ad ad

अन्तर्वार्ता


गाग्रो बोकेर संसद् छिर्न मन छ : मिलन पाण्डे (अन्तर्वार्ता)

गाग्रो बोकेर संसद् छिर्न मन छ : मिलन पाण्डे (अन्तर्वार्ता)

फाइल तस्बिर


राधिका अधिकारी
कात्तिक ५, २०७९ शनिबार १३:९, काठमाडौँ

नेपालमा वैकल्पिक शक्तिका रुपमा उदाएको विवेकशील साझा पार्टीका नेता मिलन पाण्डे काठमाडौँ–९ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका छन्। पाण्डेले ‘पाइला’ चुनाव चिह्न पाएका छन्।

कुनै समय लय पक्रिँदै गएको वैकल्पिक राजनीतिको नारा पछिल्लो समय पार्टी फुटेपछि कमजोर बनेको छ। यस्तो बेला चुनाव लड्न लागेका पाण्डेसँग नेपालखबरले गरेको कुराकानी:

भोक निद्रा कत्तिको बिथोलेको छ त चुनावले?
म विगत २ महिनाबाट डाइटिङमा छु। भोक धेरै लाग्दैन। खानामा समस्या छैन। चुनावले नै चाहिँ खासै भोक नलाग्ने भएको होइन। सुरुमा बाइक सिक्दा जीवनमा यो गर्नै नसकिने काम हो, कति गाह्रोजस्तो लाग्थ्यो। ठिक त्यस्तै अघिल्लो पटक निर्वाचनमा उठ्दा लौ बरबाद भयो भन्ने भएको थियो। त्यतिबेला चाहिँ तपाईंंले भनेको जस्तो भोक निद्रा बिथोलिएको थियो। अहिले त्यो लेभलको स्ट्रेस छैन्। सायद यसैलाई अनुभव भन्छन्। तर, टिम निर्माण, टिम परिचालन र मंसिर ४ गते साँझ ५ बजेलाई दिमागमा राखेर काम गर्दा व्यस्तभन्दा पनि अस्तव्यस्त छु।

हिजोसम्म वैकल्पिक शक्ति भनेर आउनु भएको थियो। तर, तपाईंंहरु अहिले छिन्नभिन्न हुनुभयो। उज्वल थापा बित्नुभयो, रवीन्द्र मिश्र राप्रपातिर लाग्नुभयो, रञ्जु दर्शना अर्कैतिर लाग्नुभयो। वैकल्पिक शक्तिको डुंगा डुबाएर चुनाव जितिन्छ? 

तपाईंंले आजको दिनलाई हेर्नु भयो भने वैकल्पिक शक्ति छिन्नभिन्न भएको देख्नुहुन्छ। तर, समग्रमा हेर्ने हो भने हरेक राजनीतिक पार्टीले जीवनमा यस्ता चरणको सामना गर्नु पर्छ। २०१७ मा कांग्रेसको महामन्त्री नै पञ्चायतमा छिर्नुभएको थियो। दुई तिहाइको प्रधानमन्त्रीलाई नै अपदस्थ गरियो, त्यसपछि लामो संघर्ष गर्नु पर्यो। जहाँ मानिसहरुले बोल्न पाउँदैनथे, काम गर्न पाउँदैनथे।

हाम्रो पार्टीमा पनि समस्या के आइदियो भने रवीन्द्रजीले पार्टीको भन्दा ठीक उल्टो लाइन समात्नु भयो र पार्टीमा दुईवटा वैचारिक धार देखा पर्यो। राजावादी धार र पार्टी गठनका क्रममा जे भनेर गरिएको थियो त्यही वैचारिक धार। त्यसले गर्दा विगत एक वर्षयता वैकल्पिक राजनीति अलमलियो कि, सकियो कि भन्ने जस्तो देखियो। 

यहीबीचमा फेरि स्वतन्त्रको लहर जस्तो देखिएको, नयाँ पार्टीहरु खुलेको हुनाले तपाईंले छिन्नभिन्न भन्न सक्नु हुन्छ, तर मलाई चाहिँ लागिरहेको कुरा वैकल्पिक राजनीति, विवेकशील आन्दोलन थप मजबुत भयो। हिजोसम्म हामीले माइतीघरमा आन्दोलन गर्दा मान्छेले हामीलाई यिनीहरुमा वैचार छैन, खाली उफ्रने मात्रै हुन् भन्थे। आजको दिनमा सहमति होला, विमति होला आफ्नो ठाउँमा छ, तर तपाईंहरुको विचार स्पष्ट छ भन्ने मान्छेहरु बढ्नु भएको छ।

मिलन पाण्डेलाई पत्रिकामा लेखेको देख्नुहुन्थ्यो, माइतीघरमा प्रश्न गरेको देख्नुहुन्थ्यो, टीभीमा अन्तर्वार्ता दिएको देख्नुहुन्थ्यो तर पार्टीमा यो तहको बहस मैले १० वर्षमा कहिले गरेको थिइनँ। यसपालि गर्नु पर्यो। यो नपरी पार्टी अघि बढेको भए हुन्थ्यो तर हुनसकेन। म सधैँ के भन्छु भने एउटा मान्छेले कोरोना नलागीकन बाँच्यो भने राम्रो तर कोरोना लागेर पनि बाँच्यो भने चाहिँ त्यसको इम्युनिटी पावर बढ्छ। वैकल्पिक राजनीति मर्दैन, हामी मर्न दिँदैनौँ। यो छिन्नभिन्न देखिएको स्थितिले वैकल्पिक राजनीतिको इम्युनिटी बढ्यो।  जित र हारको कुरा त मैले जित्न उम्मेदवारी दिएको हुँ। सानदार जित हासिल गर्छु।

फाइल तस्बिर।

तपाईं काठमाडौं ९ मा एमाले, कांग्रेस, माओवादीसँग भिड्न तयार भएको छ। तर तपाईंहरुको ग्राउन्ड त रित्तो देखिन्छ। हिजो तपाईंहरुलाई माइतीघर, बानेश्वरको आन्दोलनमा साथ दिने कोही छैनन् साथमा। संगठन बिना चुनाव कसरी जित्ने?
हिजो हामीलाई साथ दिने युवा आज पनि हामीसँग नै छन्। तपाईंले देख्दा ती अनुहार अलि थाकेका होलान्। कताकति छरिएका होलान्, तर छन चाहिँ हामी सँगै छन्। नत्र म के को आधारमा उठिरहेको छु त? म यत्तिकै रमाइलोका लागि उठिरहेको छैन। जित्नका लागि उठेको छु, जित्छु भनिरहेको छु। यो सबै त्यही साथीहरुको साथको आधार हो। साथीहरु आउने जाने क्रम चलिरहन्छ। 

हिजो देखिएका युवाहरु आज कम देखिनुका केही कारण पनि छन्। २० देखि ३० वर्षका युवा सबैभन्दा अस्थिर चरणमा हुन्छन्। उनीहरु के पढ्ने, कहाँ पढ्ने, कसरी ग्य्राजुयसन गर्ने भन्ने एउटा पढाइको चेपुवामा हुन्छन्। दोस्रो आर्थिक, यो फेजमा आइपुग्दा बुबाआमासँग पैसा माग्न पनि अलि अप्ठ्यारो लाग्छ, साथीभाइसँग चिया खान बसेको बेला पनि पैसा तिरेर सान दिऊँ भन्ने हुन्छ, कमाइ हुँदैन, त्यसपछि कामको खोजीमा, करिअरको खोजीमा हुन्छन्। र, अर्को चाहिँ प्रेम, सम्बन्ध, विवाह, प्रेमवियोग त्यो पनि यही फेजमा पर्छ। त्यसैले हिजो देखिएका कति युवा कोही करिअरमा, कोही विवाहमा, कोही शिक्षामा फोकस भएका कारण पनि पातलो देखिएको हो।
 
अनि कार्यकर्ता, संगठनबिनै चुनाव जित्ने कसरी? 
सजिलो उदाहरण दिन्छु। हर्क साम्पाङको संगठन थियो? हामीले जति भिडिओ देख्यौँ, एक्लै हिँडिरहेको देख्यौँ। बालेन शाह कुनै पार्टी वा संगठको नेता होइन। उहाँ कुनै अभियानबाट आउनु भएको पनि होइन। आफ्नो भिजन लिएर एक्लै आउनु भयो। जित्नु भयो। 

उहाँहरुले ल्याएको नतिजाबाट हौसिएर तपाईं पनि एक्लै कस्सिनु भएको हो?
हैन, हैन। मैले उहाँहरुबाट प्रेरित हुन खोजेको होइन। मैले आउनको लागि वैकल्पिक राजनीतिक ग्राउन्ड बनाएँ होला, हिजो रञ्जु र किशोर थापाको भोटले रोल खेल्यो होला। अहिले उहाँहरुको उदाहरण दिन मलाई सजिलो भएको होला। तर मलाई लाग्ने कुरा के हो भने, यो परम्परागत विचार हो। माथि नेताले फोन गरेर भोट हाल भन्दैमा यहाँ भोट हाल्नेवाला कोही छैन। बाबुले भनेको छोराले मान्दैन, छोराले भनेको बाबुले मान्दैन। आमा छोरा, छोरी सबैको हकमा यस्तै छ भने दुरबिनले हेरेर भोट कसलाई हाल्यो भनेर देखिन्छ भन्ने कुनैबेला हल्ला गरिन्थ्यो, अब यो झुट हो, मैले मेरो आत्माले भनेको ठाउँमा भोट हाल्नु पर्छ भन्ने समय त आएको छ। अर्को संगठन तिम्रो छँदैछैन भन्ने होइन। छ त। म १० वर्षदेखि राजनीति गरिरहेको छु। अघिल्लो पटक चुनाव लडेर ५ हजार मत ल्याएको मान्छे हुँ। सानो होला तर संगठन छ, साथीभाइ छन्। माया गर्ने मान्छे छन्। 

त्यो ५ हजार मत पनि तपाईंहरु नै विभाजित भएपछि बाँडियो होला नि?
छैन। यो निर्वाचन क्षेत्रमा अरु पार्टीमा गएको मलाई थाहा छैन। बरु धेरै साथीहरु थपिनु भएको छ। जोडिनु भएको छ। यो ५ वर्ष हामीले राम्रै काम गरेको जस्तो लाग्छ। एउटा घटना हेरेर तिमीहरु फुट्यौ, रवीन्द्रजीले छाडेर जानु भयो भन्नु त होला तर म तपाईंलाई भन्छु, विगत १० वर्षदेखि नेपाल खुला छ भनेर एउटा डरको राजनीति, एउटाले विज्ञप्ति निकालेर पुरै नेपाल बन्द हुने राजनीतिलाई तोड्ने यही युवाहरु हुन्। कोभिडको बेलामा ‘तातो भात’ भन्दै खाना खुवाउँदै हिँड्ने, अक्सिजनको सिलिन्डर बोक्दै हिँड्ने हामी नै त हौँ। ‘इनफ इज इनफ’ भनेर अनशन बस्ने पनि त हामी नै हौँ। हाम्रै साथीहरु त हुनुहुन्छ नि।

जब ओम्नी काण्ड भयो, स्वास्थ्य सामग्रीमा भ्रष्टाचार भयो त्यसका विरुद्ध स्वास्थ्यमन्त्रीलाई नै उजुरी हाल्ने मान्छे सम्झिनु भयो भने त्यहाँ रमेश पौडेलको नाम पाउनु हुन्छ। उहाँ हाम्रो सांसद हुनुहुन्छ। हामीले एउटै टिममा बसेर काम गर्यौँ।

यो विगत १० वर्षमा हामीले धेरै राम्रो काम गरेका छौँ। केही कमजोरीहरु भए। म त सधैँ के भन्छु भने ७० देखि ८० प्रतिशत राम्रो काम गरियो। २०/३० प्रतिशत कमजोरी रह्यो। भनेपछि हामी फस्र्ट डिभिजन, उस्तै परे डिस्टिङ्सन सहित पास भएका छौँ। अब तपाईंले मलाई २० प्रतिशत हेरेर गाली गर्नु हुँदैन। मलाई थाहा छ, हामीप्रति आशा धेरै थियो। हामीले त्यो आशा पुरा गर्न नसकेको हो। म त्यो मान्छु। तर इमान्दार प्रयत्न गरेका थियौँ। 

म एउटा मात्रै कुरा भन्छु, आजको दिनमा हाम्रा साथीहरु अरु पार्टीमा गएर टिकट पाइरहेका छन्। ठूलो दलको प्रत्यक्ष टिकट पाइरहेका छन्। समानुपातिक सूचीमा छन्। सांसद बन्दै छन्, मन्त्री बन्दैछन्। तर केही साथीहरु अझै पनि वैकल्पिक राजनीति भनेर लागेका छन् भने यो सानो प्रतिबद्धता होइन। त्यस्ता अफर हामीलाई पनि आएको थियो होला। तर हामीले त यही राजनीति भनेर लागेको छौँ नि त भनेपछि मलाई यो प्रतिबद्धता एकदमै ठूलो लाग्छ। जब संसारले तँ लडिस्, हारिस, सिद्धिस् भन्छ, त्यो बेला पनि उठ्ने साथीहरु चाहिँ मलाई साँच्चिकै महान लाग्छ। 

तपाईं चुनावी अभियान कसरी चलाइरहनुभएको छ?
यो १० वर्षमा जति काम गर्यौँ, त्यसमा स्वच्छ, पवित्र मनले केही युवाहरुले गर्यौँ र त्यसमा देशविदेशका धेरै मान्छेहरुले साथ दिएका थिए। मिलन पाण्डे त्यो सयमा एक हो, हजारमा एक हो भन्दा म खुसी छु। कुनै न कुनै रुपमा त्यो मुभमेन्टको नेतृत्व उज्वल थापापछि मैले सम्हालेँ। दायित्व लिएँ भन्दा म गर्व पनि महसुस गर्छु। सफल, असफलको मूल्यांकन गर्दै गरौँला। 

यो अभियानको हकमा मुख्उ कुरा चाहिँ हामी एजेन्डाको हिसाबमा मतदाताको घरघरमा पुग्ने भन्नेमा छौँ। यसका लागि अहिले हामी मानिसहरुलाई भेटिरहेका छौँ। विभिन्न टोलमा गएर मान्छेसँग संवादमा छौँ। विभिन्न क्लबका लिडरहरु लगायतसँग संवादमा छौँ। त्यो सँगसँगै हामी हाम्रो घरदैलो, अबका २८ दिनको तालिका मिलाउँदै छौँ।

मिडिया, सोसल मिडिया घोषणा पत्रको माध्यमबाट ७ वटा रणनीति लिएर मतदाताको घरघरमा पुग्नु पर्छ भनेर लागि परेका छौँ। त्यसमा काम भइरहेको छ। 

संसदीय व्यवस्थामा चुनाव असाध्यै खर्चालु छ। खर्चालु चुनावी व्यवस्थामा कसरी आर्थिक उपार्जन गर्नुहुन्छ? पूर्वप्रधानमन्त्री भइसकेका नेताकी छोरी मानुषीले त चन्दा अभियान संकलन गरिरहनुभएको छ। तपाईं पनि त गोजी रित्तो बनाएर चुनाव लड्न सक्नु हुन्न होला? 
हामीले २०७० सालमा हामी स्वतन्त्र भएर चुनाव लडेका थियौं। हामीले फेसबुकबाटै कल गथ्र्यौं। सहयोग माग्थ्यौं। अघिल्लो निर्वाचनमा रु सय भन्ने अभियान थियो मेरो। यो अभियान फेरि सुरु गर्छु। एक जनासँग एक लाख लिनुभन्दा हजार जनासँग सय/सय रुपैयाँ लियो भने धेरैको स्वामित्व हुन्छ भन्ने हाम्रो सोचाइ छ। सजिलो एकजनालाई भेट्ने, एक लाख लिने हुन्छ। तर अझै युवाहरुलाई, विद्यार्थीलाई राजनीतिमा सहभागी बनाउँ भन्ने उदेश्यले बरु एकदिन खाजा नखानुस् यार भनेर चन्दा लिन्छौँ। मैले पनि फेसबुकबाटै कल गरेको छु। आफ्नो साथीभाइसँग आह्वान गरेको छु। अघिल्लो निर्वाचन पनि मैले केही आफूले हालेर, धेरै साथीभाइबाट सहयोग लिएर लडेको हुँ। यसपालि पनि म साथीभाइकै सहयोगमा लड्छु।

मान्छेहरु करोडका कुरा गर्छन्। हामीसँग केही लाख खर्च गर्ने पैसा छैन। हामी भिजन, मिसनबाटै चुनाव जित्छौँ। यो ठाउँमा गर्ने प्रतिबद्धता मार्फत जित्छौँ। पहिला जस्तो धेरै गाह्रो पनि छैन। अहिले सबैको हातमा मोबाइल छ, हामीले गरेको कुरा सोसल मिडियामार्फत सबैको घरघरमा पुग्छ। उहाँहरुले मूल्यांकन गरिरहनु भएको छ। 

तर, तपाईंले अहिले सोधेको प्रश्न महत्वपूर्ण कहाँ हो भने मेरै निर्वाचन क्षेत्रमा पनि मेरै प्रतिस्पर्धीहरु गएर क्लबमा एक लाख बाँडे भन्ने सुनिन्छ। यहाँ मतदाताले उनीहरुलाई दुई प्रश्न सोध्नु पर्ने हो। एउटा, तपाईंहरु ३०/२०/१० वर्षदेखि राजनीतिमा हुनुहुन्छ, राजनीति गर्दा खर्च हुन्छ, जागिर खाएको मलाई थाहा छैन, त्यो खर्च कसरी धान्नु हुन्छ? खर्च गरेर पनि तपाईंको सम्पत्ति कसरी बढिरहेको छ? 

दोस्रो प्रश्न चाहिँ यो निर्वाचनमा बाँडेको पैसा, तपाईंको वरिपरि हिँडेका मान्छेलाई ख्वाएको पैसा कहाँबाट आएको छ भनेर सोध्नु पर्छ भन्ने लाग्छ। नगरिकले यी दुई वटा प्रश्न सोधे र त्यसको उत्तर सुनेर भोट हाले भने धेरै कुरा बदलिनेवाला छ। 

यिनै दुई प्रश्न तपाईंलाई सोधे तपाईंको जवाफ चाहिँ के हुन्छ?
म अलि अगाडिसम्म पढाउँथे। त्यहाँबाट आएको पैसाले म धानिन्थेँ। त्यो सँगसँगै म स्तम्भकार हुँ, आफ्नो विचार पत्रिकामा राखेमार्फत केही पारिश्रमिक पाउँछु। त्योबाट मेरो राजनीति धानिएको छ। परिवार धान्नको लागि मेरो परिवारले नै सपोर्ट गर्छ। म लेखेर र पढाएर धानिन्छु। यो निर्वाचनमा चाहिँ साथीभाइको सहयोगले लड्छु।

थाहा छैन यो निर्वाचनमा कति खर्च हुन्छ, आँकडामा त मैले ५ देखि १५ लाख हुन्छ होला भनेर सोचेको छु। तर ५ लाखभित्रमै चुनाव जितेर नयाँ रेकर्ड बनाउँछु भन्ने छ। ५ लाखभन्दा कम खर्च गर्ने, सानदार जित हासिल गर्ने योजना छ।
 
तपाईंका चुनावी एजेन्डा पनि सुनौँ न, एक्लै चुनावी मैदानमा फाइट गर्छु भनेर आएको मान्छेसँग मतदातालाई कन्भिन्स गर्ने एजेन्डा त चाहियो होला नि?

पहिलो कुरा सांसदले के काम गर्ने त्यो बुझ्नु पर्छ। यहाँ त के काम गर्ने थाहा छैन भन्दा देशलाई सिंगापुर बनाइदिन्छु भन्छन्। देशलाई सिंगापुर बनाउन एउटा सांसदले सक्दैन, पुग्दैन। त्यसैले सांसद भएपछि ३/४ वटा काम गर्नु पर्छ। सांसदले गर्ने पहिलो काम नीति, कानुन बनाउने हो। यो कुरामा हामी जानकार हुनुपर्छ। विधायकी भूमिका हो। त्यो सँगसँगै सरकार बन्दा भोट हाल्ने, बजेट, नीति तथा कार्यक्रम पारित गर्ने, जनमत संग्रहको प्रस्ताव आयो भने आफ्नो मत राख्ने, संविधान संशोधन गर्ने यावत् कुराहरु छँदैछन्। त्यसमा मैले केही कुरा राखेको छु।

एक नम्बरमा म शिक्षा नीतिमा काम गर्छु। यो देश बनाउने हो भने शिक्षा नीतिबाट सुरु गरौँ भन्ने लाग्छ। राम्रो शिक्षा नीति बनाएर सार्वजनिक शिक्षालाई राम्रो गर्न सकियो भने आधा समस्या समाधान हुन्छ। शिक्षा नीतिमा पनि धेरै नगरौँ एउटा शिक्षकको तलब सांसदको भन्दा बढी बनाउँ भनेर प्रस्ताव राखेको छु। शिक्षकहरुलाई मानार्थ रुपमा मर्यादाक्रममा सांसद सरह राखौँ र प्रधानाध्यापकलाई मन्त्री सरह तलब दिऊँ र मर्यादाक्रममा मन्त्रीको र्याङकिङमा राखौँ भन्ने छ। यो शिक्षा नीतिमा शिक्षकलाई प्राथमिकता दियो, उत्कृष्ट शिक्षक ल्याउन सक्यो भने यो देशको अर्थतन्त्रमा २० वर्षपछि नेपाललाई धेरै फाइदा हुन्छ। 

दोस्रो, कक्षा ८ पास गरिसकेपछि हामीले विद्यार्थीलाई ३ वटा छनौट दिनु पर्छ। यसमा शिक्षक अभिभावकको सहमति चाहिन्छ। एउटा, ऊ सैद्धान्तिक शिक्षामा जान पाओस्, जहाँ उसले डाक्टर, इन्जिनियर, सीए, पाइलट सबै बन्न सकोस्। अर्को उसलाई टेक्निकल शिक्षा जहाँ ड्राइभर, प्लम्बर, इलेक्ट्रिसियन, मेकानिक लगायतका तालिम दिनुपर्छ। यसलाई शिक्षासँग जोड्नु पर्छ।
  
तेस्रो, गायन, नृत्य र खेल पर्छन्। यी कुराहरुमा चासो राख्ने र चाहने मान्छेले यही प्रकारको शिक्षा पाउनु पर्छ। अर्को अहिले युवाहरुले ड्राइभिङ एपको प्रयोग गरिरहेका छन्। टुटल, पठाओ, इनड्राइभको प्रयोग बढेको छ। तर यी सबैको कानुन, नीति केही पनि छैन। मेरो भूमिका यी एप र कम्पनीहरुलाई सम्बोधन गरेर नीति बनाउने भन्ने सोच बनाएको छु। 

अर्को सेयर मार्केटमाथि काम गर्नु पर्ने छ। यो एकदमै धेरै हावा पनि भयो, मान्छेहरुले बुझ्दा पनि बुझिरहेका छैनन्। यसमा चाहिँ अलिकति पहल गरेर सेयर मार्केटलाई कसरी सुरक्षित बनाउने, साना लगानीकर्ताहरुलाई कसरी सुरक्षित बनाउन सक्छौँ? अहिले त एउटा नेताले यो जुवा हो भनेको भोलिपल्ट धेरै साना लगानीकर्ताहरुले पिल्सिनु पर्ने अवस्था छ। तर सेयर भनेको त पुँजी हो, पुँजी विकास गर्ने एउटा माध्यम हो भनेर बुझाउन पनि लिडरसिप लिन्छु भन्ने छ।
 
अर्को, सांसदको काम भनेको सरकारको कामको अनुगमन गर्नु हो। प्रश्न गर्नु हो। यसमा म धेरै भन्दिनँ, विगत १० वर्षदेखि माइतीघरबाट यही काम गर्दै आइरहेको छु, अब संसदमा गएर गर्छु। संसदमा गएर मलाई टेबुल ठोकेर प्रश्न गर्न मन छ। संसदमा गएर मेरो टोलमा मेरो आमाले प्रत्येक राति निद्रा बिगारेर किन दुई ग्यालन पानी थाप्नु पर्यो भनेर सोध्न मन छ। ग्यालन, गाग्रो बोकेर संसद् छिर्न मन छ।

केजरीवालले ५ सय लिटर पानी निशुल्क दिए भनेर म लेख लेख्छु, भाषण दिन्छु, यस्तै देश बनाउँछु भन्छु। मेरो घरमा पानी आउँदैन तर प्रत्येक महिना १ सय ५५ रुपैयाँ तिर्छु। यो विषयमा पनि मलाई प्रश्न सोध्न मन छ। अहिले आक्रामक भएर बोल्न पनि मिल्दैन, तर देशको ढुकुटीले धान्यो भने पानी बिना सरकारले उठाएको १ सय ५५ रुपैयाँ फिर्ता गराउने लक्ष्य छ। यो पैसा फिर्ता गराउन सकिनँ भने पनि अब लिन नपाउने कानुनको वकालत गर्छु भन्ने छ।
 
सांसद भएपछि आफ्नो क्षेत्रको विकास र समृद्धिमा साथ दिने, अनुगमन गर्ने र पहल गर्ने हो। पानी र शिक्षा भइहाल्यो। अर्को बाटो हो। एउटै बाटो देखाएर कति पटक चुनाव लड्ने, कुनकुन पार्टीको एजेन्डा कति वर्ष सम्म बाटो बनाउने, बनिरहने, पार्टीको हरेक पटकको एजेन्डाको लागि बाटो गतिलो नबनेको हो। यो कुरा रोकिनु पर्छ। 

काठमाडौं ९ को विशेषताका बारेमा तपाईं जानकार हुनुहुन्छ होला, यहाँको आवश्यकता के हो? त्यो खाँचोलाई परिपूर्ति गर्न तपाईंसँग के के उपाय छन्?
यो सभ्यता बोकेको क्षेत्र हो। लगनटोल, जैसीदेवल, इन्द्रथानको आफ्नै विशेषता छ। यस्ता फरकफरक विशेषता बोकेका थुप्रै ठाउँ छन्। यस्ता ठाउँलाई ब्रान्डिङ गर्नु पर्छ। मलाई लाग्छ मेरो निर्वाचन क्षेत्र टुरिजमको राम्रो सम्भावना बोकेको क्षेत्र हो। राम्रोसँग व्यवस्थित गर्ने हो भने चन्द्रागिरि र नागार्जुनका युवाहरुले टुरिजमबाटै रोजगारी पाउँछन्। उनीहरुले बेरोजगार हुनु पर्दैन। राम्ररी ब्रान्डिङ गर्ने हो भने आन्तरिक टुरिजमले नै यस क्षेत्रका युवालाई रोजगार बनाउन सक्छौँ। त्यो सँगसँगै यहाँको कला संस्कृतिलाई अझै प्रवद्र्धन गर्नको लागि ‘नेवा एक सभ्यता, तामाङ एक सभ्यता’ भनेर पाठ्यक्रममा राखेर आफ्नो सभ्यताका बारेमा जानकारी दिन सकिन्छ। 

हाम्रो इतिहास, हाम्रो संस्कृतिको स्वामित्व हामीले लिन सकिरहेका छैनौँ। हामीले हाम्रा विद्यार्थीहरुलाई कक्षा ८/९ बाटै यो बुझाउन सक्ने खालको वातावरण सिर्जना गर्न सकिन्छ। यो स्थानीय सरकारले गर्न सक्छ। हराउँदै गएको मित कल्चर असाध्यै मन पर्छ। हाम्रो निर्वाचन क्षेत्रमा एक जातले अर्को जातको मानिससँग मित लगाओस्। एक–अर्काको संस्कृतिलाई हेर्ने र बुझ्ने कुरालाई अभियानकै रुपमा अगाडि बढाउन सकिन्छ।

अर्को कुरा चन्द्रागिरि, नागार्जुन लगायत काठमाडौँ उपत्यकाको प्रदुषण हटाउनका लागि हामीले १ लाख रुख रोप्ने र त्यसमा विद्यार्थीलाई सहभागी गराउने योजना बनाएका छौँ। एउटा बच्चो एक कक्षामा भर्ना हुँदा उसलाई एउटा रुख रोपेर एसईई पास गर्नु पर्छ भनेर असाइनमेन्ट दिउँ न भनेर स्थानीय तहले पाठ्यक्रममा परिवर्तन ल्याउन सक्छ। हाम्रो निर्वाचन क्षेत्रमा विद्यार्थी, यहाँको समुदाय सबैलाई सहभागी गराएर १ लाख रुख रोपेर यसलाई हरियो काठमाडौं बनाउन सक्छौँ भन्ने योजना छन्। 

फाइल तस्बिर।

यी योजना मात्रै होइनन्, मैले १० वर्षदेखि यी कुराहरु भन्दै यसमा केही काम गर्दै अगाडि बढिरहेको छु र मलाई आशा छ, विश्वास छ, सांसदका रुपमा म यी कामहरु गर्छु। मलाई के लाग्छ भने म यही क्षेत्रको मतदाता भएको हुनाले पनि जब म मेरो प्रतिनिधिलाई हेर्छु, ममा उर्जा आउनु पर्छ। अहिले म मेरो सांसद हेरेर उर्जावान् हुने केही कुरा नै पाउँदिनँ। मलाई बरु यस्ताले देश हाँकिरहेका छन् भन्ने महसुस हुन्छ भने मैले राजनीतिमा राम्रो योगदान गर्न सक्दिनँ। उर्जा दिने नेता चाहिएको छ। काठमाडौँ क्षेत्र नम्बर ९ ले यसपालि मिलन पाण्डेको रुपमा त्यो उर्जा सप्लाइ गर्ने, संसदमा बोल्दा पनि अहो यो पो हो त भनेर आफ्नो तिघ्रा हान्ने खालको मान्छे पाउँछ भन्ने मलाई विश्वास छ। 

रवीन्द्र मिश्र, तपाईं, उज्वल थापा युवा पुस्ताले आशा र विश्वास गरेको टिम थियो। उज्वल थापाको कुरा नगरौं, तपाईं र रवीन्द्र मिश्रले युवाहरुको आशामा त चिसोपानी नै खन्याउनुभयो। अब तपाईंहरुलाई तिनै युवाले कुन विश्वासले भोट देलान्? 
हामी सर्वेक्षण गर्दैनौँ। हामीसँग हामीले भनेका कति कुराको आधार नै हुँदैन। युवाले विश्वास गर्दैनन् भन्ने कुराको आधार के त? अथवा मैले म जित्छु, युवा मेरो साथमा छन् भन्नु आधार के त? भलै मैले बोलेको कुराको आधार मंसिर ४ मा देखिने छ। ठ्याक्कै तपाईंले भनेको जस्तो अवस्था छैन। यदि त्यसो हुन्थ्यो भने म पनि त यति उत्साहका साथ मैदानमा आउने थिइनँ। मलाई लाग्ने अलिकति राजावादी विचार राख्ने मान्छेले मिलन पाण्डेलाई प्रश्न गरिरहेका छन्। बाँकी सबैले ए केटो तँ उभिइस्, पार्टीभन्दा पनि माथि गएर पार्टीको स्पेसलाई जोगाइस्, पार्टीको मूल्य मान्यतालाई जोगाइस्, आफ्नै पार्टीमा आफ्नै विरुद्ध, आफ्नै सहकर्मीविरुद्ध उभिइस् भनेर स्याबासी नै दिएका छन्। मलाई प्रोत्साहन नै गरेका छन्। 

रवीन्द्रजीले जबर्जस्ती पार्टीलाई राप्रपाकरण गराउन खोज्नु भयो, पार्टीलाई राप्रपामा विलय गराउनु खोज्नु भयो, मैले त्यसलाई रोके। यो त वैकल्पिक राजनीतिको स्ट्रेन्थ भन्दिम। सोच्नुस न यो वैकल्पिक राजनीतिको डीएनए कस्तो रहेछ? उज्वल थापाले के रोपेर गएछन्? पार्टीको एउटा अध्यक्ष पार्टीमा एउटा विचार लिएर आउनु हुन्छ, जबर्जस्ती केन्द्रीय कमिटीमा पारित पनि गर्नुहुन्छ। उहाँसँग बहुमत छ। तर, ६ महिनामा एउटा यस्तो क्षण आउँछ, जहाँ उहाँ अल्पमतमा परेर कारबाही खाएर पार्टीबाट पलायन हुनु पर्छ। उहाँ एक्लो जानु भएको हो। केपी ओलीको विपक्षमा उहाँको पार्टी जान सक्छ? सक्दैन। तर रवीन्द्र मिश्रको विपक्षमा पार्टी नै गयो। उहाँ आफैँले पार्टी छोडेर जानु पर्यो। आफैँ अध्यक्ष, पार्टी छोडेर जानु परेको छ। यो चाहिँ वैकल्पिक राजनीतिको डीएनए हो। जहाँ व्यक्तिप्रधान होइन, पार्टीको सिस्टम बलियो छ भन्ने चाहिँ देखिन्छ। यो सबै जे भयो, त्यसले हामीलाई थप मजबुत बनायो। 

तपाईंको दाबी त जित्ने होला, भोट चाहिँ कति ल्याउनु हुन्छ? 
मैले अघिल्लो पटक पनि हिसाब गरेको हो। क्यालकुलेसन अनुसार ५ बजे चुनाव सकियो, सवा ५ मा मैले भिडिओ मार्फत मैले तपाईंको मन जितेँ भनेर हार स्वीकारेको थिएँ। यसपालि मलाई लाग्छ, १७ हजार मत ल्याउछु। दोस्रो हुने प्रतिस्पर्धीले भन्दा ५ हजार बढी मतले जित्छु।
 
मलाई अहिले थपिएको मत, प्रजातान्त्रिक लोकतान्त्रिक मत, अब यो देशमा परिवर्तन चाहिन्छ भन्ने मेरा आमाबुबाको मत, युवाहरुको मतसहित १७ हजार मत ल्याउँछु। दोस्रो हुनेले १२ हजार मत ल्याउँछ। १७ हजार मतसहित मेरो निर्वाचन क्षेत्रलाई मुक्ति दिन्छु। किनभने कृष्णगोपाल अंकल २०४८ सालमा उठ्दाखेरि म २ वर्षको थिएँ। उहाँ अहिले मेरो प्रतिस्पर्धी भएर आउनु भयो। उहाँ ७० प्लस हुनुहुन्छ, म दोस्रो निर्वाचन लड्दैछु एक हिसाबले मेरो जित मुक्ति पनि हो। त्यसैले मलाई विश्वास छ यसपटक रिजल्ट राम्रो आउँछ। 

अन्त्यमा केही भन्नु छ?   
मतदाताहरुले एकदमै सिरियस भएर सोच्न जरुरी छ। मतदाताहरुले भोट हाल्न जाँदा आफ्नो छोराछोरी र उनीहरुले पढ्ने स्कुलको शुल्क सम्झिएर भोट हालिदिनुहोस्। मतदाताहरुले भोट हाल्न जाँदा आफ्ना बुढा आमाबुबा, अस्पतालको अवस्था, आधा तलब गइरहेको औषधिको बिल सम्झेर भोट हाल्दिनुस्। युवाले भोट हाल्न जाँदा ब्याचलर छ, डिग्री छ, जागिर नपाएर विदेश जानु पर्ने अवस्था छ। यो अवस्थालाई सम्झिएर भोट हाल्दिनुस्। र, यसपालिको भोटलाई मेरो बाजेको, मेरो बाको पार्टी भन्ने न्यारेटिभभन्दा माथि उठेर मेरो छोराको भविष्य बनाउन म भोट हाल्दैछु, मेरो एक भोटमा मेरी छोरीको भविष्य जोडिएको छ भन्ने बुझेर भोट हाल्दिनुस् भन्न चाहन्छु। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .