अन्तर्वार्ता


बीपी र पुष्पलाल दुवैले एकअर्काको बाध्यता बुझेका थिए : गोविन्द ज्ञवाली (अन्तर्वार्ता)

‘उहाँहरुबीचको सम्बन्ध तिक्त होइन, सुमधुर थियो’
बीपी र पुष्पलाल दुवैले एकअर्काको बाध्यता बुझेका थिए : गोविन्द ज्ञवाली (अन्तर्वार्ता)

सीताराम बराल
साउन ८ , काठमाडौँ

नेपाली कांग्रेस र संयुक्त वाममोर्चाको सहकार्यबाट २०४६ मा पञ्चायती व्यवस्थाको अन्त्य भयो। १ पुस २०१७ मा भएको ‘शाही कू’ देखि नै नेकपाका संस्थापक महासचिव पुष्पलालले यस्तो सहकार्यको निरन्तर वकालत गरिरहेका थिए।  

दुवैको साझा शत्रु पञ्चायत भए पनि सुवर्ण शमशेरले कांग्रेसको नेतृत्व गरेका बेला कांग्रेस–कम्युनिस्टबीच सहकार्य सम्भव भएन। जेलबाट रिहा भएपछि भारत प्रवासमा गएका बीपीले समेत पुष्पलालको संयुक्त जनआन्दोलनको प्रस्तावमा सहमति जनाएनन्। 

पुष्पलालको पञ्चायतविरुद्ध संयुक्त आन्दोलनको नीति अस्वीकार गरेका बीपी बरु राजासँग आफ्नो घाँटी जोडिएको बताउँदै राष्ट्रिय मेलमिलापको नीति लिएर १६ पुस २०३३ मा स्वदेश फर्के। 

त्यो बेला बीपी एकातिर कम्युनिस्टहरुसँगको सहकार्य विरुद्ध थिए, अर्काेतिर बीपीको भारतीय नेताहरुसँग निकट सम्बन्धका कारण कम्युनिस्टहरु उनलाई ‘भारतपरस्त’ करार गर्थे।

यी दृश्य पढ्ने–बुझ्ने नयाँ राजनीतिक पुस्तालाई लाग्न सक्छ, भारत प्रवासमा रहे पनि यी दुई नेताबीच सुमधुर सम्बन्ध थिएन।  

पाका कम्युनिस्ट नेता (८० वर्ष) गोविन्द ज्ञवालीका भनाइमा आम मानिसहरुले सोचेजस्तो बीपी र पुष्पलालबीचको सम्बन्ध तिक्त थिएन।

२०४८ मा बर्दिया–३ बाट निर्वाचित एमाले सांसद ज्ञवाली विसं २०२० को दशकको मध्यदेखि पुष्पलालसँगै बनारस प्रवासमा रहे। दरभङ्गा (भारत) मा रहेका बेला पुष्पलाललाई हृदयाघात भएपछि ज्ञवालीले नै उपचारका लागि नयाँदिल्ली पुर्याएका थिए।   

बनारसमा रहँदा बीपी र पुष्पलालबीच कतिपय भेटघाट उनकै प्रबन्धमा हुने गर्थ्यो। दुई शीर्ष नेताबीचका कैयौँ आन्तरिक भेटघाट र कुराकानीमा ज्ञवाली पनि सहभागी रहे।    

ज्ञवालीका अनुसार बीपी र पुष्पलाल दुवैले एक अर्काको संवेदनशीलता र बाध्यता बुझेका थिए। पञ्चायतविरुद्ध कांग्रेस–कम्युनिस्टको संयुक्त आन्दोलनको प्रस्तावप्रति बीपीको सकारात्मक धारणा थियो। तर, आफूलाई प्राप्त पश्चिमा समर्थन गुम्ने डरका कारण बीपी पुष्पलालको प्रस्तावको समर्थन र कार्यान्वयन गर्न नसक्ने स्थितिमा थिए। 

बीपीको यो बाध्यता पुष्पलालले पनि बुझेका थिए। ज्ञवालीका भनाइमा यही कारण आफ्नो प्रस्तावको सार्वजनिक समर्थन नगरे पनि पुष्पलाल कहिल्यै बीपीप्रति आक्रामक रुपमा प्रस्तुत भएनन्। 

प्रस्तुत छ– नेपालको प्रजातान्त्रिक आन्दोलनका शीर्ष नेता बीपी कोइराला र कम्युनिस्ट आन्दोलनका  शीर्ष नेता पुष्पलालको प्रवासकालीन सम्बन्धबारे ज्ञवालीसँग गरिएको कुराकानीः

पञ्चायतकालमा पुष्पलाल र बीपी कोइराला दुवै जना भारत प्रवासमा थिए। तैपनि संयुक्त आन्दोलनका विषयमा किन सहमति जुटाउन सकेनन्? 
पुष्पलाललाई भाकपा (मार्क्सवादी) को केरलावाला समूहले समर्थन गथ्र्याे। तर, मार्क्सवादीको पनि केरलावाला मार्क्सवादीहरुसँग उहाँको सम्बन्ध राम्रो थियो।  पश्चिम बंगालवाला मार्क्सवादीहरुसँग अलिक कम सम्बन्ध थियो। त्यसैले अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्ने उहाँका बाटाहरु त्यति सरल थिएनन्। 

यसको तुलनामा बीपीका अन्तर्राष्ट्रिय सम्बन्धका बाटाहरु सरल थिए। उहाँका अन्तर्राष्ट्रिय सम्बन्ध राम्रो थियो।  

त्यसैले बीपी पुष्पलाललाई भन्ने गर्नुहुन्थ्यो, ‘तपाईं (कम्युनिस्ट) हरुसँग एक भएर जाने, संयुक्त संघर्षमा सँगै जाने भन्ने कुरा राम्रो हो। तर, हामीले के पनि सोच्नुपर्छ भने हामीबीचको यो सम्बन्धका कारण मेरो पश्चिमा देशहरुसँगको सम्पर्क र हाम्रो आन्दोलनप्रतिको समर्थनलाई असर गर्न सक्छ। पश्चिमाहरु कम्युनिस्टलाई रुचाउँदैनन्। कम्युनिस्टहरुसँग सम्बन्ध राखेको कुरालाई राम्रो मान्दैनन्। तपाईं र हामी नजिक भइसकेपछि, हामी कम्युनिस्टहरुसँग नजिक भएको भन्ने दृष्टिले हेर्छन्।’

पुष्पलाल भन्नुहुन्थ्यो, ‘हामीपनि चाहदैनौँ, पश्चिमाहरुसँग तपाईंको सम्बन्ध बिग्रियोस्। तर, कांग्रेस–कम्युनिस्टबीच झगडा र मतभेद नहोस् भन्नेमा सचेत हुनुपर्छ। हामीबीच झगडा भएन र पञ्चायतविरुद्धको संघर्षमा मतभेद देखिएन भने अगाडिका बाटाहरु तय गर्न हामीलाई सहज हुन्छ। हामी अगाडि बढ्न सजिलो हुन्छ।’

पुष्पलाल बीपीलाई भन्ने गर्नुहुन्थ्यो, ‘राजा पनि सहज स्थितिमा छैनन्। उनका पनि धेरै असुविधा र अप्ठेराहरु छन्। उनको भारतसँग अन्तर्विरोध छ। यो विषय हामीले भन्दा तपाईंले बढी बुझ्नु भएको छ। त्यसैले, कसरी अगाडि बढ्दा सहज हुन्छ, त्यो तपाईंले तय गर्नुस्। तर, हामीले संयुक्त रुपमा भन्ने एउटै कुरा के हो भने नेपालमा प्रजातन्त्रको पुनर्बहाली हुनुपर्छ।’

बीपी र पुष्पलालबीच भेटघाट चाहिँ कसरी हुन्थ्यो? 
दुई जनाबीच भेटघाटको समय स्थान मिलाउन शैलजा आचार्यको भूमिका बढी हुन्थ्यो। दुई नेताबीचको भेटघाटमा शैलजा आचार्य बस्नुहुन्थ्यो। ती भेटघाटहरुमा म पनि संलग्न हुने गरेको छु।  

बनारसमा हुने यस्तो भेटघाट डा. अरुण कोइराला (सुशील कोइरालाका भाइ) को निवासमा हुने गथ्र्याे। डा. अरुण आफ्नो डेरामा बीपी र पुष्पलाललाई खाना खाने गरी बोलाउनु हुन्थ्यो। डा. अरुणको डेरामा यसरी दुई नेताबीच धेरै भेटघाट भएका छन्। 

बीपी र पुष्पलालबीच सिधै भेटघाट गर्न के असुविधा थियो भने सारनाथस्थित बीपीको निवासमा भारतीय गुप्तचरहको सञ्जाल थियो। भारत सरकारले गुप्तचरहरुलाई नै बीपीको अंगरक्षकका रुपमा खटाएको थियो। 

गुप्तचर भए पनि भित्र कोठामा भएका कुराकानी विस्तृतमा उनीहरुले जानकारी पाउँदैनथे। 
 
पुष्पलाल दूधविनायक भन्ने स्थानमा बस्नुहुन्थ्यो। दूधविनायकमा नेपालीहरुको ठूलो बस्ती नै छ। नेपाली धर्मशाला, नेपाली महाविद्यालय, नेपाली पाठशाला पनि त्यहीँ नै छन्। जगदम्बा महारानीले निर्माण गरिदिएको धर्मशाला पनि त्यहाँ छ। 

बनारस जाने धेरै नेपालीहरु दूधविनायक क्षेत्रमा बस्थे। आफूले पढ्ने शिक्षण संस्था टाढा भए पनि नेपालीहरुको बसोबास धेरै भएकाले उनीहरुले पनि दूधविनायकमा डेरा खोजेका हुन्थे।  

बनारस धार्मिक स्थल हो। तर, राजनीतिक तीर्थस्थल जस्तो पनि थियो। बनारस गएको मानिसले एकपटक बीपीलाई भेट्छु भन्थ्यो, नभेटी फर्कन्नथ्यो। उनीहरु पुष्पलाललाई पनि भेटेर फर्कन्थे।  

बीपी र पुष्पलाललाई हेर्दा नेपालका नेताहरु दुरदर्शी छन् भन्ने लाग्थ्यो। उनीहरु सँगै रहेको बेला देशको राम्रो चित्र देखिन्थ्यो। अहिलेका नेताहरुलाई सँगै राखेर हेर्दा आशावादी हुनसक्ने स्थिति देखिँदैन। पार्टी एउटै भए पनि मिल्दै नमिल्ने मानिसहरु कसरी एक ठाउँमा जम्मा भएका होलान् भनेजस्तो लाग्छ।  

पुष्पलालले कांग्रेस–कम्युनिस्टबीच संयुक्त आन्दोलनको प्रस्ताव राख्दा बीपीले स्वीकार गर्नुभएन। बरु राजासँग मिलेर अघि बढ्ने बीपीको नीति रह्यो। हाम्रो पुस्ताले बीपी र पुष्पलाललाई पढ्दा यी दुईका बीचमा द्वन्द्वै–द्वन्द्वजस्तो देखिन्छ। तर, तपाईं यी दुई नेताबीचको सम्बन्ध राम्रो थियो भन्दै हुनुहुन्छ। कसरी?
हो, उहाँहरुबीचको सम्बन्ध राम्रो थियो। फरक मात्र के हो भने बीपी धेरै भारतीय संवेदनशीलताको ख्याल गर्नुहुन्थ्यो। उहाँ भारतीय हस्तक्षेपविरुद्ध गम्भीरतासाथ कुरा गर्नुहुन्थ्यो। उहाँ भन्नुहुन्थ्यो, ‘ठीक छ, राजा र हामीबीच झगडा छ। तर, हामीबीचको यो झगडाबाट भारतलाई फाइदा उठाउन दिनु हुँदैन।’   

२००७ मा पनि बीपीको यो भनाइ आएको रहेछ। त्यो बेला बीचैमा सम्झौता भएर जब क्रान्ति टुङ्गियो, तब बीपीले भन्नुभएको रहेछ, ‘क्रान्ति अधुरै छ। क्रान्ति अघि बढाउन हामी एक पटक अघि बढ्नुपर्छ।’

सम्झौता भएको छ, सबै चिज भएको छ। भारतसँग मिलेको छ। भारतसँगै मिलेर बीपी गृहमन्त्री र मोहन शमशेर प्रधानमन्त्री भएका छन्। यति हुँदा पनि बीपीले ‘क्रान्ति अधुरो छ, यसलाई पुरा गर्न हामी फेरि लड्नुपर्छ’ भन्नुभएको रहेछ।  

यही कारण पनि भारत बीपीसँग सदैव सतर्क भएको होला।  

तर, कम्युनिस्टहरुले त जहिले पनि बीपीलाई ‘भारतपरस्त’ भनेर आरोपित गरिरहे नि!  
यसो भन्नु गलत थियो। बीपीको राष्ट्रवादलाई नबुझ्दा यस्ता भयो।   

बीपी ‘राष्ट्रिय मेलमिलाप’ भनेर स्वदेश फर्कनु राष्ट्रवाद हो नि! तर, हामी कम्युनिस्टहरुले त्यसलाई राजासँग आत्मसमर्पण गरेको भन्यौँ।

बीपीले कतिपय विषयमा भारतको समर्थन गर्नुभएको थियो। तर, त्यसको अर्थ नबुझी हामीले ‘भारतीय दलाल’ भनिदियौँ। यो गलत थियो।  

राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्कनुअघि बीपी–पुष्पलालबीच कुराकानी भएको थियो कि थिएन? 
भएको थियो। बीपी स्वदेश फर्कनुभन्दा ३–४ दिनअघि बीपी–पुष्पलालबीच बीपीको सारनाथस्थित निवासमा भेट भएको थियो। त्यो भेटघाटमा म पनि थिएँ। 

पुष्पलालजीले बीपीलाई भन्नुभयो, ‘तपाईं नेपाल नजानुस्। यसरी नेपाल जाँदा प्रजातन्त्रलाई फाइदा हुँदैन। केही समय यतै बस्नुस्।’

बीपीले भन्नुभयो, ‘हामीलाई चिमोटी–चिमोटी मार्ने (भारतले) जस्तो कुरा आयो। नयाँदिल्लीले हामीलाई धकेलेर दक्षिणतिर पठाउँदैछ। भारतले हामीलाई टाढा पठाउँदैछ। दक्षिण भारततिर गएर बसोबास गर्दा हाम्रो नेपालसँगको सम्पर्क टाढा हुन्छ। त्यसैले, म स्वदेश फर्कन लागेको हुँ। नेपाल भित्रैबाट पनि प्रजातन्त्रका लागि संघर्ष गर्न सकिन्छ। नेपाल नजाने हो भने भारतले हामीलाई सिध्याउँछ। हामी सिद्धिन्छौँ।’ 

पुष्पलालको प्रतिक्रिया के थियो?
पुष्पलालले भन्नुभएको थियो, ‘भारतले सिध्याउन चाहदैमा हामी सिद्धिदैँनौँ। भारतमा पनि हाम्रो पक्षका मानिस छन्। धेरै भारतीयहरु हामीलाई समर्थन गर्छन्। सरकारबाहिर पनि यस्तो विशाल शक्ति छ, जसले हामीलाई समर्थन गर्छ। जर्ज फर्नान्डिस, चन्द्र शेखर, भारतीय कम्युनिस्टहरुले हामीलाई समर्थन गर्छन्। नेपालमा क्रान्ति र परिवर्तन ढिलो होला, तर हतासिएर सिधै नेपाल प्रवेश गर्नुहुँदैन।’ 

नेपाल आउने विषयमा पुष्पलालको असहमति किन? 
बीपीजस्ता नेता नेपाल फर्केपछि पञ्चायती सरकार बलियो हुन्छ भन्ने पुष्पलालको निष्कर्ष थियो।  

पुष्पलालको नीति जसरी हुन्छ, राजा र पञ्चायतलाई कमजोर पार्ने थियो। पञ्चायतलाई फुटाएर भए पनि कमजोर पार्ने उहाँको नीति थियो। देखिएर होस् वा नदेखिएर– पञ्चायतमा फुट ल्याएर भए पनि कमजोर पार्नुपर्छ भन्ने उहाँ ठान्नुहुन्थ्यो। 

पुष्पलालको यो नीतिलाई पछि नेकपा (माले) ले कार्यान्वयन गर्यो। २०४३ को निर्वाचनमा जनपक्षीय उम्मेदवारहरु उठाएको पञ्चायतलाई कमजोर पार्नकै लागि थियो।  

यसका विपरीत आफू स्वदेश फर्कंदा नै पञ्चायत कमजोर हुने बीपीले ठान्नुभयो। उहाँले भन्नुभएको पनि छ, ‘म माथि पहाडबाट एउटा ढुङ्गा पल्टाउन चाहन्छु, त्यो ढुङ्गाले एउटाले अर्काेलाई, अर्काेले अर्काेलाई ठक्कर दिदा धेरै ढुङ्गा पल्टन थाल्छन्। धेरै ढुङ्गा पल्टँदा एउटा पहरो नै पहिलो जान्छ। त्यसले नेपाललाई परिवर्तन गर्छ।’ 

साहित्यिक लवजमा उहाँले यो कुरा भन्नुभएको छ। यो भनेको आफू नेपाल फर्केपछि परिवर्तनको स्थिति सिर्जना हुन्छ भन्ने हो।    

कुनै रोचक कुराकानीको सम्झना छ? 
एकपटक बीपी र पुष्पलाललबीच बनारस हिन्दु विश्वविद्यालय नजिकैको ‘ला बेला’ भन्ने चिनियाँ रेस्टुरेन्टमा कुराकानी भएको थियो। बीपीका गार्डका रुपमा रहेका गुप्तचरहरु हुने नै भए। त्यसैले बीपीले भन्नुभयो, ‘तपाईंहरु एक घण्टा पहिले नै जानुहोस्। म पछि आउँछु।’

हामी पहिले नै गएर बसेपछि गुप्तचरहरुले कोसँग भेटघाट भएको हो, थाहा नपाउने भएकाले बीपीले त्यसो भन्नुभएको थियो। उहाँले भनेअनुसार नै हामी पहिले नै गएर भित्र बस्यौँ। हामी पुगेको एक घण्टापछि शैलजाका साथ बीपी आउनु भयो।  

कुराकानीका क्रममा बीपीले भन्नुभएको थियो, ‘तपाईं खुलेआम रुपमा  कांग्रेस–कम्युनिस्ट मिलेर जाऔँ भन्नुहुन्छ। यसरी खुलेआम मिलेर जाँदा पाश्चात्य जगतको मप्रतिको समर्थनलाई घाटा लाग्छ। हामी मिलेर नै जाने हो। तर, नभनिकन मिलेर जाने हो।’ 

बीपीको यो अप्ठेरो पुष्पलालले बुझ्नु भएको थियो?
बीपीको अप्ठेरो पुष्पलाललाई थाहा थियो। उहाँ भन्नुहुन्थ्यो, ‘यो बीपीको अप्ठेरो हो, यो कमजोरी पनि हो।’ 

यो अप्ठेरोमाथि बीपीले विजय हासिल गर्न सक्नुहुन्न भन्ने पुष्पलालको विश्लेषण थियो। पश्चिमा जगतसँगको बीपीको सम्बन्ध नेपालमा संयुक्त आन्दोलनका सन्दर्भमा बीपीको कमजोरी मात्र थिएन। बीपीलाई प्राप्त त्यो समर्थन उहाँको कमजोरीका अलावा शक्ति पनि थियो। 

आफ्नो शक्तिलाई कसैले खल्बल्याउन चाहँदैन नि! 

‘त्यसैले, यसलाई बीपीको कमजोरीकै रुपमा रहन दिनुपर्छ र नेपाली कांग्रेसको नेतृत्वमा क्रान्ति सम्भव छैन, परिवर्तन कम्युनिस्टकै नेतृत्वमा हुन्छ, तर यी दुवैको सहकार्यबाटै परिवर्तन हुन्छ’ भन्ने पुष्पलालको बुझाइ थियो। 

उहाँले भनेजस्तै भयो पनि। कांग्रेस र कम्युनिस्टकै सहकार्यबाट बहुदलीय व्यवस्थाको पुनर्स्थापना भयो। हुँदाहुँदा माओवादी–कांग्रेस–एमाले लगायतको सहकार्यबाट राजतन्त्रको अन्त्यजस्तो ठूलो परिवर्तन समेत सम्भव भयो।    
 

साउन ७, २०७९, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad