‘पढ्नका लागि उमेरले कहिल्यै छेक्दैन’ भन्ने भनाइलाई कालीकोटका ५७ वर्षीय लक्ष्मीचन्द्र ढकालले व्यवहारमै प्रमाणित गरेका छन्।
ढकालले ५७ वर्षको उमेरमा माध्यमिक शिक्षा परीक्षा एसईई उत्तीर्ण गर्दै समाजमा प्रेरणादायी उदाहरण प्रस्तुत गरेका हुन्।
कालीकोटको तिलागुफा नगरपालिका–११ निवासी ढकालले २०८२ सालको एसईई परीक्षामा २.७९ जीपीए ल्याएका छन्।
उनले श्री राष्ट्रिय माध्यमिक विद्यालय, तिलागुफा–११, कालिकोटबाट परीक्षा उत्तीर्ण गरेका हुन्।
युवा अवस्थामा आर्थिक अभाव र पारिवारिक जिम्मेवारीका कारण पढाइलाई बीचमै रोक्न बाध्य भगका ढकालले समयसँगै आफ्ना सपना अधुरा बने पनि मनभित्रको पढ्ने चाहनालाई कहिल्यै नमरेको बताए।
‘छोराछोरीको उच्च शिक्षा पूरा भएपछि मैले फेरि आफ्नै अधुरो सपनालाई पछ्याउने निर्णय गरेँ’, उनले भने, ‘उमेर, समाजका विभिन्न धारणा र दैनिक संघर्षलाई चुनौती दिँदै पुनः विद्यालयको कक्षा कोठामा फर्किएँ।’
उनको यो सफलता व्यक्तिगत उपलब्धि मात्र नभई दुर्गम क्षेत्रका हजारौँ अभिभावक तथा युवाहरूका लागि आशा र प्रेरणाको स्रोत बनेको छ।
Shares

प्रतिक्रिया