ad ad

अन्तर्वार्ता


सीमा समस्या समाधान गर्न मोदी तयार हुनु ठूलो उपलब्धि हो : परराष्ट्रमन्त्री साउद (अन्तर्वार्ता)

सीमा समस्या समाधान गर्न मोदी तयार हुनु ठूलो उपलब्धि हो : परराष्ट्रमन्त्री साउद (अन्तर्वार्ता)

चन्द्रलाल गिरी
जेठ १९, २०८० शुक्रबार १४:४०, नयाँदिल्ली

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका एक सारथि हुन् परराष्ट्रमन्त्री एनपी साउद। दाहालको भ्रमणमा नेपाल र भारतबीच व्यापार, कनेक्टिभिटी र दुवै देशका जनतालाई लक्षित गरेर केही महत्वपूर्ण समझदारी र सहमति भएका छन्। प्रधानमन्त्रीको भारत भ्रमण चलिरहेका बेला नयाँदिल्लीको होटल मौर्यमा नेपालखबरले मन्त्री साउदसँग गरेको कुराकानी:

प्रधानमन्त्रीको यो भ्रमणलाई कसरी मूल्याङ्कन गर्नु हुन्छ?
नेपाल-भारत सम्बन्ध हरेक प्रकारले हेर्दा ऐतिहासिक र बहुआयामिक रहिआएको छ। दुवै देशको सम्बन्धलाई थप सुदृढ बनाउन यो भ्रमण फलदायी बनेको छ। ऊर्जा निर्यातका क्षेत्रमा १० वर्षमा १० हजार मेगावाट विद्युत् भारतले किन्ने महत्वपूर्ण समझदारी बनेको छ। यो नेपालका लागि अवसर र चुनौती दुवै हुनेछ। यसले विदेशी लगानी नेपालमा भित्रिने छ। यसका साथै भारतले बंगलादेशसँग विद्युत् निर्यातका लागि आफ्नो ग्रिड दिने भएको छ। यसका लागि बंगलादेशसँग पनि सझदारीको ड्राफ्ट हुँदैछ। 

हामीले पारवहन सन्धिको पुनरवलोकन गरेका छौं। कनेक्टिभिटीका क्षेत्रमा सीमापार ट्रान्समिसन लाइन, रेलमार्ग, महाकाली नदीमा पुल निर्माणजस्ता परियोजनामा समझदारी बनेको छ। व्यापार सहज बनाउन भन्सारमा संयुक्त चेक पोष्ट, ‘डिजिटल पे’ जस्ता विषय यो पटक दुईपक्षीय समझदारीमा समावेश भए।  

सबैभन्दा ठूलो उपलब्धि के हो त, उसो भए?
सबैभन्दा ठूलो उपलब्धि त विद्युत् व्यापार समझदारी नै हो। यसलाई ‘ब्रेक थ्रु’ पनि भन्न मिल्छ। सन् २०१९ देखि नै नेपाल–भारत पारवहन सन्धि भएको थिएन। अर्कोतिर नेपाल–भारत सम्बन्ध भावनात्मक रुपमा पनि सही ढंगले बढ्न जरुरी थियो। विश्वासको वातवरण बनाउन जरुरी थियो। त्यसअर्थमा पनि यो भ्रमण उपलब्धिमूलक रह्यो। 

अर्कातिर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैँले सदियौँदेखि समस्यामा रहेको सीमा विवाद समाधान गर्ने विषयमा बोल्नुभयो। यसले विगतको गतिरोध समाधानतिर लैजान भूमिका खेलेको छ। 

कालापानी क्षेत्र समेटेर नेपालले नयाँ नक्सा जारी गरेपछि चिसिएको सम्बन्ध सुधार्न यसले त्यस्तो के भूमिका खेल्ला?
यो भ्रमणमा भारतीय प्रधानमन्त्री र हाम्रा प्रधानमन्त्रीबीच सीमा समस्याबारे जसरी छलफल भयो, त्यो निकै महत्वपूर्ण सुरुवात हो। यसले समस्या पहिचान गरेको छ। थप छलफल गर्दै समस्या समाधान गर्न मोदी तयार हुनु भनेको महत्वपूर्ण सुरुवात हो।

हवाई रुट अनुमति, इपीजीको प्रतिवेदन र पञ्चेश्वरजस्ता विषयवस्तु त ओझेलमा परेको देखियो नि?
पञ्चेश्वरमा तीन महिनाभित्र डीपीआर टुंगो लगाएर परियोजना अगाडि बढाउने कुरा आएकै छ। ईपीजी प्रतिवेदनबारे दुवै देशका सरकारहरु सहमतिमा पुगेपछि मात्रै यो कुरा अघि बढ्छ। हवाई रुट अनुमतिमा पनि सकारात्मक छलफल भएको छ। भारतले आइएलपी (इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम) भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालन गर्न भारतले सहमति दिएको छ। हवाई रुट अनुमतिबारे नेपालले आफ्नो चासो स्पष्ट राखेको छ। अरु असहमतिका विषय क्रमशः छलफल गर्दै समाधान हुनेछन्। एकैपटक सबै समस्या त कहाँ हल हुन्छ र?

भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभालसँगको वार्तामा विद्युत् व्यापार र अन्य विषयमा समझदारीबारे कुरा मिलेको थिएन। कसरी एकाएक मोदीसँगको वार्ताबाट यस्तो परिणाम आउन सक्यो?
सम्मानीय प्रधानमन्त्री प्रचण्डले सहमतिमा पुग्नका लागि आफ्नो तहबाट निकै प्रयास र मेहनत गर्नुभयो। हाम्रो वार्ता टोली पनि निरन्तर संवादमा थियो। उता भारत पनि हाम्रो सम्बन्ध सामान्य अवस्थाबाट माथिल्लो अवस्थामा पुर्‍याउन चाहन्थ्यो।

भारतीय पक्षको मुख्य चासो चाहिँ के थियो नि?
भारतको मुख्य चासो भनेको नेपालसँगकोे सम्बन्ध अरु कसैसँग पनि तुलना हुन सक्दैन। यसमा अवरोध हुनु हुँदैन भन्ने छ। नेपालसँगको सम्बन्धमा थप आत्मीयतासहित प्रगाढता बढ्दै जाओस् भन्ने उसको चासो हो। सहकार्य बढाउँदै जानुपर्दछ भन्ने नै भारतीय पक्षको जोड थियो। 

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणबारे थप सामाग्री :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .