कोशी


प्रदेश १ : एमाले दलका नेता हिक्मत कार्कीद्वारा मुख्यमन्त्रीमा दाबी पेश, ६० सांसदको समर्थन

प्रदेश १ : एमाले दलका नेता हिक्मत कार्कीद्वारा मुख्यमन्त्रीमा दाबी पेश, ६० सांसदको समर्थन

मुख्यमन्त्रीको दाबी पेश गर्दै एमाले संसदीय दलका नेता हिक्मत कार्की। तस्बिर : नेपालखबर


नेपालखबर
पुस २४, २०७९ आइतबार १६:२९, विराटनगर

प्रदेश १ मा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मत कार्कीले मुख्यमन्त्रीको दाबी पेश गरेका छन्।

प्रदेश प्रमुखले सरकार गठनका लागि दिएको समयसीमाभित्र कार्कीले नेकपा (माओवादी) केन्द्रको सहयोगमा मुख्यमन्त्री दाबी पेश गरेका हुन्।

कार्कीलाई मुख्यमन्त्रीका लागि एमालेका ४०, माओवादीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ र जनता समाजवादी पार्टीका १ सहित ६० जना सांसदले समर्थन जनाएका छन्।

एमालेले संसदीय दलका नेता कार्कीलाई मुख्यमन्त्रीका रुपमा अघि सारेको थियो। माओवादी केन्द्रले संसदीय दलका नेता रहेका इन्द्र आङ्बोलाई मुख्यमन्त्रीका प्रस्तुत गरेको थियो। तर माओवादीले कार्कीलाई मुख्यमन्त्रीमा समर्थनको निर्णय आइतवार नै गरेको थियो।

प्रदेशको पहिलो कार्यकालमा आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका कार्की झापा ५ को क्षेत्र नम्बर १ बाट प्रदेशसभामा निर्वाचित  भएका थिए।

उनी  एमाले स्थायी कमिटी सदस्य हुन्। अध्यक्ष केपी शर्मा ओलीका बिश्वास पात्र मानिन्छन्।

पुस १७ गते नै प्रदेश प्रमुखले एक साताको समय दिएर संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीको दाबी गर्न प्रमुख खापुङले आव्हान गरेका थिए।

९३ संसदीय सभामा बहुमतका लागि ४७ सिट आवश्यक पर्छ। एमालेसँग ४० र माओवादीसँग १३ सिट छ। केन्द्रीय गठबन्धनमा सामेल रहेको राप्रपाको ६ सिट र जसपाको १ सिट थपिँदा सरकारलाई ६० सांसदको समर्थन जुटेको हो।

प्रदेशसभामा नेपाली कांग्रेससँग २९ र एकीकृत समाजवादीसँग ४ सांसद छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .