कोसी प्रदेश सभाकी उपसभामुख सृजना दनुवार अहिले हरेक दिन उदयपुरबाट धाउँछिन्।
उदयपुरको सदरमुकाम गाईघाटबाट विराटनगरस्थित प्रदेश सभा पुग्नको लागि करिब एक सय किलोमिटर छ। उनी यसरी धाउन थालेको झन्डै २ महिना भयो। जेनजी आन्दोलनका बेला विराटनगरमा रहेको क्वाटरमा आगजनी भएपछि उनी अहिले दैनिक उदयपुरको आफ्नै घरबाट आउजाउ गरिरहेकी छिन्।
हरेक दिन विराटनगरबाट उदयपुर आउन जान निक्कै नै समस्या हुने गरेको उनको भनाइ छ। बुधबार कोसी प्रदेश सभा सचिवालय स्थापनाको लागि कटहरीमा रहेको एकीकृत तरकारी तथा फलफूल थोक बजारबाट सार्ने तथा नव नियुक्त प्रदेश सभा सचिवको पदभार कार्यक्रम राखिएको थियो।
कार्यक्रम सकिँदा करिब ५ः३० जति भइरहेको थियो। सचिवालयका कर्मचारी, सभामुख तथा प्रदेश सभा सदस्यहरूसँग कुराकानी गर्दा गर्दै साँझ परिसकेको कारण उनी उदयपुर नजाने मनस्थितिमा थिइन् तर कहाँ बस्ने भन्नेमा उनको अन्योलमा थियो।
‘खै आफन्तकोमा जाऊँ भने पनि ३ जना हुन्छौँ, कसरी जानु,’ उनले भनिन्, ‘नजाऊँ भन्दा पनि अहिले हिँड्यो भने गाईघाट पुग्दा राती हुन्छ खै के गर्ने गर्ने।’
प्रदेश सभा सचिवालय अहिले तरकारी बजारमा सरेपछि उपसभामुख तथा सभामुख अब चाँडै प्रदेश सभा सञ्चालन गर्ने तयारीमा लागेका छन्। उपसभामुख दनुवार भदौको अन्तिम साता, असोज महिना भरी र कात्तिकको अन्तिमसम्म समेत अहिले घरबाट नै धाइरहेको बताउँछिन्।
जेनजी आन्दोलनको समयमा दनुवार काठमाडौँमा थिइन्। उनले चढेको गाडी सिंहदरबार भित्र राखिएको थियो। आन्दोलनकारी आगो झोस्दै जाँदा उनको गाडी भाग्यले जोगियो। तर उनको गाईघाटमा रहेको घरलाई जेनजीका नामामा उछृङखल समूहले आगजनी गर्यो।
विराटनगरमा बसेको क्वाटर निजी व्यक्तिको सम्पत्ति भए पनि जोनजीको नाममा आगजनी गरिएको थियो। आगजनीपछि अहिलेसम्म उनी विस्थापित जस्तै भएकी छिन्।
उपसभामुख दनुवारले भनिन्, ‘गाईघाटको घर सामान्य मर्मत गरेर बस्न हुने भए पनि विराटनगरको आवास अहिलेसम्म मर्मत गर्न सकिएको छैन।’ जेनजी आन्दोलनको क्रममा सरकारी भवनमा भएका निवासहरूमा आगजनी भए पनि निजी निवासमा उनै उपसभामुखको मात्रै भएको थियो।
उनी भन्छिन्, ‘मैले होटलमै बस्दा पनि हुन्छ तर राज्यको सम्पत्तिको दुरुपयोग हुने भएकोले आफन्त या आफ्नै घर रोजेको हुँ।’ दनुवार प्रदेश सभाको सदस्य हुनभन्दा पहिला उदयपुरमा रहेर विभिन्न संघ संस्थामा काम गर्थिन्।
Shares

प्रतिक्रिया