। जिम्मेवारी विभाजन हुन्छ। नेता त एउटा हुन्छ नि! त्यसको नेतृत्व अध्यक्षले गर्ने हो। पार्टी अध्यक्षले टिमको नेतृत्व गर्ने हो। परम्परागत कम्युुनिस्टमा चलेको सिद्धान्त के थियो भने, भन्दा सामूहिक नेतृत्व प्रणाली भन्ने तर पार्टी सञ्चालन महासचिवले गर्ने। महासचिवको नेतृत्व भन्ने तर पार्टी पोलिटब्युरोले चलाउने। त्यो परम्परा पाँचौँं महाधिवेशनमै तोडेको हो। सातौँमा त्यसलाई उठान गरिएको हो। आठौँमा व्यवस्थित भएको हो। 

हामीले अध्यक्षले घोषणा गर्ने कमिटी होइन, हाउसले नै निर्वाचित गर्ने कमिटी गठन गर्ने थलोको रुपमा महाधिवेशनलाई स्थापित गर्दै लगेका छौँ। अहिले पार्टीमा वरिष्ठ उपाध्यक्ष पद पनि सिर्जना भएको छ। वरिष्ठ उपाध्यक्ष स्वभाविक रुपले वेटिङ प्रेसिडेन्ट हो। दुवैलाई सहयोग गर्न उपाध्यक्षहरु बनाइएको हो। त्यहाँबाट भोलिको नेतृत्व चयन गर्ने हो। महासचिवको व्यवस्थापकीय भूमिका रहन्छ। पार्टी हेडक्वार्टरको मुख्य प्रशासक हो महासचिव। पार्टीका २२ वटा जनसंगठनको व्यवस्थापन, भौगोलिक प्रदेश, उपत्यका, प्रवास कमिटीको कामको अनुगमन गर्ने र संयोजन गर्ने काम छ। उपाध्यक्षहरुले राजनीतिक रुपले अध्यक्षलाई सहयोग गर्ने र आफू नेतृत्वको लागि तयार हुने पनि हो। 

२०५४ र पछिल्लो विभाजन तपाईंले देख्नु र भोग्नु भएको छ। पछिल्लो विभाजनको कारक पार्टी अध्यक्ष केपी ओली नै हो भन्ने आरोप छ। उहाँलाई सर्वेसर्वा बनाउँदा पार्टी बलियो होला कि निरंकुश? 
हाम्रो पार्टीको विभाजन केपी ओलीले गर्नुभएको होइन। केपी ओलीले पार्टीलाई एकतावद्ध बनाएर नेतृत्व गरिरहेको अवस्था छ। माधव नेपालजीलाई पार्टीको अर्को अध्यक्ष बनाउन तयार हुनुभएको होइन र केपी ओली? त्यो प्रस्ताव राख्ने मै थिएँ।

पार्टीलाई एकतावद्ध बनाइराख्नुपर्छ भन्ने प्रस्तावमा सुरुमा छलफल भयो। सुरुमा अध्यक्षले स्वीकार गर्नुभएन। करिब डेढ हप्तापछिको छलफलमा पार्टी अध्यक्ष सहमत हुनुभयो। त्यो बेलाको कार्यदलका सदस्य कमरेड सुवास नेम्वाङ र विष्णु पौडेललाई अर्को अध्यक्षको प्रस्तावसहित माधव नेपालकहाँ पठाउनुभयो। त्यो बेला माधव नेपालले ‘म पदको लागि लडेको मान्छे हैन, झलनाथलाई बनाउनुहोस्, मलाई हैन’ भन्नुभयो। त्योभन्दा अगाडि मसँगको भेटमा माधव नेपालसँग मैले नै पार्टी एकता जोगाउने प्रस्ताव गरेको थिएँ। उहाँले मसँगको भेटमा पार्टी विभाजन जोगाउन फागुन २८ गतेदेखि भएका निर्णय फिर्ता लिनुपर्छ। त्यो बेला केपी ओली गुटको पक्षमा देखिएको हुनाले मिल्नसक्छ भन्नुभयो। दोस्रो, २०७५ साल फागुन २ गतेबाट सुरु गर्नुपर्छ र तेस्रो पावर सेयरिङ हुनुपर्छ भन्नुभयो। मैले पार्टी अध्यक्षलाई त्यो कुरा राखेँ। 

