ad ad

अन्तर्वार्ता


ओलीसँग ‘एक्सिडेन्ट्ली’ भेट भयो, एमालेसँग एकताको बाटै नसोध्नू : माधव नेपाल (अन्तर्वार्ता)

‘प्रचण्डसँग निश्चित रुपमा चित्त दुखेको छ। माओवादी नाममा एकतामा जान सक्दैनौँ।’
ओलीसँग ‘एक्सिडेन्ट्ली’ भेट भयो, एमालेसँग एकताको बाटै नसोध्नू : माधव नेपाल (अन्तर्वार्ता)

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भन्छन्– पाँचै वर्ष सरकार चलाउनुस्, हामीलाई आतुरी छैन (तस्बिरः सरोज बैजु)


सागर न्यौपाने
माघ ९, २०७९ सोमबार २१:२७, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई माघ ९ गते भेट्न पार्टी कार्यालय पुग्दा उनी नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीसँग भेट्ने तयारीमा थिए। पार्टी एकताको विषयमा कुरा गर्न जोशीसँग भेट्न लागेको उनले बताए।

आइतबार (८ माघ) मा माओवादी केन्द्रसँग पार्टी एकताकै विषयमा छलफल गरेको एकीकृत समाजवादीले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी जसपासँग पनि एकता प्रयास थालेको छ। 

पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन नगरेको एकीकृत समाजवादीले २६ पुसमा उनै प्रचण्डलाई विश्वासको मत भने दिएको छ। संसदमा एकीकृत समाजवादी प्रतिपक्षको कुर्सीमा बसेको छ। तर, प्रचण्ड नेतृत्वको माओवादीसँग एकता गर्न नेताहरु वार्तामा छन्। यसै विषयमा अध्यक्ष नेपालसँग नेपालखबरले गरेको वार्ता :

नेकपा माओवादी केन्द्रलगायत पार्टीहरुसँग एकता नै गर्न वार्ता भइरहेको हो कि इन्गेज मात्र गराउने कोसिस हो?
अब हेर्नुस्, अहिले भर्खर पनि मेरो पुरानो नेकपा मानन्धर समूहसँग कुरा भयो। त्यसको अध्यक्ष हुनुहुन्छ, हाम्रो चन्द्रदेव जोशी। उहाँले बसेर हामी पार्टी एकता वार्ता गरौँ भन्नुभयो, मैले अहिले पठाइदिनुस् भनेँ। उहाँले महासचिवलाई पठाइदिँदै छु भन्नुभयो। 

भनेपछि एकताको लागि हामी खुला भएपछि त अरु पनि एकता वार्ता गर्न आउनुहुन्छ। हामी खुला हुनेबित्तिकै तरंग पैदा भएको देखेर खुसी पनि लागेको छ, अचम्म पनि लागेको छ। अचम्म के मा लागेको छ भने कतै हामीमा एक्लै जान सकिँदैन भन्ने मनोविज्ञान त बनिरहेको छैन? त्यो ठान्नु हुँदैन। हामी एक्लै पनि अगाडि बढ्दाखेरी साथमा यात्रा गर्नेहरु फेला पार्दै जान्छौँ। 

किनभने हामी मात्रै यात्रामा छैनौँ। यो यात्रा जुन छ नि, यसमा धेरै लागिरहेका छन्। पुराना पिँढीका लागेका होलान्, नयाँ पिँढीका लागेका होलान्। उत्साहित नौजवान होलान्। पार्टीलाई मिलाउने मात्र होइन, नयाँ पंक्तिलाई मिलाउने कुरा पनि हो। त्यसकारण यो मिलाउने, समेट्ने अन्तर्गत हामी सबैसँग कुरा गर्न तत्पर छौँ।

नेकपा हुँदा सँगै भएकोले माओवादीसँग एकता गर्ने विषयमा धेरै कुरा मिलाउन पर्दैन। फगत् प्राविधिक विषय टुंगो लगाउन बाँकी रहेको भन्ने कुरा साँचो हो उसोभए? 
अब वार्ता टोलीले कतिसम्म कुरा अगाडि बढाएको छ, मैले बुझ्न पाएको छैन। मलाई थाहा भएन।

अब क्रम सुरु भएको छ। यस्ता कुरा त अलि पहिले पनि भएका हुन्। स्थानीय तहको चुनावभन्दा पहिले पनि नेकपा माओवादी पार्टीसँग हामी एकताबद्ध हुने सम्भावना छ भने त्यसको दिशामा अगाडि बढौँ न त भन्ने कुराहरु भएका हुन्, तर त्यो अगाडि बढ्न सकेन।

चुनावपछि गरौँ भनेपछि फेरि स्थानीय चुनावपछि प्रदेश र प्रतिनिधि सभाको चुनाव आयो। त्यो बेला पनि गरौँ न त भन्ने भयो फेरि त्यो टर्यो।

तपाईंकै संयोजनमा एकता संयोजन समिति पनि बनेको थियो होइन?
हो, एकता संयोजन समिति बनाउने कुरा भयो तर, त्यो यतिकै थन्किएको स्थिति हो। त्यसलाई फेरि हामी ब्युँताउन खोजिरहेका छौँ। त्यसको निम्ति कतिपय विचारहरुमा हाम्रो एकरुपता पनि चाहिन्छ। मिल्नुपर्छ। त्यो सबै छलफल भइसकेपछि के के कुराले एकताको अपेक्षा गरेको छ, त्यसलाई मिलाएर हामीले टुंगो लगाउने हो। हामी एउटा पार्टीसँग मात्र होइन, सबैसँग कुरा गर्न तयार छौँ।

मैले भनिहालेँ कि हामी एकताका निम्ति सम्भावना हेर्छौँ। होइन भने मोर्चा बनाउने सम्भावना पनि हेर्छौं, त्यो नभए सहकार्यको सम्भावना पनि हेर्छाैँ– परिस्थिति जेका निम्ति परिपक्क भएको छ, जति जना तयार भएका छन्, तिनीहरुलाई साथमा लिएर जान्छौँ। नभए हामी चल्ने, अगाडि बढ्ने कुरा त छँदैछ। 

तपाईंहरुले प्रधानमन्त्री बनाउन प्रचण्डलाई समर्थन गर्नु भएन तर विश्वासको मत दिनुभयो। एकताकै विषयमा जसपासँग समानान्तर वार्ता गरिरहँदा विचार र कार्यदिशाका हिसाबले तपाईंहरु माओवादीसँग नजिक हो कि जसपासँग? कुनसँग चाँडो एकता होला? 
हामी यसै भन्न सक्दैनौँ। घटनाक्रमले कस्तो मोड लिने हो त्यसमाथि भर पर्छ। हामी अहिले एकताको सन्दर्भमा जनता समाजवादी पार्टीसँग पनि वार्ता गरिरहेका छौँ, सहकार्य होस् या मोर्चा निर्माण वा पार्टी एकता होस्।

अब माओवादी पार्टीसित पनि हाम्रो कुराकानी सुरु भएको छ। त्यसैगरी चन्द्रदेव जोशीजीको पार्टी नेकपा संयुक्तसँग पनि कुराकानी भएको छ। अरुहरुले पनि हामी कुरा गर्न तयार छौँ भनिरहनु भएको छ। अरुसँग पनि हामी कुरा गर्छौँ। जोजोसँग मिल्दै जान्छ, उहाँहरुसँग एकताबद्ध हुँदै जान्छौँ।

अरुसँग भन्नुभयो तर एमालेको नामै लिनुभएन, एमालेसँग सम्भावना कति छ? 
अहिलेसम्म त्यस्तो मैले केही देख्या छैन। अनि त्यस्तो पाइएको छैन। एमालेसँग एकता सम्भव छैन भनेर मैले त्यही पार्टीका जिम्मेवार नेताहरुको अभिव्यक्ति सुनेको छु। मैले ती नेताहरुको अभिव्यक्ति पढे अनुसार यदि त्यो जिम्मेवार व्यक्तिले नै बोलेको हो भने अहिलेसम्म एकता सम्भव देखिँदैन। किनभन्दा पार्टीको पदाधिकारीले बोलीसकेपछि त्यसलाई आधिकारिक मान्नुपर्ने हुन्छ।

होइन, उसले बोल्दै नबोलेको कुरा छापिएदिएको हो भने खण्डन आउनुपर्यो। खण्डन आएन भने सत्य रहेछ भन्ने विश्वास गर्नुपर्यो। अनि सत्य रहेछ भने ढोका बन्द भइसकेपछि... जुन गाउँमा जानु छैन, त्यसको बाटै नसोध्नू।

एमालेसँग एकता गर्नेबारे छलफल नभएकै हो त? तपाईं र केपी ओलीबीच तीनचार पटक भेट भइसक्यो..
एक्सिडेन्ट्ली हो त्यो। यो निर्धारण गरेर होइन। भेटघाटभन्दा पनि सँगै बसेको स्थिति परेको हो। यसलाई भेटघाट नभनौँ। सँगै बस्दा केही भलाकुसारी त हुन्छन् नै। त्योभन्दा अगाडि केही कुरा भएको छैन।

भलाकुसारी कसरी भयो, सुरुवात केबाट भयो, कसले पहिला बोलायो?
कुरा त स्वास्थ्य अवस्था, नयाँ हालखबरबाट नै हुन्छ। कसले पहिले भन्ने कुरा परिस्थितिमा भर पर्छ।

राष्ट्रपतिको चुनावको विषयमा प्रधानमन्त्रीसँग छलफल गर्नुभएको छ कि छैन? 
राष्ट्रपतिको चुनावको समय धेरै बाँकी छ। कसैकसैले फागुनको अन्तिम हप्तामा हुन्छ भन्छन्, कसैले माघको अन्तिमबाट प्रक्रिया सुरु हुन्छ भन्छन्। त्यसो भएको हुनाले हामी सबै कुरालाई अब्जर्भ गरिरहेका छौँ। कुन ढंगले घटनाक्रम अगाडि बढ्छ, त्यही आधारमा तय गर्छाैँ। 

राष्ट्रपति साझा व्यक्ति हुनुपर्छ भन्ने कुरा चर्चामा छ, तपाईंहरुको धारणा के छ?
अहिले हामी त्यो विषयमा प्रवेश गरेका छैनौँ। हामीले यसलाई एजेन्डा बनाएका छैनौँ। समय बाँकी छ, समयभन्दा धेरै पहिला हिँड्दा फाइदा गर्दैन। कुनैपनि चिज समयमा गर्नुपर्छ भन्ने मान्यता हो मेरो।

त्यसो भए जो राष्ट्रपति भए पनि हुन्छ कि केही क्राइटएरिया बनाउनुपर्छ? 
यसबारेमा अहिले धेरै नभनौैँ, किनभने घटनाक्रमले कस्तो मोड लिन्छ अनि त्यसबारेमा हामीले सोच्ने हो। हामीले पनि धारणा बनाउने हो, अरुसँग पनि कुरा गर्ने हो। कुरा के हो भन्दा यस्ता पदहरुमा त्यस्तै खालको व्यक्तिको खोजी हामीले गर्नुपर्छ, जसले संविधानको रक्षा गरोस्। जसले देशको राष्ट्रियताको संरक्षण गरोस्। जसले राम्रो अभिभावकीय भूमिका निर्वाह गरोस्। यी कुरामा हाम्रो धारणा बनिहाल्छ। त्यही अनुसारको पात्र खोजी गरौँला।

यहाँले कांग्रेस सभापति शेरबहादुर देउवा, जसपा अध्यक्ष उपेन्द्र यादवसँग पनि कुरा गर्नुभयो, राष्ट्रपति निर्वाचनमा सबै दल एकै ठाउँमा उभिने सम्भावना छ कि छैन? 
कांग्रेस सभापति शेरबहादुर देउवाजी, जसपा अध्यक्ष उपेन्द्रजीसँग कुरा भए पनि राष्ट्रपति चुनावको बारेमा कुनै छलफल भएको छैन। हामीले कुरै नगरेकोले के छ, थाहा भएन।

पछिल्लो दिन सभामुख र उपसभामुखको चुनावमा बनेको समीकरण हेर्दा कांग्रेस, लोसपा र एकीकृत समाजवादी एकैठाउँ देखियो। फेरि यहाँहरु माओवादी केन्द्र, जसपासँग एकताको प्रयास गरिरहनु भएको छ, यसले के संकेत गर्न खोजेको हो? 
अब हेर्नुस् यस्तो समीकरण बन्ला आदि इत्यादि भन्ने अनुमानका कुरा हुन्छन्। त्यो भयो भने सरकारमा अस्थिरता पैदा हुन्छ। यस्ता कुरा बोलेर पनि हिँड्नु हुँदैन। हाम्रो बानी के छ भन्दा सबैभन्दा पहिले बोल्ने, त्यसपछि सबैकुरा आफू नै अगाडि बढेर भविष्यद्रष्टा भएको देखाउने, जम्मै कुरा बाहिर ल्याइदिने छताछुल्ल पार्ने, मान्छेको दिमाग बिगार्दिने। यस्तो कुरा गर्नु हुँदैन। खुरुखुरु आफ्नो काममा जाने हो। अहिले हामी पार्टी बलियो बनाउने काममा जुट्न लाग्या छौँ। पार्टी बलियो बनाउन आफ्नो संगठनको योजना बनाउँछौँ। योजनाअनुसार गाउँगाउँ, जिल्लाजिल्ला, प्रदेश प्रदेशमा जान्छौँ।

माओवादी–जसपासँग पार्टी एकतामा नामले पनि समस्या परेको हो?
हामीले उहिले नै माओवादीका साथीहरुलाई भनिसकेका छौँ, माओवादी नाममा जान सक्दैनौँ। माओवाद भन्ने सिद्धान्तलाई मानेर जान सक्दैनौँ। निर्वाचन चिह्न पनि त्यो ढंगले मानेर जान सक्दैनौँ। अरु कुरामा हाम्रा सहमति–विमति के छन् बसेर छलफल गरौँ। छलफलमा बस्दा मनोविज्ञान के छ? त्यो पनि हेरौँ। यी सबै र वार्ताको काम सँगैसँगै गर्दै जाउँ। मिलाउनुपर्ने कुरा मिलाउँदै जाउँ र कति भयो, कति भएन, व्यवहारमा कहाँकहाँ त्रुटि भए भएनन्, त्यो हेर्नुपर्छ। किनभने हामीले एकता गरेर मात्र हुँदैन। सिंगै पार्टी पंक्ति तयार हुनुपर्दछ। सिंगो पार्टी पंक्तिको धारणालाई हामीले सुन्ने, रक्षा र संरक्षण गर्नुपर्छ। हामीसँग जोडिएका कार्यकर्ताको संरक्षण गर्ने जिम्मेवारी हाम्रो हो।

माओवादी अध्यक्ष प्रचण्डले तपाईंलाई नसोधी नयाँ गठबन्धन बनाएपछि तपाईंले अलि चित्त दुखाउनुभएको हो?
निश्चित रुपमा चित्त दुखेको छ। मान्छेले जहिले पनि सबै कुरा सोचेर चाल्नुपर्दछ। सोचेर कदम चालेन भने सुरुमा त थाहा हुँदैन, खास बेलामा थाहा हुन्छ। त्यसबेला नोक्सान हुन्छ। त्यही भएर नेताहरुले जहिलेपनि विचार पुर्याएर चल्नुपर्छ।

सत्ता गठबन्धनको भविष्य कस्तो देख्नुहुन्छ?
यसको भविष्यवाणी अहिले गर्नुहुन्न भन्ने पक्षको मान्छे हुँ म। किनभने अहिले नै यसबारे बोल्न थालेपछि हाम्रा कुराहरु सबै बाहिर आइदिन्छ। बाहिर ल्याउन पर्छ कि पर्दैन सोच्नुपर्छ। यो विषय बाहिर ल्याउने होइन। हामी चाहन्छौँ, देश अगाडि बढोस्। मुलुकले विकास र प्रगतिको अवलम्बन गरोस्। भ्रष्टाचारबाट यो देशले मुक्ति पाओस्। नेपाली समाजले फड्को मार्न सकोस्। 

सरकारको आयुबारे तपाईको विश्लेषण के छ? 
उहाँहरुले भनिसक्नुभएको छ– पाँच वर्ष भनेर। पाँचै वर्ष चलाउनुस्, हामीलाई आतुरी केही पनि छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .