पाँचथरको हिलिहाङ–७ यवाडाँडास्थित एक घरमा आगलागी हुँदा दुई जना बालकको जलेर मृत्यु भएको छ।
प्रेम पन्थाकको घरमा आगलागी हुँदा हिलिहाङ ५ का श्रवण पन्थाकका छोरा वर्ष ५ का सेसेहाङ पन्थाक र फिदिम ५ का सन्तोष खातीको छोरा वर्ष ४ का निशान खातीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी हरि खतिवडाका अनुसार अपरान्ह ४ बजेको समयमा पन्थाकको घरको मचानमा उनीहरुको शव जलेको अवस्थामा फेला पारेको थियो।
जलेर मृत्यु भएका सेसेहाङ घरमुली प्रेमको भतिजो र खाती छोरीको छोरा भएको प्रहरीले जनाएको छ।
घरमा ठूला मानिस कोही नभएको अबस्थामा खरले छाएको घरमा आगलागी भएको थियो। विस्तृत विवरण आउन बाँकी छ।
तेह्रथुमको आठराईमा भीषण आगलागी
यता, तेह्रथुमको आठराई गाँउपालिका–६ चुहानडाँडाको हातिखर्कमा भीषण आगलागी भएको छ।
स्थानीय जंगलमा लागेको आगो गाँउमा सल्किएर अहिलेसम्म स्थानीयको १३ घर जलेको वडाअध्यक्ष कृष्ण बाँस्कोटाले जानकारी दिए। आगलागी नियन्त्रण बाहिर रहेको छ।
हावहुरी चलिरहेकाले आगालागी फैलिरहेको बताइएको छ। घोडेटार सामुदायिक वनबाट आगो बस्तीमा आएको हो। आगालागी नियन्त्रणका लागि गाँउलेहरुले गरिरहेको प्रयास सफल हुन सकिरहेको छैन।
प्रतिक्रिया