ad ad

अन्तर्वार्ता


कर्णालीका मुख्यमन्त्री शर्मा भन्छन्- विश्वासको मत लिन्छु, अरु कुरा पछि गरौँला (अन्तर्वार्ता)

कर्णालीका मुख्यमन्त्री शर्मा भन्छन्- विश्वासको मत लिन्छु, अरु कुरा पछि गरौँला (अन्तर्वार्ता)

फाइल तस्बिर


सागर न्यौपाने
चैत २०, २०८० मंगलबार १९:४९, काठमाडौँ

कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपा एमालेलाई दिने विषयले नेकपा माओवादी केन्द्रभित्र असन्तुष्टि चुलिएको छ। प्रदेश सरकारको नेतृत्व एमालेलाई छाड्ने गरी केन्द्रमा भएको गठबन्धनको सहमति तत्कालै कार्यान्वयन नगर्ने अडानमा मुख्यमन्त्री राजकुमार शर्मा देखिएका छन्। शर्मा माओवादी नेता हुन्। उनले पहिला प्रदेश सभाबाट विश्वासको मत लिने र त्यसपछि मात्रै राजीनामा दिने प्रस्ताव गठबन्धन घटक एमालेसमक्ष राखेका छन्।

शर्माको प्रस्तावमा एमाले अझै विश्वस्त हुन सकेको छैन। उसले केन्द्रमा जुटेको सहमतिअनुसार शर्मालाई पहिला राजीनामा दिन सुझाएको छ।

सोमबार केन्द्रमा सत्ता गठबन्धनबीच सातै प्रदेश सरकारको नेतृत्वबारे सहमति जुटेको बताइएको छ। जसअनुसार, कर्णालीमा माओवादीले सरकारको नेतृत्व छाड्ने र एमालेले लिने भनिएको छ। 

गठबन्धनमा सहमति भएलगत्तै प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डले कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्ललाई टेलिफोन गरेर तत्काल एमालेलाई सरकारको नेतृत्व सुम्पिन निर्देशन दिएका थिए। 

कर्णालीको नेतृत्व एमालेलाई दिने निर्णयप्रति मुख्यमन्त्री शर्मा रुष्ट छन्। यसअघि माओवादी उपमहासचिव जनार्दन शर्माले पनि पार्टी बैठकमै कर्णालीको नेतृत्व छाड्ने विषयमा असन्तुष्टि जनाएका थिए।

प्रधानमन्त्री प्रचण्डले कर्णालीको समस्या समाधान गर्न प्रदेश इन्चार्ज मल्ल र पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई सुर्खेत पठाएका छन्। 

मंगलबार दिनभर एमाले–माओवादीका माथिल्लो तहका नेताबीच पटकपटक भएको छलफलमा शर्माले अडान नछाडेपछि बैठक निष्कर्षविहीन भएको छ। उता विश्वासको मतका लागि डाकिएको प्रदेश सभा बैठक पनि बस्दै नबसी बुधबार सारिएको छ।

प्रदेश सभाबाट विश्वासको मत पाए मात्रै केन्द्रीय सहमति पालना गर्न तयार रहेको शर्माले बताइरहेका छन्। माओवादीको प्रदेश संसदीय दलको बैठकले पनि पहिला विश्वासको मत लिइसकेपछि मात्र राजीनामा दिने निर्णय गरेको छ।

कर्णालीमा विकसित घटनाक्रमले माओवादीमा मात्रै होइन, फागुन २१ गते बनेको केन्द्रीय गठबन्धनमै समस्या ल्याउने चिन्ता प्रचण्डलाई छ। 

यसै सेरोफेरोमा कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मासँग नेपालखबरले संक्षिप्त कुराकानी गरेको छ।

तपाईंकै कारण कर्णालीको राजनीतिले केन्द्रमा समेत तनाव दियो भन्छन्, आज दिनभर केके भयो? 
केही भएको छैन, छलफल चलिरहेको छ। कसरी जाने, के गर्ने भन्नेबारे दुई दल (एमाले-माओवादी)बीच छलफल भइरहेको छ।

विश्वासको मत लिएर केही दिनभित्र राजीनामा दिन्छु भनेर तपाईंले प्रस्ताव राख्नुभएको रहेछ नि?
राजीनामा भन्दा पनि विश्वासको मत माग्या छु, विश्वासको मत दिनुस् अनि सल्लाह गरेर जाउँला भनेको हो। 

सरकारको नेतृत्व छाड्न ३ दिन समय तोक्नुभएको सुनियो। लिखित सहमति गरौँ भन्दा एमालेका नेताहरूले के भन्नुभयो? 
दिनको कुरा भन्दा पनि राजीनामा दिने कुरा केन्द्रीय नीतिलाई सिर्जनात्मक ढंगले लागू गर्न खोजेको हो। केन्द्रमा बनेको सहमति कार्यान्वयन नगर्ने भन्ने होइन, तर हाम्रो विशिष्टतामा लागू गरौँ, हाम्रो सापेक्षतामा अघि बढौँ, अलिकति वरपर, तलमाथि। केही दिनले खास ठूलो फरक पार्दैन भनेर छलफलका क्रममा भनेको हो।

तर उहाँहरूसँग कुरा मिलिसकेको छैन। 

यही विषयमा प्रधानमन्त्रीसँग आज तपाईंको कुरा भयो त?
प्रधानमन्त्रीसँग मेरो टेलिफोन वार्ता भएको छैन। सबै कुरा इन्चार्जमार्फत आउँछ। इन्चार्ज हाम्रो कालीबहादुर मल्ल हुनुहुन्छ। आउने पनि उहाँमार्फत नै हो, जाने पनि उहाँमार्फत नै हो।

बैठक भोलिसम्मलाई स्थगित भएको छ, तपाईं विश्वासको मत लिनबाट पछि नहट्ने नै हो त?
विश्वासको मत अब भोलि लिन्छु। अरु कुरामा छलफल भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .