विराटनगरस्थित बाल सुधार गृहबाट प्रहरी र बालगृहका बालबालिकाबीच भएको झडपको क्रममा केही बालबालिका भागेको आशंका गरिएकोमा सबै बालबालिका गृह भित्रै रहेको प्रशासनले स्पष्ट पारेको छ।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार, प्रारम्भमा केही बालबालिका भागेको आशंका गरिएको थियो। तर गणना गर्दा २४९ जना सबै बाल बिज्याईँ गर्नेहरू (अपराध पुष्टि भई सजाय काटिरहेका) भित्रै रहेको पुष्टि भएको छ।
उनले भने, ‘बाल सुधार गृह विराटनगरमा रहेका सबै २४९ जना भित्रै छन्।’
प्राप्त जानकारीअनुसार, बुधबार एक बालकले सुर्ती खाएको विषयमा प्रहरीले चेकजाँच सुरु गरेपछि प्रहरीमाथि बालकहरूले आक्रमण गरेका थिए। बालक र प्रहरीबीच झडप भएको थियो।
स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। केही बालबालिकाले सुर्ति सेवन गरिरहेको आशंकामा प्रहरीले चेकजाँच सुरु गरेपछि विवाद सुरु भएको हो। क्रमशः स्थिति बिग्रँदै झडपमा परिणत भएको सुधारगृहका प्रमुख गायत्रीप्रसाद ढकालले बताए।
झडपका क्रममा बालबालिकाको आक्रमणबाट एक प्रहरी घाइते भएका छन्। घाइतेलाई तत्काल उपचारका लागि कोसी अस्पताल लगिएको छ।
सुरक्षा अवस्था नियन्त्रणमा लिन चारवटै सुरक्षा निकायका प्रमुखहरू बालगृहमा छन्। सुधार गृह प्रशासनका अनुसार, १८ वर्ष नाघेका केही युवाहरूले वातावरण बिगारेका छन्।
हाल सुधारगृहमा १२ देखि ३२ वर्ष उमेर समूहका २४९ जना राखिएका छन्, जबकी यसको क्षमता ५० जनामात्र हो। क्षमताभन्दा धेरै राखिएकाले व्यवस्थापनमा गम्भीर चुनौती आएको अधिकारीहरूको भनाइ छ।
-
सम्बन्धित समाचार: विराटनगर बाल सुधार गृहमा झडप, एकजना घाइते, केही बालक भागेको आशंका
Shares

प्रतिक्रिया