अन्तर्वार्ता


युद्धजन्य अवस्थामा ‘वार क्याबिनेट’ हुन्छ, चीनमा सी त्यसैले चयन भएका हुन् : टंक कार्की (अन्तर्वार्ता)

‘शान्तिपूर्ण रुपमै शक्ति एसियामा आउँछ’
युद्धजन्य अवस्थामा ‘वार क्याबिनेट’ हुन्छ, चीनमा सी त्यसैले चयन भएका हुन् : टंक कार्की (अन्तर्वार्ता)

चन्द्रलाल गिरी
कात्तिक २५ , काठमाडौँ

टंक कार्की चीनका लागि पूर्व नेपाली राजदूत हुन्। कार्कीसँग चीनको वर्तमान नेतृत्व, सी पुनः सीपीसीको महासचिव भएपछि त्यसले विश्व र नेपालमा पर्नसक्ने अवसर र चुनौतीहरुका बारेमा केन्द्रित रहेर नेपालखबरले गरेको कुराकानीः 

तपाईं बेइजिङमा बसेर चीनको नेतृत्व बुझेको मान्छे। विगतका महाधिवेशनहरुको तुलनामा सीपीसीको २० औँ महाधिवेशनलाई कसरी मूल्याङ्कन गर्न सकिन्छ?
पहिलो कुरा त यो सीपीसीको २० औं महाधिवेशन पनि चिनियाँ कम्युनिस्ट पार्टीभित्र नेतृत्वको निरन्तरता नै हो। परिवर्तन के कुरा मात्र हो भने चीनको आन्तरिक र बाह्य चुनौतीहरुलाई व्यवस्थापन गर्न बलियो, आत्मविश्वासी र अनुभवी नेतृत्वको छनौट गर्नुपर्दा सीलाई नै निरन्तरता दिइएको मात्र हो।

मलाई लाग्छ, सीसहितको सीपीसीको नयाँ नेतृत्व राम्रोसँग सकारात्मक ढंगले चीनको नेतृत्व गर्न सक्षम छ। 

तपाईंको विचारमा सीपीसीको २० औँ महाधिवेशनबाट सी नै पुनः नेतृत्वमा आउनुपर्ने अवस्था किन बन्यो? यसले विश्वमा कस्तो प्रभाव पार्ला?
सीपीसीको २० औं महाधिवेशनबाट सी पुनः नेतृत्वमा आउनुमा चीनको आफ्नै आन्तरिक र बाह्य कारणहरु छन्। पश्चिमाहरुको नजरमा बिरामी भएर सुतेको चीन जागेर विकास र समृद्धिमा थ्रेसहोल्ड पार गरेको अवस्था छ। हिजोको गरिबी र त्यो दरिद्रताको चिनियाँ परिचय आज समृद्धिसम्म पुग्दा चीन विश्वको दोस्रो ठूलो आर्थिक शक्ति बनेको छ। चीन चाँडै नै विश्वको पहिलो आर्थिक महाशक्ति बन्ने आकलन पश्चिमाहरु स्वयमले नै गरेका छन्। 

चीनले फेरि आफूले बनाएको योजना मुताविक नै लामा लक्ष्यहरु समयमै प्राप्त गर्दै आएको छ। जनगणतन्त्र चीन घोषणा भएको १०० वर्षमा चीनले आफूलाई विश्वकै सभ्य, सुसम्पन्न र आधुनिक समाजवादी मुलुक बन्ने सपना बुनेको छ। यो ‘चिनियाँ सपना’ पुरा गर्ने हैसियत र सामथ्र्य अहिलेको चीनले राख्दछ। यद्यपि गाउँ र सहर, पूर्व र पश्चिमबीचमा विकासको सन्दर्भमा केही असन्तुलन पनि नभएको होइन। यसका बाबजुद चीनले अहिले हासिल गरेको विकास र समृद्धि मानव विकासको इतिहासमा ‘नेसन स्टेट’(राष्ट्र राज्य)को रुपमा गरेको प्रगति भने अद्भूत हो। यति छोटो समयमा अमेरिका, युरोप वा जापान कसैको पनि यस्तो प्रगति भएको थिएन। 

अर्को सन्दर्भ के हो भने अहिलेको मौजुदा परिवेशमा विश्व व्यवस्था संक्रमणको अवस्थामा छ। सन् १९९० को दशकदेखि अमेरिकी नेतृत्वमा रहेको एक धुव्रीय विश्वव्यवस्था परिवर्तन हुने अवस्थामा पुगेको देखिन्छ। बहुध्रुवीय विश्व व्यवस्थाले सबैको समान हित र स्वार्थको संरक्षण गर्ने मान्यता चीनले राख्दै आएको छ। विश्व व्यवस्थालाई बदल्न रुस‐युक्रेन युद्ध एउटा प्रसव वेदनाको रुपमा प्रकट भएको छ। यो बाहिर देखिँदा रुस र युक्रेनबीचको युद्धजस्तो देखिए पनि सारमा भने यो एक ध्रुवीय व्यवस्थाको पक्षधर (अमेरिका र युरोप) र बहु‐ध्रुवीय विश्व व्यवस्थाको पक्षधरहरु (चीन र रुससहितका देशहरु)बीचको लडाइँ होे। 

एकप्रकारले भन्दा विश्व व्यवस्था अन्यौल, अस्थिर, तरल र चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको छ। अमेरिका र चीन नै अहिलेका विश्वका प्रमुख खेलाडीहरु हुन् भन्ने सबैले स्वीकार गरेको तथ्य हो। यस्ता चुनौतीहरुको बीचमा चीनजस्तो निर्णायक शक्तिको सानो निर्णयले विश्वमा प्रभाव पार्ने नै भयो। करिब‐करिब युद्धजन्य अवस्था, तरलता र जटिल विश्व परिवेशमा चीनलाई बलियो नेतृत्वको खाँचो थियो। यो सीपीसीको सुझबुझपूर्ण निर्णय हो भन्ने मलाई लाग्छ। सीको निरन्तरता विचार र नेतृत्व दुवैको संयोजन पनि हो।

कम्युनिस्ट पार्टीमा व्यक्तिभन्दा प्रणाली मुख्य मानिन्छ। र, ताइवानको एकीकरण गर्न बलियो नेतृत्व आवश्यक भएकाले सीले निरन्तरता पाएको भन्ने चर्चा छ, त्यो नै हो त? 
हु चिन्ताओको समयसम्म दुई कार्यकाल राष्ट्र प्रमुख हुन पाउने र ६८ वर्ष उमेर हदभन्दा बढी नेतृत्वमा बस्न नसक्ने चिनियाँ परिपाटी थियो। त्यो परिवर्तन हुनुमा पनि विश्वको वर्तमान परिवेश नै हो। तर यसको अर्थ सी आजीवन नेतृत्वमा चयन भएका हुन भनेर बुझ्नु पनि गलत हुन्छ। युद्धजन्य परिवेश छ भने ‘वार क्याबिनेट’ हुन्छ भनिन्छ नि। करिब‐करिब युद्धजन्य परिस्थितिमा त्यस्तो अवस्थाको नेतृत्व गर्न सक्ने बलियो, सुझबुझ भएको र अनुभवी नेतृत्व चाहिन्छ भन्ने तर्कभित्र नै सी तेस्रो कार्यकालका लागि चयन भएको हुनपर्दछ। पक्कै पनि ताइवानको एकीकरणको एजेन्डा सीको प्राथमिकतामा रहेकै विषय हो। 

सीको निरन्तरताले नेपाल‐चीन सम्बन्धमा कस्तो प्रभाव पार्ला?
सम्पूर्ण मानव जातिको साझा समृद्धि र साझा भविष्यको लागि सीले जुन अवधारणा अघि सारेका छन्, हामीजस्ता विदेशी अनुदानमा भर पर्नुपर्ने र विकासमा पछि परेका मुलुकहरुको निम्ति सुखद मान्नु पर्दछ। हिजोको विश्व व्यवस्थामा ‘जिरो सम’ (एक पक्षले मात्र फाइदा लिने) अवस्था थियो। उत्तर र दक्षिणको बीचमा अर्थात् धनी र गरिबबीचमा झन् ठूलो खाडल हुँदै गइरहेको छ। त्यसलाई परिवर्तन गरेर विश्व विकासका परिणामहरु केही देशहरुको हातमा मात्र हुने प्रणाली होइन कि सबैलाई लाभ हुने साझा हितको संरचना बनाउनु पर्दछ भन्ने सीको मत छ। 

त्यसको अर्को पक्ष के हो भने दुई पक्षीय रुपमा हेर्दा छिमेकी बलियो, धनी, सुसंस्कृत र शान्त हुँदा मलाई पनि त्यसको लाभ हुन्छ भन्ने मान्यता सीको अवधारणाले अँगालेको छ। त्यही अनुरुप नै चिनियाँहरुले इमानदारीका साथ काम गरिरहेका छन्। बीआरआई त्यसैको उपज हो। यसरी हेर्दा नेपालले चीनको बीआरआईबाट प्रशस्त लाभ लिने आधारहरु छन्। 

सी आफैँ पनि नेपाल आउनु भएको छ। सी नेपालको विकासका प्राथमिकता र समस्याहरुमा जानकार हुनुहुन्छ। केरुङ‐काठमाडौँ रेलमार्गको सर्भे पनि चीन आफैँले गर्दैछ। त्यसैले सीको कार्यकालमा हामी नेपालीले चीन भनेर तर्सिन जरुरी छैन। चीनको सहयोग लिन हामी तर्सिएर कतिपय योजनाहरु बन्न ढिलाइ भएका छन्। यो चीनको भन्दा पनि हामीभित्रकै समस्या हो। 

छिमेकीले जति शान्त र व्यवस्थित रुपले प्रगति गर्दछ, त्यसका नजानिँदा लाभहरु अरु छिमेकीहरुलाई पनि हुने देखिन्छ। पश्चिमाहरुले चीन र भारतबीचमा जुन फाटो ल्याउने प्रयास गरिरहेका छन्, त्यसको बाबजुद अहिले सीले भारतसँग सम्बन्ध सुधार्न जोड दिएको देखिन्छ। चीन र भारतबीच सम्बन्ध सामान्य अवस्थामा फर्किन थालेको पनि छ। चीन र भारत सांघाइ कोअपरेसन र ब्रिक्सजस्ता फोरमहरुमा सँगै छन्। रुससँगको सहकार्यमा पनि चीन र भारतसँगै छन्। चीन र भारतबीचमा हुने सहकार्य नेपालको हितमा छ। हात्ती मिले पनि जुधे पनि जमिन माडिने हो भन्ने भनाइ हाम्रो सन्दर्भमा गलत छ। 

सीले नेपालका कम्युनिस्ट पार्टीहरुसँग अलि बढी सहकार्य गर्न चाहेका छन् भन्ने मत पनि छ नि नेपालभित्र?
यो सरासर पश्चिमाहरुले चलाएको अफवाह मात्र हो। चीनमा कम्युनिस्ट पार्टी सत्तामा भएकोले नेपालमा पनि कम्युनिस्ट पार्टीहरुसँग मात्र सहकार्य गर्न चाहन्छ भन्ने तर्क शीतयुद्धको ह्याङओभर मात्र हो। अहिलेको विश्वमा विचारको आधारमा कुनै पनि मुलुकले सम्बन्ध बनाउँछ भन्ने कुरा गलत छ। यो भ्रम मात्र हो। रुसमा कम्युनिस्ट सरकार छैन तर पनि अमेरिका र रुस प्रत्यक्ष द्वन्द्वमा छन्। मुलुकहरुबीच आफ्ना हितहरुको संरक्षण कसरी गर्न सकिन्छ भन्ने आधारमा मात्र सहकार्य भएको देखिन्छ। 

चिनियाँ नेताहरुले नेपालका कम्युनिस्ट पार्टीका नेताहरुसँग भावनात्मक रुपमा सद्भावना त राख्ने गरेका छन्। हामी पनि देश बनाउन लागेका छौँ, तपाईंहरु पनि आफ्नो देशको लागि केही गर्नुहोस् भन्ने चिनियाँ नेताहरुको सद्भाव नेपालका कम्युनिस्ट पार्टीका नेताहरुलाई हुने गरेको छ। यो भन्दाबाहेक अरु बाँकी सबै भ्रम मात्र हो। 

माओ र तेङको तुलनामा सीले अमेरिकासँग सिधै प्रतिस्पर्धा गर्ने र नझुक्ने खालको नीति अख्तियार गरेको विश्लेषण हुने गरेको छ। त्यसले त झन् युद्धको खतरातिर विश्वलाई लैजाँदैन?
माओ, तेङ र सीले नेतृत्व गरेको चीनको सन्दर्भ नै अलग‐अलग हुन्। माओको कार्यकाल भनेको एसियाको बिरामी चीनकै अवस्था थियो। हिजो बिरामी भएर ओछ्यान परेको बाघ ब्युँतिने क्रममा मात्र थियो माओको शासनकालमा। तेङ स्याओपिङले क्रान्तिकालका सपना र त्यसपछिको यथार्थभित्र चीनको अग्रगति कसरी निर्धारण गर्ने भन्ने बाटो तय गर्ने काम गर्नुभयो। 

सीको अवस्था भनेको चीन हिँड्ने बाटो पनि तय भएको छ, प्रगति पनि भएकै छ। तर अब थप प्रगति कसरी गर्ने भन्ने हो। माओ र तेङलाई भन्दा सीलाई अलिकति सहज पनि छ। चीनभित्र आन्तरिक विकासको खाडल पुर्दै, राष्ट्रिय एकता कायम राख्दै बाह्य चुनौतीलाई पार गर्नुपर्ने कार्यभार सीलाई छ। 

सीले ताइवान एकीकरणको इतिहासमै हामी निकट छौँ भन्ने अभिव्यक्ति दिएपछि अमेरिकासहितको पश्चिमा शक्ति झस्केको देखिन्छ। ताइवान चीनमा एकीकरण भयो भने अमेरिकाको महाशक्तिको ताज खोसिन्छ भन्ने तर्कहरु पनि आइरहेका छन्। यस्तो अवस्थामा त झन् युद्धतिर जाने सम्भावना हुँदैन र?
ताइवान चीनको अभिन्न अंग हो भनेर विश्वले नै मानेको कुरा हो। ताइवानको एकीकरण शान्तिपूर्ण वा बलप्रयोग कुन तरिकाबाट हुने भन्ने प्रश्न मात्र हो। चीन र रुसलाई कमजोर बनाएर एक ध्रुवीय विश्वव्यवस्था कायम राख्न सकिन्छ भन्ने मान्यतामा अमेरिका र उसका सहयोगीहरु छन्। अरुलाई कमजोर बनाएर आफूले विश्वको नेतृत्व गर्ने अमेरिकी नीतिको कारण कहिले ताइवान, कहिले तिब्बत त कहिले सिन्जियाङजस्ता विषयमा अमेरिकाले चीनलाई दबाब सिर्जना गर्ने गरेको छ।

उता रुसको सीमा जोडिएको युक्रेनसम्म नेटोको विस्तार गर्ने अमेरिकी नीति रह्यो। सोभियत संघ विघटन भएर १७ वटा देशहरु बनेपछि पनि नेटोको विस्तार किन जरुरी थियो? जसको कारण अहिले विश्व व्यवस्थामा नै अस्थिरता छाएको हो। मुख्य आणविक राष्ट्रहरुसँगको सम्बन्धमा जुन धैर्य, सुझबुझ चाहिन्थ्यो, त्यो अमेरिकी नेतृत्वले बुझेको देखिएन। जसको कारण युरोपेली देशहरुमा पनि विभाजन हुन थालेको छ। चक्रवर्ती राजाको भूमिकामा अमेरिकाले चीन र रुसलाई ह्याकुलाले किच्न खोज्यो, जसको कारणले हो आजको युद्धजन्य अवस्था सिर्जना भएको। 

‘थुसिडिडस ट्रयाप’ मा परेर परम्परागत महाशक्ति अमेरिका र उदाउँदो शक्ति चीनबीच युद्ध अपरिहार्य छ भन्ने मतहरु पनि छन् नि?
तेस्रो विश्वयुद्धलाई टार्न सकिने आधारहरु भने यथेस्ट छन्। पहिलो र दोस्रो विश्वयुद्धको दरमियानमा उदीयमान शक्ति जर्मन र विद्यमान शक्ति बेलायतका बीचमा खासै दुश्मनी थिएन। जर्मनप्रति बेलायतको त्यस्तो वैरभाव पनि थिएन। विश्वयुद्ध हुनुमा अरु कारणहरु बढी जिम्मेवार थिए। उदाउँदो शक्ति उत्ताउलो र अर्कोतिर परम्परागत शक्ति भने नयाँ शक्तिले मेरो भाग खोस्छ भन्ने त्रासमा रहन्छ भन्ने मान्यता छन्। तर आजको दुनियाँ फरक हो। त्यतिबेला त २२‐२३ वर्ष युद्ध गर्दा पनि टिक्ने अवस्था थियो। संसार ध्वस्त हुँदैन थियो। तर अहिले त चीन र अमेरिका पूर्ण क्षमताको लडाइँमा जाने हो भने विश्व नै नरहने अवस्था हुन्छ। त्यत्रो खतरा मोल्नु जायज हुन्छ कि हुँदैन त? मानवअधिकार, निजी स्वतन्त्रताको कुरा गर्ने देशहरु त्यहाँसम्म जालान् त? अमेरिका भनेको त बाइडेन र ट्रम्प मात्र होइन नि। अमेरिकी र चिनियाँ समाजले के सोच्छ भन्ने कुरा पनि आउला नि। त्यसैले मुख्य शक्ति राष्ट्रहरुमा कम्तिमा न्यूनतम समझदारी छ र हुनु पर्दछ भन्ने लाग्छ। 

मेरो विचारमा शान्तिपूर्ण रुपमा नै शक्ति एसियामा आउँछ। त्यसको लागि विश्वका मुख्य देशहरु बीचमा विश्व व्यवस्थाको सन्तुलनको लागि न्यूनतम समझदारी हुन जरुरी हुन्छ।  

यस्तो अन्यौलको अवस्थामा चीनले विश्व व्यवस्थामा कस्तो भूमिका खेल्न सक्छ त?
पहिलो कुरा त अहिलेको विश्व व्यवस्थामा देखिएको संक्रमणलाई व्यवस्थित गर्न चीनले महत्वपूर्ण भूमिका खेल्नसक्छ। अहिलेको विश्व व्यवस्थालाई चाँडोभन्दा चाँडो थिगार्नुपर्ने अवस्था छ। अहिलेको संयुक्त राष्ट्रसंघको भूमिका नै निष्प्रभावी देखिएकोे छ। अहिले न त अमेरिका, चीन वा रुसले भनेको कोही मान्नेवाला छ। कम्तीमा विश्वप्रणाली साझा मूल्यमा आउनुपर्यो नि। शक्ति सन्तुलनका हिसाबले यो विश्वव्यवस्थालाई व्यवस्थित र स्थिर बनाउन चीनले प्रभावकारी भूमिका खेल्न सक्छ। त्यसैले पनि चीनले बहु‐ध्रुवीय विश्व व्यवस्थाको वकालत गर्दै आफ्नो भूमिका खोजेको हुनुपर्दछ।
 

कात्तिक २५, २०७९, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad