कोसी प्रदेशमा गाईभैँसीमा लाग्ने लम्पीस्कीन रोगले प्रकोप फैलिएको भन्दै यसको नियन्त्रण गर्न प्रदेश सांसदले सरकारलाई आग्रह गरेका छन्।
कोसी प्रदेश सभाको मंगलबाको बैठकको शून्य समयमा बोल्नै नेकपा माओवादी केन्द्रका सांसद सपना दर्जीले प्रदेशको १० जिल्लाका १८ हजार ७४५ गाई गोरु र १७६ वटा राँगा भैँसीमा लम्पीस्कीन रोगको सङ्क्रमण देखिएको जानकारी दिइन्।
यसको सङ्क्रमणका कारण ४२० चौपाया मरेको उनले जानकारी दिइन्। सुनसरी जिल्लामा मात्रै १ हजार ५१६ पशु सङ्क्रमित भएका मध्ये ५३ वटा मरेको उनले सदनलाई जानकारी गराइन्।
दुहबीमा २७६ सङ्क्रमित तथा वराहक्षेत्रमा १३ वटा चौपाया मरिसकेको तथा अन्य जिल्लामा पनि भयावह अवस्था रहेको जानकारी दिइन्।
झापामा मात्रै १३ हजार ११८ वटा पशु, मोरङमा १ हजार ९५८, इलाममा १ हजार ६६५ वटा पशु सङ्क्रमित भएको तथ्याङ्क रहेको जानकारी गराइन्।
‘ताप्लेजुङ, धनकुटा, भोजपुर लगायतको पहाडी जिल्लामा यसको प्रकोप फैलिएको देखिन्छन्,’ उनले भनिन्, ‘पशु मरेका र बिरामी परेका किसानहरूलाई राहत दिने व्यवस्था मिलाउन माग गर्दछु।’
पशुको लागि खोप कार्यक्रम सञ्चालनमा रहेको भए पनि सम्बन्धित स्थानीय तहहरूमा पुग्न नसकेको समेत बताइन्। पशुपालन अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको भए पनि यो अहिले सङ्कटग्रस्त अवस्थामा पुगेको बताइन्।
पशुमा लाग्ने लम्पीस्कीन रोगलाई सङ्कटग्रस्त घोषणा गरी त्यसको नियन्त्रणको लागि कार्य योजना सार्वजनिक गर्न उनले माग गरिन्।
लखिकुमारी गणेशले वर्षा न्यून हुँदा किसानले धान खेती गर्न नपाएको बताइन्। खडेरी परेका कारण साउन १४ जाँदा पनि अझै खेत बाँझै रहेकोले जानकारी गराइन्।
मलको कालोबजारी भएकोले किसानलाई सहज मल खादको व्यवस्था गर्न माग गरिन्।
इस्राइल मन्सुरीले सरकारले महिलाको नाममा रजिस्ट्रेसन पास गर्दा हुने २५ प्रतिशत छुटको लागि स्थायी बसोबास गरेको वडाको सिफारिस अनिवार्य बनाएकोले महिलाको नाममा जग्गा पास गर्न समस्या भएको जानकारी गराउँदै त्यो व्यवस्था तत्काल हटाउन माग गरे।
अर्का सांसद रमेश कुमार बस्नेतले स्वास्थ्य बिमा कार्यक्रमको प्रभावकारिता माथि प्रश्न उठाए।
Shares

प्रतिक्रिया