पहिलो त, पार्टी नै अदालतले विभाजन गरिसकेको थियो। अदालतले नै २०७७ फागुन २३ गतेपछिका निर्णय अदालतले खारेज गरेको थियो, पार्टीले त्यसलाई स्वीकारेकै थियो। दोस्रो कुरा, २०७५ फागुन २ को कुरा पनि स्वीकार गरेकै थियो। त्यसबेलाका जिल्ला अध्यक्ष र प्रदेश अध्यक्षहरु नयाँ बनाएको अवस्थामा पुरानै अवस्थामा रहने तय भइसकेको थियो। अधिकार बाँडफाँटको कुरामा चाहिँ मैले दुई वटा अध्यक्ष भएर चलाउने र महाधिवेशनमा जाने प्रस्ताव गरेँ। महाधिवेशनमा जो अध्यक्ष बने पनि सहमतिमा बन्ने वातावरण बनाऊँ भनेँ। त्यो कुरा पार्टीमा राखेँ। अध्यक्षलाई प्रस्ताव राखेँ। अध्यक्षलाई अलिकति र अर्को जनमतको दबाब पनि परोस् भनेर बाहिर पनि कुरा गरेँ। सुरुमा नभए पनि पछि अध्यक्षले प्रस्ताव स्वीकार गर्नुभयो। तर, त्यो कुरा माधव नेपालले स्वीकार्नु भएन। उहाँ नयाँ पार्टी बनाउन लाग्नुभयो। केपी ओलीले पेल्यो भन्ने आरोप जनता झुक्याउने कुरा मात्रै हो। उहाँहरु एमाले टुक्र्याउने निश्चित मिसनमा हुनुहुन्थ्यो। एमालेलाई कमजोर बनाउने, एमालेका सरकारहरु गिराउने ग्य्रान्ड डिजाइनमा हुनुहुन्थ्यो, उहाँहरुले त्यही गर्नुभयो।

विभाजनको पहिलो पीडा भोग्न तपाईं नै अभिशप्त हुनुभयो। गण्डकीमा तपाईंको सरकार ढल्यो। अन्यत्र पनि एमालेले सबै प्रदेश सरकार गुमायो। तर तपाईं त विभाजनपछि पनि एमाले बलियो छ भन्दै पो हुनुहुन्छ!
सामान्य मान्छेको आँखाले हेर्दा, माधव नेपाल र झलनाथ खनाल दुईजना  पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्रीले छाडेपछि कमजोर देख्नु स्वभाविक हो। तर, उहाँहरु जानुभयो, टाउको छँदैछ, कपाल झरेको हो। उहाँहरुले जुन भूमिका निर्वाह गर्नुभयो, न सिद्धान्तमा न नीतिमा विवाद थियो, त्यस्तोमा नयाँ पार्टी बनाउने आवश्यकता कहाँ छ? उहाँहरु छुट्टिएर गएको पार्टी कार्यकर्ताले रुचाएनन्। सुरुमा हाम्रा सदस्य ३ लाखजति भएको अनुमान थियो। बीचमा हामीले सदस्य कति छौँ भन्ने हेरेनौँ। महाधिवेशन हुने भएपछि हामीले सदस्यको ढोका खोल्यौँ। अहिले पार्टीको ९ लाख सदस्य छन्। जति तल गयो, त्यति नै कम कार्यकर्ता विभाजनको पक्षमा लागे। बढीमा ५० हजारजति कार्यकर्ता उता जाने अनुमान थियो, तर त्यति पनि गएनन्। तल्लो कमिटीमा २/४ जना गए। प्रदेश कमिटीका केही गए। केन्द्रीय कमिटीमा, त्यहाँ सांसदहरु थिए। मन्त्री खान र्याल काढेर बसेका लोभीपापी थिए, उनीहरु गएका हुन्। पदलोलुपहरु मात्रै उता गएका हुन्।

२०५४ सालमा तपाईं वैकल्पिक केन्द्रीय सदस्य हुनुहुन्थ्यो। तपाईंले थुप्रै कार्यकर्ता फर्काएर पार्टी जोगाउनु भूमिका खेल्नुभएको थियो। अहिले र त्यो बेलाको फरक के हो? 
त्यतिखेर डरलाग्दो थियो। त्यो विभाजन नै थियो, अहिले चोइटिएको हो। त्यो बेला नेपालभर ३५ जिल्ला कमिटीमा मालेको बहुमत थियो। त्यो बेला भूमिगत कार्यकर्ता भएकामध्ये प्रेमनारायण पौडेलमात्रै यता रहेका थिए। अरु सबै मालेमा गएका। विद्यार्थी र शिक्षक राजनीतिबाट आएका नेताहरुमा म, सोमनाथ प्यासी, तुलबहाुदर गुरुङ, खगराज अधिकारीमात्रै एमालेमा रह्यौँ। हामीले बिस्तारै मेयर, उपमेयरसहित सबैलाई पुरानै घरमा फर्काएको हो। म त्यो बेला वैकल्पिक केन्द्रीय सदस्यले धानेको गण्डकी प्रदेश हो। सातौँ महाधिवेशनसम्म आइपुग्दा पुरानै अवस्थामा फर्काएको हो। अहिले त बाङ्गाटिङ्गा मान्छे चोइटिएका हुन्। 

तपाईं एकीकृत र ठूलो कम्युनिस्ट पार्टीको सपना देख्ने मान्छे, तर तपाईंको सपना किन सार्थक हुँदैन?
मैले भनेको सबै लागू हुने भए म अध्यक्ष भइहाल्थेँ। २०७४ सालको स्थानीय निर्वाचनमा देशैभर कांग्रेस र माओवादीबीच चुनावी तालमेल हुँदा गण्डकीमा वाम गठबन्धन बनाएँ। त्यो बेला इन्चार्ज किरण गुरुङ हुनुहुन्थ्यो। मैले त्यो बेलामा माओवादीका नेता र जिल्ला इञ्चार्जसँग छलफल गरेकै हो। केन्द्रको कुरा छाडौँ, राम्रो काम तलबाट गर्दा पनि हुन्छ भन्ने प्रस्ताव गरेँ। लमजुङमा मै थिएँ, तनहुँमा पनि सम्झौता भयो तर त्यो बेला हाम्रै पार्टीमा रहनु भएका प्रतापलाल श्रेष्ठ र केदार सिग्देलले माओवादीसँग गरेको सम्झौता कार्यान्वयन गर्न दिनुभएन। स्याङ्जामा पनि सम्झौता भएको हो, एउटा पक्षले दिएन। पर्वतमा पनि त्यस्तै भयो। बागलुङमा सबै वाम एकै ठाउँ गरेको हो। गोरखामा माओवादीले नै अहंकार देखाएको हो। त्यो अभियानलाई पछि पार्टीले पच्छ्यायो। वाम एकता भयो। प्रदेश सरकारको बेला पनि मैले कमरेड प्रचण्डसँग त्यही प्रस्ताव राखेको थिएँ। सके सर्वदलीय सरकार बनाऊँ, नभए १८ महिना बाँकी छ। कि १० महिना तपाईंहरु मुख्यमन्त्री बन्नुहोस्, म ८ महिना हुन्छु भनेको हो। उहाँहरुले सरकार बनाउन चाहेको भए म सरकारबाट बाहिर हुन्छु पनि भनेको हो। माथिको हस्तक्षेपको कारण सम्भव भएन। 

अर्को प्रसङ्ग, अब १० औं महाधिवेशनमा नयाँ भूमिका खोज्नुपर्ने होला। मुख्यमन्त्री पद गएपछि तपाईं जाने कहाँ हो? 
मैले पार्टी अध्यक्षलाई के भनेको छु भने अमेरिका संसारभरका युवाको सपनाको देश हो। एमाले अमेरिकाजस्तै छ। सबै पार्टीबाट यही पार्टीमा युवाहरु आइरहेका छन्। देशभक्तिपूर्ण पार्टी एमाले हो, त्यसको नेतृत्व एउटा देशभक्त व्यक्तिले गरिरहेको छ। एउटा स्पष्ट रोडम्याप बोकेको पार्टी एमाले नै हो। अरुहरुको त काले–काले मिलेर खाऊँ भालेजस्तो छ। माओवादी अन्यौलमा छ। माधव नेपालको के कुरा गर्ने? त्यो सकिने पार्टी हो। उहाँले बदला लिनुभयो। बदलाको राजनीति चल्दैन। 

तपाईंको भूमिकाको कुरा गरेको मैले।
मैले अध्यक्षसँग संकीर्णताको आधारमा हैन, एजेन्डाको आधारमा, मार्क्सवादी दृष्टिकोणबाट एमालेलाई सुदृढ बनाउन मेरो भूमिका देखेको छु भन्ने कुरा राखेको छु। एमालेबाट बाहिर जान खोज्नेहरुलाई रोक्ने कुरा होस्, सहमतिको कुरा होस् वा अहिले पनि १० बुँदे सहमति गर्ने कामको सुरुवात मैले नै गरेको हो। योगेशजीसँग भेट भएसँगै पार्टी अध्यक्ष ओली र माधव नेपालबीच भेट हुने वातावरण बन्यो। कार्यदल बन्यो। १० बुँदे सहमति कायम भयो। सहमति कार्यान्वयन गरेपछि १४ जना सांसदबाहेक अरु पार्टीमै रहने वातावरण बन्यो। पार्टी बाँकी रह्यो। रौँमात्र झर्यो। पार्टी एकतालाई बचाउन सहयोग गर्ने हिजोका माधव नेपाल समूहमा रहनुभएका साथीहरु, पार्टीका दोस्रो र तेस्रो पुस्ताका नेताहरुसँग समन्वयकारी भूमिका बरकरार राख्नको लागि पनि त्यो शक्ति पार्टीको फ्रन्टलाइनमा आउनुपर्छ भन्ने मेरो कुरा हो।

हाम्रो पार्टीभित्र पनि समस्या छन्, अरु अयोग्य भएकाले हामी योग्य देखिएको मात्रै हो, हामी मार्क्सवादी पार्टीको रुपमा अझै चल्न सकेका छैनौँ। अझै पनि संगठनमा अराजकवाद, व्यक्तिवाद, अवसरवाद हावी छ, उदारवाद र संकीर्णतावाद अनि मनोगतवादलाई परास्त गर्न मसँग निश्चित योजना छ, भिजन छ। त्यही भएर यो संगठनको जिम्मा (महासचिव पद) मैले पाउनुपर्छ भन्ने हो। 

दोस्रो कुरा, पार्टीभित्र देखा परेका विभिन्न प्रवृत्तिविरुद्ध मैले निरन्तर संघर्ष गरिरहेको छु। संगठन बनाएर मात्रै भएन। पार्टीमाथि एउटा युगीन दायित्व छ। देशलाई समृद्ध बनाउनु छ। २२ वर्षको अवधिमा चीनले अमेरिकालाई उछिनेर १ सय १३ ट्रिलियनको अर्थतन्त्र बनायो। यो समृद्धिको अभियानमा म तपाईंको उपयुक्त सहयोगी हुनसक्छु भनेको छु। (भविष्यमा) केपी ओलीले नेतृत्व हस्तान्तरण गर्नु नै पर्छ। केपी ओलीको अनुपस्थितिमा उहाँकै सपना पुरा गराउन सक्ने २/४ जना नेता तयार गरेर राख्नुहोस् भनेको छु। त्यो पृथ्वीसुब्बा हुनसक्ला, त्यो शंकर ईश्वर पोखरेल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, प्रदीप ज्ञवाली, टोपबहादुर रायमाझी हुनसक्ला। तयार बनाएर राख्नुपर्छ भनेको छु। त्यसो गर्दा नेतृत्व हस्तान्तरण सहज हुन्छ।

अध्यक्षले के प्रतिक्रिया दिनुभयो त? 
उहाँले सुन्नुभयो। मेरो कुरा रुचिपूर्वक सुन्नुभयो।

उहाँले टाउको हल्लाइदिए मात्रै पनि तपाईं महासचिव बन्न सक्नुहुन्छ। टाउको हल्लाउनुभयो कि भएन?
व्यक्तिको कुरा मात्रै हुँदैन। टिमको छलफल पनि हुन्छ।, तर, उहाँले टिम बनाउने भएकाले कस्तो टिम बनाउने भन्ने उहाँको कुरा हो। 

पार्टीभित्र निर्वाचितमध्ये १२ जना पदाधिकारीले अर्को पद खोज्नु भएको छ। अध्यक्षलाई मिलाउन गाह्रो होला नि!
असाध्यै गाह्रो छ। तर, कुन पद कसलाई दिए राम्रो हुन्छ, कसलाई दिए न्याय हुन्छ भन्ने मुख्य कुरा हुन्छ। राजनीतिमा दुईवटा कुरा हुन्छ, एकथरी नेताको पार्टीमा चाहिएको बेला निर्मम बाटो देखाउन सक्ने, आलोचनात्मक चेत भएको व्यक्तिलाई लिएर हिँड्ने बानी हुन्छ। अर्काथरीको हुँदैन।

तपाईंले पनि केपी ओलीको आलोचना गरेकै हो नि!
असन्तुष्ट हुनुभयो होला तर उहाँले मलाई छाड्नुभएको छैन। उहाँको विरोधीसँग, पार्टीभित्रको फरक मतको व्यक्तिलाई पनि उहाँले लिएर हिँड्नु भएको हो। प्रचण्डलाई, आफूभन्दा सानो पार्टीको व्यक्तिलाई पनि अध्यक्ष बनाएरै हिँडेको हो नि। उहाँको विशाल हृदय छ। पार्टीभित्र घनश्याम भुसाललाई, योगेश भट्टराईलाई बोलाएर मन्त्री बनाएकै हो नि। 

१० औं महाधिवेशनमा तपाईंको बटमलाइन के हो?
सचिवमा बसेर काम गरेको छु। गलत काम गरेको छैन। सचिव त मेरो हातमै छ नि। त्यो गाह्रो कुरा भएन। संगठन विभाग प्रमुख भएर काम गरेँ। प्रदेश इन्चार्ज भएर काम गरेँ। प्रदेश सरकारको प्रमुख भएर काम गरेँ। सचिवभन्दा माथि उपमहासचिव, महासचिव, उपाध्यक्षमध्ये एक पाउनुपर्छ भन्ने मेरो दाबी छ। वरिष्ठमा मैले दाबी गरेको छैन। 

अर्को महाधिवेशनसम्म अध्यक्ष बन्न तपाईंलाई पनि उमेरले रोक्ने वातावरण बन्छ। तयारी कहाँसम्म पुग्ने छ?
मैले महासचिव, उपमहासचिव, उपाध्यक्ष पाउनुपर्छ भनेर दाबी गरेको छु। मैले पाउन पनि सक्छु, नपाउन पनि सक्छु। सबै कुरा पदको लागि गरिँदैन। म पार्टीको अध्यक्ष भएर काम गर्छु भन्ने सोच पालिएन भने मनैदेखि काम हुँदैन। आजभन्दा ५/७ वर्षअघि मैले अहिलेको पद पनि चिताएको थिइनँ। तर, कर्म गर्दै जाँदा प्राप्त हुन्छ।

जनजातिको ठूलो समूहले पार्टी छाड्दा तपाईंले त्यो मोर्चा सम्हाल्नु भयो। त्यस आधारमा पनि तपाईंको मूल्याङ्कन हुनुपर्ने होइन र? 
 पाटीले सोच्नुपर्छ मैले भन्ने विषय हैन। म आफू जनजातिबाट सचिवमा आएको हैन। म मेरो योग्यता र क्षमताले महासचिवको लागि काबिल छु।

तपाईं गण्डकीको नेता हो। यहाँ आकांक्षी पनि धेरै छन्। उनीहरुलाई कसरी समायोजन गर्नुहुन्छ?
गण्डकीमा एउटा सहमति बनेको छ। म अहिले सचिव छु। सचिवभन्दा माथिलो पदमा जाँदा गण्डकीबाट सचिवको पनि दाबी रहन्छ। स्वभाविक रुपले किरण गुरुङ सिनियर नेता हो। खगराज अधिकारी अर्को दाबेदार हो। त्यसपछि सफल महिला नेतृ पद्मा अर्याल, जगत विश्वकर्मा दलितको तर्फबाट बलियो दाबेदार हो। अरु केन्द्रीय सदस्यमा पनि आकांक्षी धेरै हुनुहुन्छ।

सहमतिमै टुंगिएला कि चुनाव होला?
सहमतिमै टुंग्याउने भन्ने हो, तर गाह्रो छ। पदाधिकारीमा सहमति भए पनि सदस्यमा चुनाव हनुसक्छ। तर, त्यो प्रतिस्पर्धा स्वच्छ हुन्छ। 

पार्टी बलियो बनाउने तपाईंको एजेन्डा के छन् त? 
कम्युुनिस्ट पार्टी मार्क्सवादी सिद्धान्त र अडानमा चल्नुपर्छ। एमालेमा त्यसमा केही कमजोर छ।  लेनिनवादी संगठनात्मक ढाँचा भन्छौँ हामी तर पार्टी चलाउने सवालमा अलिकति उदासीनता छ। लेनिनवादी संगठनात्मक ढाँचामा कमजोरी भएकै कारण पार्टीको संस्थापनविरुद्ध गतिविधि हुने, त्यस्ता प्रवृत्तिहरुलाई कारबाही नहुने परिस्थिति सिर्जना भएको छ। व्यक्ति कमिटीको मातहत रहने अथवा अल्पमत बहुमतको मातहत रहने भन्ने जुन सिद्धान्त छ, यो सिद्धान्तमा सम्झौता गरिएको देखिन्छ। एमालेबाट एउटा समूह बाहिरिनुको कारण यो हो। 

पार्टीको अनुशासन र केन्द्रीयताभित्र रहेर काम गर्नुपर्छ। अराजकता वा अल्टर डेमोक्रेसी हाम्रो गन्तव्य हुनुहुँदैन। उदारवाद पार्टीमा हाबी भएको छ। हाम्रो पार्टीभित्र संकीर्णता बढेको छ। गाउँ र सहर, पुराना र नयाँबीच विभेद गर्ने प्रवृत्ति बढेको छ। जडता बढेको छ। गतिशील संसारमा बसेर जडता अपनाउन मिल्दैन। पार्टी गतिशील बनाउनुपर्छ। नेताले जे भन्यो त्यही ठीक हुन्छ भन्ने हुँदैन। मनोगतवादले नै पार्टीमा संकट आउँछ। नेतृत्वमा जाँदा यो प्रवृत्ति सुधार मेरो एजेन्डा हो। 

पार्टीभित्र अझै पनि असन्तुष्टि देखिन्छ नि!
१० बुँदे कार्यान्वयन गइसकेको छ। केही ठाउँमा प्राविधिक कारणले सम्झौता हुन नसकेको होला। पार्टीमा सबै आफूले भनेजस्तो हुँदैन। हिजो असहमति जनाउने तथा माओवादी केन्द्रबाट आएका साथीहरुले अब एमाले भएर सोच्नुपर्छ। समस्याको समाधान त्यसरी नै गर्नुपर्छ। 

पछिल्लो समयमा समावेशीताको मुद्दालाई एमालेले छाडेको हो?
एमालेले छाडेको होइन। समावेशीताको सिद्धान्तको बहस चलाउने पहिलो पार्टी नै एमाले हो। हाम्रो पार्टीमा संविधानले व्यवस्था गरेकोभन्दा पनि बढी समावेशीतालाई व्यवहारमा ल्याएको छ। 

मुख्यमन्त्रीको रुपमा तपाईंको सफल भूमिकाको मूल्याङ्कन गरिन्छ भन्ने लाग्छ?
मैले अध्यक्षलाई भनेकै छु। तपाईंको छनौटको रिङभित्र पर्नुपर्छ भन्नेमा मेरो जोड छ। उदाहरणको लागि महासचिवको दाबेदारी ४–५ जनाले गर्न सक्छन्। मैले अध्यक्षलाई म महासचिवमा उठ्न चाहन्छु भनेको हो, म भएँ भनेको छैन। संगठनमा कसले के गर्यो, सरकारमा हुँदा के गर्यो र पार्टीलाई एक बनाउन के ग¥यो भन्ने हेरिनुपर्छ भन्ने मेरो मान्यता हो। विचार र सिद्धान्त अनि संगठन परिचालन एवं राज्य सञ्चालनको हिसाबले पनि प्रतिस्पर्धा हुनुपर्यो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .