अन्तर्वार्ता


ठूलै पार्टीको सम्पर्कमा छु, काठमाडौँको मेयरमा स्वतन्त्र कि दलबाट उठ्ने चाँडै निर्णय गर्छु : सुनिता डंगोल (अन्तर्वार्ता)

ठूलै पार्टीको सम्पर्कमा छु, काठमाडौँको मेयरमा स्वतन्त्र कि दलबाट उठ्ने चाँडै निर्णय गर्छु : सुनिता डंगोल (अन्तर्वार्ता)

काठमाडौं महानगरको मेयरमा उठ्ने घोषणा गरेकी सुनिता डंगोल। तस्बिर : विजय सिंह/नेपालखबर


यज्ञराज जोशी
चैत २३, २०७८ बुधबार १५:१०, काठमाडौँ

दशकअघि मिस नेवा:को ताज पहिरिएकी सुनिता डंगोल सामाजिक विज्ञानमा स्नातकोत्तर हुन्। विभिन्न सामाजिक कार्यक्रम र क्यालिग्राफी प्रवर्द्धनमा व्यस्त उनले रञ्जना लिपी चिनाउन विभिन्न ठाउँमा गएर कार्यशाला गोष्ठी गरेकी छन्। सांस्कृतिक अभियन्ताका रुपमा नेपाल चिनाउन जुटेकी उनले शहरी योजना आयोगमा सहायक विज्ञका रुपमा काम गरेकी छन्। टेलिभिजन कार्यक्रम प्रस्तोतासमेत रहेकी डंगोलले आगामी स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी घोषणा गरेकी छन्। उनीसँग उम्मेदवारी र भावी योजनाबारे नेपालखबरले गरेको कुराकानी :

मेयरमा उठ्ने योजना कसरी बन्यो?
सानैदेखि सक्रिय राजनीतिमा लाग्ने इच्छा थियो। अहिले सही समय जस्तो लागेर मेयरमा उम्मेदवारी दिने विचार गरेँ। काठमाडौँ म जन्मिएको शहर हो। मेरो ज्ञान, सीप र क्षमताको उच्चतम उपयोग गर्दै यो शहरलाई सुन्दर र समृद्ध बनाउने सपनालाई मूर्तरूप दिन मैले काठमाडौँको मेयर बन्ने सोच राखेकी हुँ। मुलुक समृद्ध बनाउन नयाँ सोच र जाँगर भएका युवा चाहिन्छ। त्यसका लागि युवाहरु नै राजनीतिक नेतृत्वमा आउनु आवश्यक छ। त्यसैले स्थानीय तहको निर्वाचनमा मेयरमा उठ्ने निर्णय गरेकी हुँ।​

 

तपाईं स्वतन्त्र उम्मेदवार कि दलको?
काठमाडौंका जनताले सधैँ न्यायको पक्षमा मतदान गरेको इतिहास छ। म यहीँको माटोमा जन्मिएकी, हुर्केकी ज्यापू जातिको, नेवार समुदायको छोरी हुँ। मैले सांस्कृतिक अभियन्ताका रुपमा काम गरेकी छु। धेरै मुलुक भ्रमण गरेर त्यहाँको विकासको मोडेललाई नजिकबाट नियाल्ने अवसर पाएकी छु। मैले त्यहाँको विकासको अनुभवलाई यहाँको माटो सुहाउँदो विकास गर्ने योजना बनाएकी छु। 

सांस्कृतिक शहर काठमाडौँ कस्तो हुनुपर्छ, यहाँको विकास कसरी गर्नुपर्छ भन्नेबारे जानकार छु। यहाँका युवाहरुको सोच, यहाँका युवाहरुको भावना र युवाहरुको भिजनको प्रतिनिधित्व गर्ने युवा हुँ। त्यति मात्रै होइन, अग्रजहरुको विज्ञता, अनुभवको ज्ञान, सल्लाह र सबै जनताको सद्‌भावलाई आत्मसाथ गरेर अघि बढ्नेछु। मलाई आर्शिवाद अवश्य प्राप्त हुनेछ भन्ने ठानेकी छु। यी मेरा प्रारम्भिक योजना हुन्। मेयरको तयारीसँगै बृहत् योजनासहित अघि बढ्ने छु। मलाई विश्वास छ, मेरो योग्यता, क्षमता र जनताप्रति समर्पित भएर गर्दै आइरहेको समाजसेवाले पनि यसपाली काठमाडौंबासीले मलाई मेयरमा विजयी बनाउने छन्। हुन त स्थानीय तहको निर्वाचनकै प्रशंगमा विभिन्न ठूला साना पार्टीको सम्पर्कमा छु। तर अहिलेसम्म स्वतन्त्र वा दलबाट उठ्ने कुराको अन्तिम निर्णय हुन बाँकी नै छ। वैशाखको पहिलो हप्तापछि मैले आफ्नो उम्मेदवारी स्वतन्त्र या दलबाट भन्ने जनतालाई स्पष्ट गर्नेछु। 

राजनीति पृष्ठभूमि कति पुरानो हो? कहिलेदेखि जोडिनुभयो?
म सानैदेखि राजनीतिमा रुची राख्ने र स्कुल पढ्दा नै जनआन्दोलनमा सहभागी भएकी छु। मैले सामाजिक विज्ञानमा स्नातकोत्तर गरेकी छु। मेरो आफ्नै परिवार प्रत्यक्ष रुपमा राजनीतिमा नलागे पनि आफन्त, टोलका दाजुहरू लागेकाले पनि मलाई त्यसबाट प्रेरित गरिरह्यो। 

अहिलेका मेयरले गरेका कामहरूबाट कति सन्तुष्ट हुनुहुन्छ?
अहिलेको मेयरले कामहरु धेरै गर्नु भएको छ। तर गर्नु भएको कामको प्रचार कम भएको मात्रै हो। ठूला कामहरु सम्पन्न गर्न तीनै तहको सरकारको समन्वय चाहिन्छ। तर, भर्खरै मात्र लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनमा आएर धेरै ऐन कानुन बनिनसकेकाले पनि तीनै तहको सरकारहरूमा पर्याप्त समन्वय भएको देखिँदैन। त्यसैले ठूला योजना सम्पन्न नभएका हुन्। तर विगतभन्दा अहिलेको मेयरको कार्यकालमा धेरै काम भएको मैले पाएकी छु। 

नेपालमा सेलेब्रिटीहरु राजनीतिमा आउने ट्रेन्ड देखिए पनि त्यति सफल भएनन्। आफ्नै चुनौती कस्तो देख्नुहुन्छ?
म अरुको सन्दर्भमा टिप्पणी गर्दिनँ। तर मेयरमा मेरो उम्मेदवारी राजनीतिमा प्रत्यक्ष संलग्नताको प्रारम्भिक विन्दु हो। मैले दीर्घकालीन राजनीतिका लागि यो कदम चालेकी हुँ। मैले प्रत्येक चुनौतीलाई अवसरका रुपमा लिएकी छु। 

सामाजिक सञ्जाल र सञ्चारमाध्यममा अलिक व्यस्त देखिनुहुन्छ? त्यत्तिकै जनताले पत्याउलान्, भोट देलान् र? 
मलाई सानैदेखि प्रत्यक्ष राजनीतिमा लाग्ने इच्छा थियो। मैले अघि नै भनिसकेँ, म स्कुले जीवनदेखि नै राजनीतिमा संलग्न छु। यस अलावा मिस नेवा भएदेखि सामाजिक कार्यमा संलग्न जोडिएँ। त्यसपछि सांस्कृतिक अभियन्ताका रुपमा देशविदेशमा सक्रिय छु। टोल टोलमा मोटिभेसन क्लास पनि लिँदै आएकी छु। मैले काठमाडौंका टोल टोलमा सामाजिक कार्यदेखि स्थानीय लिपी, भाषा, संस्कृतिको प्रवर्द्धन गर्न अभियान चलाएकी छु। सामाजिक सञ्जाल मात्रै होइन, जनतासँग प्रत्यक्ष जोडिएर चुनाव प्रचार प्रारम्भ भइरहेको तथ्य यहाँलाई बताउन चाहन्छु।​

शिक्षा, स्वास्थ्य, ट्राफिक र शहरी व्यवस्थापनमा यहाँको स्पष्ट योजना के छन्? 
मैले सबै योजना बनाइसकेको छैन। काठमाडौंबासीको भावना बुझ्न केही सुझावको अपिल गरेकी छु। उहाँहरुको राय सल्लाह आएपछि मेरो भिजन र योजनासमेत मिलाएर चाँडै प्रतिवद्धता पत्र सार्वजनिक गर्ने विचार गरेकी छु। अहिलेलाई मेरा केही योजना यस्ता छन् :

१. सामुदायिक विद्यालयको गुणस्तरमा सुधारमा काम हुनेछ। काठमाडौंको स्थानीय नेपाल भाषाको पठनपाठनलाई अझ थप प्रभावकारी बनाउन आवश्यक व्यवस्था गरिने छ।  
२. विद्यालयहरुमा व्यवसायिक शिक्षा कार्यक्रम समावेश गरी विद्यार्थीलाई व्यवसायिक शिक्षामा रुचि बढाउने र विद्यार्थीलाई स्वावलम्बी बनाउन आवश्यक व्यवस्था मिलाइनेछ।
३. महानगरभित्रका प्रत्येक टोलहरूमा आधुनिक शिशु–स्याहाार केन्द्र निर्माण गरिनेछ।
४. हरेक महानगरवासीका लागि अनिवार्य स्वास्थ बीमा प्रबन्ध गरिनेछ। 
५. काठमाडौंबासीको जीवन स्वास्थ्य तन्दुरुस्त बनाउन ठाउँठाउँमा व्यायामशाला, योगशाला र खेल मैदान विकास गरिनेछ।
६. इमर्जेन्सी सेवाका लागि अत्याधुनिक एम्बुलेन्सको पर्याप्त व्यवस्था गरिने छ।
७. रिचर्स एण्ड डेभलपमेन्टका छुट्टै विभाग बनाई विभिन्न विषयका अनुसन्धान अघि बढाइनेछ।
८. महानगरको अस्तव्यस्त यातायातलाई व्यवस्थित र आधुनिकीकरण गर्न नयाँ प्रविधियुक्त  यातायात पद्धति स्थापना गरिनेछ। बीआरटी (बस र्‍यापिड ट्रान्सिट) र एमआरटी (मास र्‍यापिड ट्रान्सिट) को स्थापना तथा संचालनमा जोड दिइने छ। 
९. महानगरका प्रमुख व्यावसायिक स्थानमा स्मार्ट पार्किङ व्यवस्था गरिनेछ। विभिन्न ठाउँमा स्वचालित भर्टिकल कार पार्किङ र अन्डरग्राउण्ड पार्किङ बनाइनेछ।
१०. पार्किङ स्टेसनसहित साइकल लेनको निर्माण गरिनेछ। अपाङ्ग मैत्री फुटपाथको व्यवस्था गरिनेछ। 
११. सडक बत्ती व्यवस्था गरी शहरलाई जीवन्त बनाइने छ। काठमाडौं महानगरलाई चौबीसै घण्टा खुल्ला र जीवन्त शहरका रुपमा विकसित गरिनेछ।
१२. विभिन्न ठाउँमा स्थानीय कला र संस्कृति झल्किने स्कल्पचर, फाउण्टेन र बत्तीले शहर सजाउने प्रविधि प्रयोग गरिनेछ।

यदि मेयरमा जित्नुभयो भने तपाईँले प्राथमिकता दिने पाँच योजना के हुन्?
१.फोहोरको उचित व्यवस्थापन गर्ने, 
२. प्रदूषणमुक्त धुलो धुँवारहित सफा सुन्दर हरियालीयुक्त तथा सुरक्षित सहरका रुपमा काठमाडौंलाई विकास गर्ने, 
३. ट्राफिक प्रणालीको उचित व्यवस्थापन गर्ने,
४. काठमाडौंलाई सांस्कृतिक नगर बनाइ यहाँका मूर्त अमूर्त सम्पदा तथा संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने, 
५. काठमाडौं राजधानी पनि भएकाले त्यही अनुरुपका पूर्वाधार विकास गरी जीवन्त तथा चलायमान सहरका रुपमा विकास गर्ने। 

काठमाडौं सम्पदामा विशिष्ट छ। यहाँका सम्पदा संरक्षण, पुरातात्विक वस्तुहरुको प्रवर्द्धनमा तपाईंका योजना के के छन्?
काठमाडौंभित्र रहेका बहाल बहिलहरुको संरक्षण तथा सम्वर्द्धन गर्न बहा बही संरक्षण तथा प्रवर्द्धन विकास समिति स्थापना गरिनेछ। कामपा क्षेत्रका सार्वजनिक जग्गा, सत्तल पाटी, पौवा, मठ मन्दिर र अन्य सम्पदाको संरक्षण गर्छौँ। काठमाडौंको कला संस्कृति संरक्षण र प्रवर्द्धन गर्न महानगरीय संग्राहलायको स्थापना गर्छौँ। काठमाडौंका विभिन्न समुदायले मनाइने जात्रा, पर्व तथा अन्य सांस्कृतिक क्रियाकलापको संरक्षण–प्रवर्द्धन गर्न आवश्यक व्यवस्था मिलाइने छ। टोल टोलमा हुने भजन मण्डलहरूलाई चाहिने व्यवस्था गरि भजन कार्यक्रमलाई निरन्तरता दिन्छौँ। स्थानीय कला, साहित्य, लिपि तथा भाषाको प्रवर्द्धन तथा सम्वर्द्धनका लागि आवश्यक व्यवस्था गर्ने योजना छ।

यदि जितिएन भने?  
निर्वाचनमा धेरै उठ्छन् जित्ने त एकजना हो। त्यसैले चुनावमा हारजित भइहाल्छ। जनताको आदेशलाई सहर्ष स्वीकार्न सक्नुपर्छ। जनता भगवान हुन्। जनताले दिएको निर्देशन पालना गर्नु हामी सबैको कर्तव्य हो। मेरो सन्दर्भमा अरुभन्दा अब्बल उम्मेदवार हुँ भन्नेमा विश्वस्त छु। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .