सामाजिक सद्भाव भड्काएको तथा कालो मोसो दलेको आरोपमा सुनसरी प्रहरीले २ जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगुका अनुसार सुमन चेम्जोङलाई मंगलबार र सिर्जना बेघालाई बुधबार पक्राउ गरिएको हो।
चेम्जोङलाई पदम चेन्जी माबोलाई मोसो दलेको र सिर्जनालाई सामाजिक सञ्जालबाट सामाजिक सद्भाव भड्काएको आरोपमा पक्राउ गरी अनुसन्धान थालिएको डीएसपी जबेगुले बताए।
सिर्जनाविरुद्ध अवैध असुली गरेको, प्रहरी प्रशासनविरुद्ध गालीगलौज गरेको आरोप पनि लगाइएको छ।
बेघालाई म्याद थपका लागि आजै जिल्ला अदालत सुनसरीमा लाने तयारी गरिएको छ।
चेम्जोङलाई भने प्रहरीले मंगलबार नै म्याद थप गरिसकेको छ।
मोसो दलेको आरोपमा यसअघि नै ८ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
घटनामा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ।
पथीभरामा केबुलकार निर्माणका पक्षमा सामाजिक सञ्जालमा लेखेको भन्दै पदम चेन्जीलाई केही व्यक्तिले ४ दिनअघि धरानको एक कार्यक्रममा मोसो दलेका थिए।
सो घटनाबारे अनुसन्धान गर्ने क्रममा प्रहरी प्रशासनलाई गालीगलौज गरी भड्काउपूर्ण अभिव्यक्ति दिएको आरोप सिर्जनालाई लागेको हो।
पाथीभरामा केबलकार निर्माणका विषयमा नेपाली समाज पक्ष र विपक्षमा विभाजित भएका छन्।
Shares

प्रतिक्रिया