मंसिर १६ गते सम्पन्न उपचुनाव नतिजाले नेपाली कांग्रेसलाई घाटा लागेको छ। ३१ महिनाअघि जितेका २ पालिका अध्यक्ष, १ नगरपलिका उपप्रमुख र ३ पालिका उपाध्यक्ष गुमाएको कांग्रेसले ८ वटा वडा समेत जोगाउन सकेन।
यद्यपि, उपचुनाव भएको मध्ये काठमाडौँको कीर्तिपुर नगरप्रमुख जोगाउन सफल भएको छ।
उपचुनाव भएकामा ४४ स्थानीय तहमध्ये कांग्रेसले जितेका मात्र २६ थिए। तर, उसले १९ तह मात्र जोगाएको छ। उपचुनावबाट नेकपा माआवादी केन्द्र हौसिएको छ। एमालेले प्रतिक्रिया जनाइसकेको छैन।
कांग्रेसले उपचुनावको नतिजालाई कसरी लिएको छ त? केन्द्रीय सदस्य एवं प्रवक्ता डा. प्रकाशशरण महतसँग नेपालखबरले गरेको संक्षिप्त संवादः
उपचुनावमा कांग्रेसले केही महत्त्वपूर्ण स्थान किन गुमायो भनेर समीक्षा गर्नुभयो?
उपचुनावमा समग्रमा राम्रै भएको छ। स्थानीय निर्वाचनमा उम्मेदवार, प्रचारशैली विभिन्न कारकले भूमिका खेल्छन्।
सत्तामा भइसकेपछि काम गर्न सकेका, नसकेका कुरा पनि उठ्छन्। गर्न सके राम्रै हुन्छ, नगरेको भए मतदाता नकारात्मक हुन्छन्। तर, समग्रमा नेपाली कांग्रेस एक नम्बरमै छ।
अझै राम्रो हुनुपर्थ्यो भन्ने लाग्नु स्वाभाविक हो, तर खराब भयो भन्ने अवस्था छैन।
तर, त्यत्रा पालिका हार्नुभयो?
कहाँ–कहाँ खाली भयो भन्ने कुराले पनि हुन्छ। कसको स्वभाव के भन्ने पनि हुन्छ। तर, यसैले ठ्याक्कै प्रक्षेपण गर्न सकिन्न। तर, कहाँ के भयो? किन भयो? यसमा मूल्यांकन त हुन्छ।
एक्लाएक्लै लड्दा त कांग्रेसलाई घाटा लाग्यो होइन त?
स्वाभाविक रूपमा गठबन्धन गर्दा दुईतीन पार्टीको भोट जोडिने भयो। त्यही भएर परिणाम त राम्रो आइहाल्छ। अपवादबाहेक जसले गठबन्धन गर्छन्, उसलाई फाइदा हुन्छ। अलग–अलग लड्दा त आफ्नै मतका आधारमा नतिजा पाइन्छ। परिणामको रूपमा हेर्दा गठबन्धन गर्दा जितिन्छ। गठबन्धनका आफ्नै फाइदा पनि छन्। एक्लै हुँदा पार्टीगत रूपमा आफ्नै बलबुताले लड्नुपर्छ। जसले कहिलेकाहीँ परिणाम पक्षमा आउँदैन।
यसपटक गठबन्धन नभएकाले परिणाम बिग्रेको हो?
यो स्थानीय तह हो, विश्वका कतिपय मुलुकमा यस्ता तहमा धेरै राजनीतिकरण हुँदैन। तर, हाम्रोमा पार्टीगत रूपमा गरिराखेका छौँ। यसलाई धेरै घाटानाफाको हिसाबले हेर्नुहुन्न। म त स्थानीय निकायमा उपचुनाव हुने कुरा नै आवश्यक छैन भन्छु। जस्तो, पालिका प्रमुख वा नगरप्रमुख रहेन भने, उपप्रमुखले चलाए भयो। उपप्रमुख रहेन भने प्रमुखले चलाइहाल्छ।
वडाध्यक्ष रहेन भने वडाका सदस्यहरू ४ जना हुन्छन्, जो वरिष्ठ हुन्छ, उसैले चलाउने व्यवस्था गरे पनि हुन्छ। केही समयका लागि सीमित ठाउँमा उपनिर्वाचन भएपछि सारा शक्ति एकैतिर पुग्छ। त्यसले साधन, स्रोत अनेक किसिमले झन् महँगो हुने र त्यहाँ वडाले, पालिकाले जति बजेट खर्च गर्छ, त्यो भन्दा बढी चुनावमा खर्च हुने यसमा पनि पुनर्विचार गर्दा हुन्छ।
०८४ मा हुने चुनावको लागि खतराको घण्टी बजेको जस्तो लागेन?
यसले कुनै किटान गरेको त भन्न मिल्दैन, कुन ठाउँमा खाली भयो, त्यहाँ कसको प्रभाव क्षेत्र हो भन्नेले पनि निर्धारण गर्छ।
तैपनि केही न केही प्रवृत्ति कसको पक्षमा छ भन्ने त संकेत गर्छ नै। आउँदा दिनमा यसबाट आफ्नोआफ्नो पार्टीले मूल्यांकन गरेर रणनीति बनाउनुपर्छ भन्ने त देखायो।
आफूले जितेका ७ स्थानीय तह गुमाएको कांग्रेस अब कसरी अघि बढ्छ?
हाम्रै पक्षमा जनमत छ भन्ने त लोकप्रिय मतले देखायो। तर, अझै हामीले सशक्त ढंगबाट संगठन गर्नुपर्ने पाठ पनि सिकाएको छ। सत्तामा बसेर हामीले गरेका कामहरू बुझाउन नसक्दा केही ठाउँ हारेका छौँ, सुधार गर्नुपर्ने ठाउँमा सुधार गर्नुपर्छ र जनताप्रति केन्द्रित भएर काम गरिराख्नुपर्छ भन्ने सन्देश दिएको छ।
कांग्रेसले काठमाडौँ महानगरको १६ नम्बर वडा गुमायो, त्यो पनि रास्वपासँग, यसले दबाब दिएको छ होइन?
यस्तो हो, १६ नम्बर वडामा रास्वपा धेरै उत्साहित नभए हुन्छ। रास्वपाको अन्त कहीँ पनि प्रभाव देखिएन। कहिलेकाहीँ स्थानीय निर्वाचनमा स्वतन्त्र कोही उठिदियो भने पनि त्यहाँ अरु कोहीले जित्न सक्छ। त्यहाँ कुन उम्मेदवार भयो, कुन तत्वले काम गर्यो, त्यहाँ समुदायको कुरा आउँछ, महिला, पुरुषका कुरा आउँछ। कस्तो खालको उम्मेदवार। त्यस्तोले पनि भूमिका खेल्छ निर्वाचनमा।
त्यसकारण मलाई लाग्छ, १६ नम्बरमा रास्वपाले पाएको मतभन्दा पनि समुदाय र महिला लगायतका केही फ्याक्टरले मद्दत गरेको हो। यहाँ रास्वपालाई इन्डोर्स गरेर १६ नम्बर जितियो भनेर मूल्यांकन गर्नु उपयुक्त हुँदैन।
जाजरकोटको नलगाड गुमाउनुको कारण के हो त?
नलगाडमा विगतमा माओवादीले प्रमुख लिएर हामीले उपप्रमुख लिएका हौँ।
यसपालि माओवादीको पनि, हाम्रो पनि र एमालेको अलग अलग उम्मेदवार हुँदाखेरि पराजित भयौँ, तुलनात्मक रूपमा त्यहाँ माओवादी बलियो देखियो।
Shares

प्रतिक्रिया