अन्तर्वार्ता


प्रेमको ८० प्रतिशत शरीर जलेको थियो, तातो हावा र धुवाँ निलेकाले मृत्यु भयो : डा. किरण नकर्मी (भिडिओ वार्ता)

‘जलन धेरैजसो गरिबलाई नै हुन्छ, नि:शुल्क उपचार गर्न पाए राम्रो हुन्थ्यो’
प्रेमको ८० प्रतिशत शरीर जलेको थियो, तातो हावा र धुवाँ निलेकाले मृत्यु भयो : डा. किरण नकर्मी (भिडिओ वार्ता)

कीर्तिपुरस्थित बर्न अस्पतालका बर्न, प्लास्टिक तथा रिकन्स्ट्रक्टिभ सर्जरी विभाग प्रमुख डा. किरण नकर्मी (फोटो/भिडिओ : सरोज नेपाल)


समृद्धा केसी
माघ १२, २०७९ बिहिबार ६:२३, काठमाडौँ

मंगलबार बानेश्वर संसद् भवनअगाडि आत्मदाह प्रयास गरेका इलामका प्रेमप्रसाद आचार्यलाई उपचारका लागि तत्कालै कीर्तिपुरस्थित बर्न अस्पताल पुर्याइएको थियो।

बुधबार बिहान त्यहीँ उनको निधन भयो। चिकित्सकहरुले उनको शरीर ८० प्रतिशत जलिसकेकाले बचाउन नसकिएको बताएका छन्। यो घटनासँगै जलनको उपचारबारे आम चासो बढेको छ।

जलनका बिरामीको प्राथमिक उपचार कसरी गर्ने, यस्ता बिरामीको उपचार कसरी हुन्छ, जलनको उपचार किन महंगो हुन्छजस्ता विषयमा हामीले कीर्तिपुरस्थित बर्न अस्पतालका बर्न, प्लास्टिक तथा रिकन्स्ट्रक्टिभ सर्जरी विभाग प्रमुख डा. किरण नकर्मीसँग कुराकानी गरेका छौँः

यस अस्पतालमा जलनका घाइतेहरु कति आउँछन्? 
जलनका बिरामी ओपीडीभन्दा पनि आकस्मिक कक्षमा बढी आउने गर्छन्। अस्पतालको तथ्यांकअनुसार हरेक वर्ष लगभग ६ सय ६० जना भर्ना हुन्छन्। भर्ना गर्नुपर्ने बिरामीको अवस्था अत्यन्त गम्भीर हुन्छ।ओपीडीबाट आउने बिरामीको तथ्यांक अस्पतालले राख्ने गर्दैन। आकस्मिक कक्षबाट भर्ना हुनु पर्ने बिरामीको तथ्यांक मात्र हामीसँग हुन्छ। २०१८ देखि यस अस्पतालमा वार्षिक ६ सयभन्दा बढी बिरामी नै भर्ना भइरहेका छन्।

अस्पताल आउने जलनका घाइतेहरुको प्रकृति कस्तो हुन्छ?

प्रकृतिको कुरा गर्दा विशेष गरेर आगोले पोलेर आउनेहरु हो। आगोले पोलेर आउने घटनाहरु ६० प्रतिशत छ। दोस्रो भनेको तातो झोलले पोल्ने जस्तो तेल, पानी, भैँसीलाई पकाएको कुँडो, चिया र दालले पोल्ने घटना २० प्रतिशत रहेको छ। त्यो बाहेक विद्युतीय जलन, तारहरु छोएर हुने घटना १२ प्रतिशत छ। र, अरु अन्य (रसायन जलन) घटनामा पर्छन्।

अस्पतालमा आउने घाइतेहरु बढी काठमाडौंभित्रकै हुन् वा अन्य जिल्लाका? 
अस्पताल आउने घाइतेहरु काठमाडौंका निकै कम छन्। जम्मा ८ प्रतिशत मात्र काठमाडौंका हुन्। ९२ प्रतिशत देशका विभिन्न ठाउँबाट आउँछन्। हामीले सबै जिल्लाका बिरामीहरु भर्ना गरिसकेका छौं। त्यति मात्र नभएर नेपालनजिक पर्ने भारतका नागरिकहरु पनि थुप्रै आउँछन्। 

जलनमा परेका कति प्रतिशत जलेका बिरामीलाई बचाउन सकिन्छ? 
जलनलाई गम्भीर र सामान्य गरेर दुई भागमा छुट्याउँछौँ। सरदरमा १५ प्रतिशतभन्दा माथि जल्यो भने त्यसलाई गम्भीर जलन भनिन्छ। यसमा पोलेको ठाउँमाबाहेक अन्त पनि असर देखिन्छ। मुटु, फोक्सो, दिमाग र आन्द्रामा पनि जलनको नराम्रो असर देखिन्छ। त्यस्तोलाई गम्भीर जलन भनिन्छ। 

१५ प्रतिशतभन्दा कम जलेको छ भने त्यसलाई सामान्य जलन भनिन्छ। जसमा पोलेको ठाउँमा मात्र असर हुन्छ। 

१५ प्रतिशतभन्दा माथि जलेका बिरामीहरुलाई अस्पतालमा भर्ना गर्नैपर्ने हुन्छ। उनीहरुलाई पहिलो २४ घण्टामा यथेष्ट सलाइन अथवा पुनर्जलीय उपचार दिनु पर्छ। र, त्यसैगरी हरेक एक घण्टामा पिसाबको निगरानी गर्नु पर्छ। पिसाब आएको छ कि छैन, उनीहरुलाई पानीको मात्रा पुगेको छ कि छैन, भनेर २४ घण्टासम्म हेर्नु पर्ने हुन्छ। त्यसैगरी घाउ गम्भीर छ भने त्यसलाई खुर्केर बिरामीको आफ्नै छाला काटेर प्रत्यारोपण गर्नु पर्ने हुन्छ। 

२०२२ को तथ्यांक हेर्दा अस्पताल भर्ना भएकाहरु मध्ये २४ प्रतिशतलाई हामीले बचाउन सकेनौँ। २०१४ देखि हेर्दा मृत्युदर २० देखि २४ प्रतिशतको बीचमा छ। 

जलनमा परेको कस्तो अवस्थामा भर्ना गर्नै पर्छ? 
अनुहार, हात, जोर्नी, ज्ञानेन्द्रीयहरु जल्यो भने भर्ना गर्नैपर्छ। किनभने यसको उपचार गम्भीर भएकाले जहाँ पायो त्यहीँ उपचार हुन सक्दैन। जलन केन्द्रमै उपचार गर्नु पर्छ।

गम्भीर जलन हुनेबित्तिकै त्यसले भित्री अङ्गहरुलाई पनि असर गर्छ। शरीरमा पानी नपुगेर रक्तसञ्चारमा असर गर्छ र बिस्तारै शरीरका मुख्य–मुख्य अङ्गहरुले काम नगर्ने हुन्छ। 

जलनमा परेर विषालु ग्यास फोक्सोमा गयो भने मृत्युको खतरा एकदमै बढी हुने भएकाले भर्ना नै गर्नु पर्ने हुन्छ। हिजो जलनमा परेका प्रेमप्रसाद आचार्यको पनि शंका त्यही गरेका छौँ।

आगोको लप्का श्वासनली हुँदै फोक्सोमा पुगेर पनि मृत्युदर बढाएको हुन सक्छ। विद्युतीय जलनमा परेकाहरु जति प्रतिशत जले पनि भर्ना गर्नैपर्ने हुन्छ। किनभने विद्युतीय जलनले मुटुमा एकदमै बढी असर गर्छ। २४ घण्टा निगरानीमा राखेर इसीजी गरेर ठिक छ भने मात्र घर पठाउनु पर्छ। 

त्यस्तै रसायन जलनमा परेकालाई पनि अस्पतालमा भर्ना गर्नै पर्छ। नेपाल सरकारले देशभरका चार वटा अस्पताललाई अरुले जानजान गराएको रसायन जलनको उपचार निशुल्क गराएको छ। त्यो मध्ये कीर्तिपुर अस्पताल पनि एक हो। 

भिडिओ:

कुनै पनि व्यक्तिलाई आगो लाग्नेबित्तिकै प्राथमिक उपचार कसरी गर्ने? 
कसैलाई आगो लागिरहेको छ भने सुरुमा त त्यसलाई निभाउनु पर्छ। आगो निभाउँदा बाक्लो कम्बलले आगो निभाउनु पर्छ। जिउमा भएको सबै लुगा र गहना खोलिदिनु पर्छ। किनभने गहना र लुगामा पनि तातो हुन्छ। छालामा तातो जति समय सम्म बस्छ, त्यति नै गहिरो घाउ हुने भएकाले सबै निकाल्नु पर्छ। 

आगोले पोलेको घाउलाई आधा घण्टा बगिरहेको पानीले चिस्याउनु पर्छ। त्यो गर्दा तातोपना छालाभित्र गड्न पाउँदैन र घाउ गहिरो हुन पाउँदैन। त्यसको लागि धाराको पानी सबै भन्दा राम्रो हुन्छ। यो विधि अपनाउने भनेको पोल्नेबितिकै हो। तीन घण्टा पछाडि गर्यो भने यसको असर हुँदैन। अस्पताल जानु अगाडि नै यो गर्नुपर्ने हुन्छ। 

अस्पतालको नजिकै हुनुहुन्छ भने पखालिसकेको घाउलाई सफा कपडा अथवा प्लास्टिकले छोपेर अस्पताल ल्याउन सक्नु हुन्छ। यदि अस्पताल टाढा छ र धेरै पोलेको छ भने जीवनजल खुवाउँदै लैजानु पर्छ। घाउलाई छोप्ने र मलम पनि लगाउन सकिन्छ। 

जलनको उपचार निकै महंगो हुन्छ भनिन्छ, खासमा के हो? 
जलनको उपचार नेपालमा मात्र नभएर संसारभर नै महंगो हो। किनभने बिरामीहरुको घाउ निकै ठुल्ठूलो हुन्छ जसलाई ड्रेसिङ गर्दा पनि सामान धेरै लाग्छ। बिरामी अस्पतालमा धेरै बस्नु पर्छ। र, सामान्यरुपमा भन्नु पर्दा हाम्रो बेडको शुल्क थोरै छ तर महिनौँ बस्दा पैसा धेरै आउँछ। नेपालमा बर्नको एक मात्र आईसीयू हामीकहाँ छ। त्यो आईसीयूमा एक दिन बस्यो भने जम्मा २५ सय मात्र लाग्छ। नेपालमा २५ सयको आईसीयू कहीँ पनि भेट्नुहुन्न। तर बिरामीहरु महिनौँ बस्दा जति नै सस्तो भए पनि त्यो धेरै नै हुन्छ। 

बिरामीहरुको अर्को खर्च भनेको कडाकडा एन्टिबायोटिक खानु पर्छ। जुन एकै दिनमा पाँच–छ हजारसम्मको खानु पर्छ। ठूलो घाउ छ भने त्यसलाई एकै पटक अप्रेसन गर्न मिल्दैन। एउटा बर्नको बिरामीलाई पाँच–छ वटा अप्रेसन गर्नुपर्छ। अप्रेसन आफैँमा महंगो छैन तर त्यसमा लाग्ने औषधिहरु बिरामीले किन्नुपर्ने भएकाले त्यो महंगो पर्छ। जलन धेरैजसो गरिबलाई नै हुन्छ तर यसको उपचार खर्च निकै महंगो पर्ने भएकाले सबैलाई समस्या परेको छ। 

सरकारले विभिन्न रोगको उपचारमा स्वास्थ्य बीमाको पनि व्यवस्था गरेको छ। जलनको उपचार सेवामा सरकारसँग कस्तो अपेक्षा राख्नुहुन्छ?
सरकारले स्वास्थ्य बीमामा विभिन्न रोगको उपचारलाई समावेश गरेको छ तर जलन उपचारलाई राखेको छैन। सरकारलाई पनि गाह्रो त गाह्रो नै छ। एकदुई लाखले पुग्दैन। समान्यतः सुरुवाती चरणदेखि २०–३० प्रतिशत जलनको पूर्ण उपचार खर्च चार–पाँच लाखसम्म लाग्ने भएकाले यसलाई बीमाले पनि धान्दैन। सरकारले सबै पैसा बिरामीलाई देओस् हामी भन्दैनौँ। 

त्यसैले पनि सरकारसँग के अपेक्षा हो भने पर्याप्त शय्या होस्। एउटा सय शय्याको अस्पतालमा ५०–६० वटा त बर्नकै बिरामी भएकाले यहाँ काम गर्न निकै अप्ठेरो छ। अहिलेसम्म कुनै पनि जलनका बिरामीलाई बेड नभएर फर्काउन नपरोस् भनेर काम गरिरहेका छौँ। तर शय्याहरु नभएपछि त हामीलाई गाह्रो पर्छ। यस कारणले हामीले नयाँ पाँच तल्लाको भवनको संरचना परिकल्पना गरेका छौँ। त्यो भयो भने यहाँ ठाउँ जति पनि हुन्छ।

प्रविधिको लागि खर्च चाहिन्छ, त्यसको लागि सरकारले हेरिदेओस् भन्ने छ। त्यस्तै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरबाट कोषको स्थापना भयो भने हरेक बिरामीलाई बिना सिफारिस वा कुनै कागज बिना निशुल्क उपचार गर्न पायो भने एकदम राम्रो हुने थियो भन्ने हामीलाई लाग्छ। 

अहिले नेपालमा पनि धेरै रोगको धेरै वटा अस्पताल बनिसकेको छ। त्यो पनि आवश्यक नै छ तर जलनका लागि हाम्रोभन्दा राम्रो एउटा अस्पताल बन्दिए हुन्थ्यो। अथवा हामी यही अस्पतालाई पनि अपग्रेड गर्न सक्छौँ। यहाँ मानवस्रोत साधनको कमी छैन। हामी नौ जना प्लास्टिक सर्जन छौँ। त्यसकारण पनि हामीसँग काम गर्ने मावनस्रोत साधन जति पनि छ तर यहाँ भौतिक संरचना र आर्थिक समस्या अलिकति छ। सरकारले अहिले पनि हामीलाई केही मद्दत गरेको छ। रासायनिक जलनको उपचार यहाँ सबै निशुल्क गरिदिएको छ। 

एसिड आक्रमणमा परी आउने घाइते कत्तिको छन्? 
एसिड अट्याकबाट घाइते हुनेहरु वर्षमा एक दुई जनाभन्दा बढी आउँदैनन्। आफैँ काम गर्दा एसिड परेकाहरुलाई सरकारले सहयोग गर्दैन तर अरुले दुर्घटना वा नियतवश एसिड अट्याकमा परेकाहरुलाई भने सरकारले सहयोग गर्छ। एसिड बर्न हुँदा धेरै गहिरो घाउ हुदैन र भाग्यबस धेरैलाई बचाउन सकिन्छ। 

जलनमा परेका बिरामीहरुको उपचार गर्दागर्दै चिकित्सक नै तनावमा हुन्छन् होला, त्यसलाई कसरी व्यवस्थापन गर्नु हुन्छ? 
विदेशतिर के चलन छ भने जलनमा काम गर्ने डाक्टर र ट्रमामा हुने डाक्टरहरुले एउटै काम गर्दा तनाव हुने भएकाले उनीहरु हप्ता दिनमा काम एकअर्कामा बाँडिरहन्छन्। हाम्रोमा पनि लगभग त्यस्तै नै गरेका छौँ, दुई वटा टिम बनाएर। एउटा टिमले एक हप्ता बर्नको अप्रेसन गर्छ अर्को टिमले ओपीडी र राउन्ड गर्ने गर्छौं र यो हरेक हप्तामा साट्छौँ। 

हामीलाई बिरामीको पीडाको मात्र तनाव छैन। हामीलाई खास पीडा के छ भने हरेक चार–पाँच दिनमा उपचार खर्च तिर्न नसकेर रुँदै कराउँदै खुट्टा ढोक्न पनि आउनु हुन्छ। मलाई त त्यो तनाव ठूलो लाग्छ। किन भन्दा हामीले गर्न सक्ने कुरा पनि पैसा नभएकाले गर्न सकिरहेका हुन्नौँ। हामीले आन्तरिक, बाह्य स्रोतबाट पैसा जम्मा गरेर कतिपय अप्रेसनहरु निशुल्क पनि गरिदिएका छौं। तर जति माग छ, त्यो अनुसार गर्न सकेका छैनौं। त्यसका लागि हाम्रो प्रयास जारी छ। 

यस अस्पतालमा उपचाररत प्रेमप्रसादको मृत्यु भयो, उनको अवस्था कस्तो थियो? कतिपयले बोल्दा बोल्दै पनि मृत्यु भयो भन्दै छन्।  
उहाँको शरीर धेरै जलिसकेको थियो। ८० प्रतिशत शरीर जलिसकेको थियो। त्यो भनेको एकदमै धेरै हो। यो अवस्थामा आएका व्यक्तिलाई कुनै पनि हालतमा बचाउन सकिँदैन। 

त्यसमाथि उहाँले तातो हावा र धुवाँ निल्नु भएको कारणले गर्दा पनि उहाँको मृत्यु भयो। बोल्दाबोल्दै मृत्यु भयो भनियो, कतिपय अवस्थामा यस्तो हुन्छ। जलनमा मात्र नभएर अन्य रोग लागेकाहरुमा पनि यस्तो हुन्छ। ९० प्रतिशत जलेको व्यक्ति पनि हामीले बोल्दाबोल्दै मृत्यु भएको देखेका छौं। यो समान्य नै हो। 

जलनका घटनाहरु नदोहोरिउन् भन्नका लागि के सुझाव दिनु हुन्छ? 
जलनका घटनाहरु नहुन् भन्नका लागि त सावधानी नै अपनाउनु पर्छ। विश्व स्वास्थ्य संगठनका अनुसार ८० प्रतिशत जलनका घटनाहरु हामीले रोकथाम गर्न सक्छौँ। यो चाहिँ कसरी भनेको हो भने ४५ वर्षअगाडि विकसित देशहरुमा पनि हाम्रोजस्तै धेरै जलनका घटनाहरु हुन्थे। अहिले संसारभर एक करोड १० लाख मानिस जल्छन्। तीमध्ये ९५ प्रतिशत घटना हाम्रोजस्तो विकासशील राष्ट्रमा हुन्छ। पाँच प्रतिशत मात्र विकसित देशमा हुन्छ। उनीहरुले यो रोकथाम गरेरै भएको हो। 

खाना पकाउँदा, पकाउने ठाउँ तल नराख्ने अग्लोमा राख्ने, पकाउँदा खुल्ला कपडाहरु नलगाउने, नाइलनको कपडा नलगाउने, कपाल खुल्ला नराख्ने, खाना पकाइसकेपछि आगो निभाउने, छारे रोग लागेकाहरुलाई आगोको छेउमा एक्लै नछोड्ने र बालबालिका, बुढाबुढीलाई पनि एक्लै नछोड्ने, ग्यास लिक भएको छ कि भनेर जाँच गर्ने, रेगुलेटर बन्द गर्ने गर्दा धेरै जलनका घटना कम गर्न सक्छौँ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .