कर्णाली


जब ‘शनिबार कुरा गरौंला’ भनेर फोन काटेका एक्ला छोराको दु:खद खबर आँगनमा पुग्यो

राजन भन्थे– विदेशमा बस्न मन छैन, लोकसेवा पढेर नाम निकाल्छु
जब ‘शनिबार कुरा गरौंला’ भनेर फोन काटेका एक्ला छोराको दु:खद खबर आँगनमा पुग्यो

दिनेश बुढा
असोज २४, २०८० बुधबार २१:१, सुर्खेत

पछिल्ला दिन नेपालीका लागि इजरायल आकर्षक गन्तव्य बन्दै गएको छ। विशेषगरी कृषि र केयर गिभरका लागि इजरायल जाने संख्या बढिरहेको छ।

त्यही भएर इजरायलले नेपालका कृषिविज्ञान अध्ययनरत विद्यार्थीलाई कृषिमा भएको विकास देखाउन लग्ने गरेको थियो। विश्वविद्यालयसँग प्रत्यक्ष साझेदारी गर्दै त्यस्ता कार्यक्रमहरूमा सयौं विद्यार्थी इजरायल पुगेर फर्केका पनि छन्। 

यसैगरी नेपाली महिलाहरूलाई वृद्धवृद्धाको स्याहार गर्नेगरी केयर गिभरमा जान नेपाल सरकारले नै अनुमति समेत दिएको छ।

वर्षौंदेखि प्यालेस्टाइन र इजरायलबीच द्वन्द्व छ। तर पनि नेपालबाट विद्यार्थी र महिलाहरू जाने क्रम भने रोकिएको छैन।

भाग्यवस यसअघि त्यहाँ कुनै गम्भीर घटनामा नेपाली परेका थिएनन्। जबकी जुनसुकै बेला हुने युद्धबाट नागरिक जोगाउन इजरायलले ठाउँ ठाउँमा बंकर बनाएको छ।

तर, गत शनिबार बिहानै भने यसअघिजस्तो ती बंकरमा नेपालीहरु जोगिन सकेनन्। र प्यालेस्टायनी विद्रोही समूह हमासको आक्रमणमा परे।

त्यसैमध्येका एक हुन्, डोटीको शिखर नगरपालिका–६ का राजन फुलारा। उनी गत भदौमा ‘सिक्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत इजरायल पुगेका हुन्।

महिना दिन मात्र पुग्दै थियो, हमासको आक्रमणमा राजन पनि परेको खबर गाउँभरी फैलियो।

घरका बुढी हजुरआमा र आमा-बुबाले पनि यो दुखद खबर सुने। तर विश्वास गर्न सकेनन्। किनकी उनी घरको एक्लो साहरा थिए। त्यसमाथि  अनलाइनमा कुरा हुँदा राजनले कुनै गाह्रो काम नभएको बताउँथे।

राजनको परिवारलाई भेट्न सोमबार (असोज २२) बिहान प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल र शिखर नगरपालिका नगर–प्रमुख दीर्घबहादुर बलायरसहित टोली राजनको घर पुग्यो र सन्देश सुनायो।

त्यसपछि भने परिवारलाई उनको मृत्यु भएको पत्याउन करै लाग्यो।

बिहीबारमात्रै परिवारसँग कुरा गर्ने भन्दै फोन काटेका राजनको ले त्यसपछि फोन गरेनन्। ‘शनिबार फेरि कुरा गरौँला आमा’ भन्दै बिदा भएका छोराको खबर कुनै सरकारी अधिकारीले घरको आँगनमा सुनाउँदै गर्दा उनी मुर्छा परेर ढलिन्।

त्यसयता उनको घरमा सन्नाटा छाएको छ। बुढी हजुआमा बेहोस छिन्। बुवा–आमाको बोली बन्द छ।

राजनका काका टीका फुलाराले भने, ‘भतिजले इजरायल जाँदा भनेका कुराहरू सम्झिँदै ८५ वर्षीया हजुरआमा रुनुहुन्छ। बेला–बेला ‘नाती’ भनेकोमात्रै सुनिन्छ।’

बुवा घनश्यामले मजदुरी गरेर राजनलाई पढाएको शिखर नगरपालिका–६ का वडाअध्यक्ष धिर्कबहादुर सिंहले बताए।

घरमा राजन सानै हुँदा दुईवटा दिदीको विवाह भइसकेको थियो। राजन घरमा बुबा-आमा र हजूरआमासँग बस्थे। 

राजनको मृत्युपछि घरमा आम्दानी स्रोत पनि गुमेको छ। 

पढाइमा तेज थिए राजन

राजनले कक्षा १ देखि १० सम्म गाउँकै सरस्वती माध्यमिक विद्यालय चुडीमा पढे। त्यहाँबाट एसईई पास गरेपछि काठमाडौंबाट आईएस्सी गरेका थिए।

‘किसानको छोरा भएर पनि राजनको सानै देखिएको चाहना कृषि पढेर विज्ञ बन्ने नै थियो। हाम्रो गाउँको एक जना बाबुले पोखरा क्याम्पसमा कृषि पढेका थिए, उनका काका टीका फुलाराले भने, ‘उनकै प्रेरणाका कारण राजनले कृषि विषय रोजे। बीचमा इन्जिनियर पढ्नका लागि एक दुई कलेजमा इन्ट्रान्स दिएर नाम पनि निस्कियो। तर, राजनले त्यो सबै छोडेर कृषि नै रोजेको थियो।’

राजनको मृत्युको खबरले चुडीगाउँ मात्रै नभएर उनलाई चिन्नेसबै स्तब्ध छन्।

‘इजरायल जाँदै गर्दा राजनले मेरो विदेशमा बस्ने मन छैन केही समयपछि लोकसेवा पढेर निजामति कर्मचारी बन्ने धोको छ भनेको थियो’, राजनका अंकल टीकाले रुँदै भने, ‘लोकसेवा पास गरेर, नेपालकै कृषि पेसामा काम गर्ने धोको छ। नेपालमै केही गर्ने चाहाना छ। म विदेश गएर उतै बस्छु भन्ने कुनै चाहाना छैन भनेको थियो। परिवारलाई बच्चा केही सिकेर आउँछ भन्ने आस थियो। त्यो सबै सपना अधुरै रह्यो।’

शनिबार इजरायलमा हमास समूहले गरेको आतंककारी आक्रमणमा परी राजनसहित सुदूरपश्चिम विश्वविद्यालयका कृषि अध्ययनरत १० विद्यार्थीको ज्यान गएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .