ad ad

कर्णाली


कर्णाली प्रदेश अस्पताललाई शिक्षण अस्पताल बनाउन छलफल सुरु

कर्णाली प्रदेश अस्पताललाई शिक्षण अस्पताल बनाउन छलफल सुरु

दिनेश बुढा
असोज २, २०७९ आइतबार १८:५६, सुर्खेत

कर्णाली प्रदेश सरकारले प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा रहेको प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल)का रुपमा स्तरोन्नतिका लागि सरोकारवालाहरुसँग छलफल थालेको छ।

कर्णालीको सामाजिक विकास मन्त्रालयले अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्न चालू आर्थिक वर्षमा बजेट विनियोजन गरेसँगै आइतबार अस्पतालमै सरोकारवालासँग छलफल सुरु हो।  

प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा स्तरोन्नति गर्नका लागि भएको कार्यक्रममा कर्णाली प्रदेशमा आवश्यक दक्ष स्वास्थ्य जनशक्ति उत्पादनका लागि प्रतिष्ठान आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्। 

अस्पतालका निर्देशक प्राध्यापक डाक्टर डम्बर खड्काले पर्याप्त भौतिक पूर्वाधार, प्रयोगात्मक अभ्यासका लागि बिरामीको चाप, विभिन्न संकाय तत्काल सञ्चालन गर्न सक्ने दश जनशक्ति उपलब्ध भएकाले प्रतिष्ठानको रुपमा विकास गर्न सकिने प्रस्तुतिकरण गरेका थिए। 

प्रा.डा. खड्काले स्वास्थ्य तथा शिक्षा क्षेत्रको विस्तारका लागि प्रतिष्ठान जरुरी रहेको बताउँदै हरेक प्रदेश राजधानीमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भइसकेकाले कर्णाली प्रदेशमा पनि स्वास्थ्य क्षमता सुदृढीकरण गर्न, स्वास्थ्य अनुसन्धान गर्न प्रतिष्ठान आवश्यक रहेको बताए। 

निर्देशक डा. खड्काले भने, ‘चालू आर्थिक वर्षमा मिर्गौला प्रत्यारोपण सेवा, क्याथ ल्याब स्थापनाका साथै एमआरआई मेसिन जडान गर्ने लक्ष्य पनि अस्पतालले लिएको छ। आगामी तीन वर्षभित्र भवनको तला थपका लागि बहुवर्षे ठेक्का प्रक्रिया सुरु भएको, ५०० शय्याको अस्पताल सञ्चालन, बाल अस्पतालको निर्माण र सञ्चालन गर्ने योजना रहको अस्पतालले लिएको छ।’ 

यस्तै, छलफलमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा.डा. भगवान कोइरालाले प्रतिष्ठानलाई एमबीबीएस पढाउने फेसनमात्र बनाइन नहुने सुझाव दिएका थिए। अस्पताल प्रदेश सरकारको स्वामित्वमा भएपनि प्रतिष्ठान स्थापनाका क्रममा संघीय सरकारसँग समन्वय गर्दा भविष्यमा कानूनी बाधा भोग्न नपर्ने उनले सुझाव दिए।  

‘म केही वर्ष अगाडि यहीँ ठाउँमा आएको पनि थिएँ। अस्पताल पूरा भने थिएन। अहिले हेर्दा व्यवस्थित र सेवा प्रवाहमा राम्रो फड्को मारेको देख्दा खुसी लायो। हाम्रो भिजिटको उद्देश्य पनि यहाँको सेवा विस्तारको चरण हेर्ने, अवस्था हेर्न, र यसलाई कर्णाली प्रदेशमै पठन–पाठनको सम्भावनालाई रहेर कति हदसम्म विकसित गरेर लान सकिन्छ भन्ने नै हो’ कोइरालाले भने, ‘तर, कुनै पनि अस्पतालले दिने सेवा सुविधा क्लियर रुपमा राम्रो हुँदै गयो भने शिक्षण, प्रशिक्षण र पठन पाठन प्रक्रियाका लागि माहोल बन्दै जान्छ। त्यो दिशामा अस्पताल अगाडि बढेको देखिन्छ।’ 

साथै उनले निरन्तर रूपमा अस्पतालले गुणस्तरीय सेवा प्रदान गरेपछि जनताहरु सेवा लिनका लागि आफैँ आउने बताए। 

उनले भने, ‘गुणस्तरीय सेवा निरन्तर दिँदै जाने हो भने जनता आफैँ आउँछन्, जनतालाई अस्पतालको गुणस्तर पत्ता लगाउन केही समय लाग्छ। तर, गुणस्तरीय सेवा दिने अठोट रुपमा विस्तार र विकास गर्दै लाने नै ठूलो कुरा हो। बाँकी त तपसिलको कुरा हो।’

छलफलमा सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसीले प्रदेश सरकारले चालू आवमा अस्पताललाई प्रतिष्ठानको रुपमा विकास गर्न, अत्याधुनिक उपकरण, चिकित्सकीय सेवा सुविधा उपलब्ध गराउन रु. ५२ करोड ४५ लाख बजेट विनियोजन गरेको बताए। 

साथै मन्त्री बुढाक्षेत्रीले कर्णालीको स्वास्थ्य शिक्षाको विकासका लागि प्रतिष्ठान स्थापना गर्ने अवधारणा अघि सारेको र प्रदेश अस्पतालको स्तरोन्नति र प्रतिष्ठानको रुपमा विकास गरेर जटिल स्वास्थ्य समस्याको उपचारका लागि प्रदेश बाहिर जान नपर्ने गरी सेवा पनि बढाउने बाचा गरे।  

हाल ३२५ शय्याको अस्पतालमा ८२ डाक्टर, २०४ नर्ससहित ६४० कर्मचारी छन्। अस्पतालमा दैनिक औसत ४०५ बिरामी भर्ना हुने तथ्यांकक छ।  सुर्खेत जिल्लाको पुरानो सदरमुकाम गोठीकाँडामा वि.सं. २०१९ सालमा स्वास्थ्य केन्द्रको रुपमा स्थापना भई वि.सं. २०२४ सालमा सुर्खेत उपत्यकामा स्थानान्तरण हुँदै वि.सं. २०२९ सालमा १५ शय्या, २०४९ सालमा २५ शय्याको जिल्ला अस्पतालका रुपमा स्तरोन्नति भएको थियो। 

त्यस्तै, वि.सं. २०६२ फागुण ७ गते ५० शय्याको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल, २०७५ कात्तिक १३ गते प्रदेश अस्पतालका रुपमा रुपान्तरण भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .