ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझी निर्वाचित भएदेखि नै विवादमा पर्दै आएका छन्। लामो समयदेखि नागरिकले सेवा पाउन सकेका छैनन् भने अहिलेसम्म बजेट नै ल्याउन नसकेको पालिका अर्को विवादमा फसेको छ।
अध्यक्ष माझीले असोज ८ गते जारी गरेको सूचनाले स्थानीय विस्थापित हुने अवस्था आएपछि शुक्रबार साँझसम्म स्थानीय आन्दोलित छन्।
ग्रामथान गाउँपालिकाको पूर्वपट्टिको हटियामा बनेका घर र टहरा खाली गर्ने निर्णयलाई लिएर गाउँपालिका अध्यक्ष नमोनारायण माझी र स्थानीयबिच शुक्रबार दिनभर तनावपूर्ण स्थिति सिर्जना भयो।
गाउँपालिकाले सरकारी जग्गा खाली गर्नको लागि तीन पटक सूचना जारी गरेर बजार क्षेत्र खाली गर्न आदेश दिएपछि प्रभावित परिवारले आन्दोलन गरेका हुन्। पालिकाको यो निर्णयले पालिका आसपासका तेतरिया बजार क्षेत्रका ४० घर भन्दा बढी विस्थापित हुने अवस्था छ।
पालिकाले स्थानीयलाई दसैँ समेत मनाउन नदिई विस्थापित गर्न लागेको भन्दै आक्रोशित स्थानीयहरू पालिका घेर्न पुगेका थिए। त्यहाँ पुगेका स्थानीयलाई अध्यक्षले छलफल गरे पनि छाड्नै पर्ने दबाब दिएको स्थानीय बताउँछन्।
स्थानीयका अनुसार छलफलमा उनीहरूले आफ्ना गुनासो राख्दा अध्यक्षले सुनुवाइ नगरी ‘जग्गा खाली गर्नै पर्छ’ भन्ने अडान मात्र दोहोर्याए। हामी पचासौँ वर्षदेखि यहाँ बस्दै आएको स्थानीय बताउँछन्।
यो चाडपर्वको बेलामा विस्थापित हुनुपर्ने अवस्था आयो। तर, अध्यक्षले मागहरू नसुनेको स्थानीयको भनाई छ। स्थानीयका कुरा अध्यक्षले नसुनेपछि प्रभावितहरू विरोध प्रदर्शनमा उत्रिएका छन्। साँझसम्म सडकमा टायर बालेर नाराबाजी गरिरहेको प्रहरीले जनाएको छ।
के छ पालिकाको निर्णय?
ग्रामथान गाउँपालिकाले सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएका घर टहरा हटाउने निर्णय गरेपछि विवाद चर्किएको हो। गाउँपालिकाले असोज ८ गते तेस्रो पटक सूचना प्रकाशित गर्दै १५ दिनभित्र संरचना स्वतः हटाउन आग्रह गरेपछि स्थानीयवासी विरोधमा उत्रिएका हुन्।
गाउँपालिकाका अनुसार २०७७ साल फागुन १३ गतेको बैठक र आर्थिक वर्ष २०७७/०७८ को योजनाअनुसार सार्वजनिक जग्गा खाली गर्ने निर्णय भएको थियो। सो निर्णय कार्यान्वयन नगरेकाले यसअघि दुई पटक सूचना प्रकाशित गरिएको र तेस्रो पटक असोज ८ मा प्रकाशित तेस्रो सूचनामा भने घर टहरा नहटाए कानुनी कारबाही गर्ने चेतावनी दिइएको छ।
गाउँपालिका अध्यक्ष नमोनारायण माझीले निर्णय कानुनबमोजिम कार्यान्वयन गर्नुपरेको बताए।
तर, गाउँ सभामा पर्याप्त छलफल नभई अध्यक्षले एकतर्फी निर्णय गरेको भन्दै केही जनप्रतिनिधिले असन्तोष जनाएका छन्। विवाद चर्किएसँगै ग्रामथान बजार क्षेत्रमा तनाव सिर्जना भएको छ भने प्रशासनले सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई परिचालन गरेको छ।
Shares

प्रतिक्रिया