झापामा अटो र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
पूर्व–पश्चिम राजमार्ग अन्तरगत कन्काई नगरपालिका–३, नयाँबस्तीमा मंगलबार दिउँसो सो दुर्घटना भएको हो।
बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको प्र१–०१–००१ ह ८२५२ नम्बरको अटो अनियन्त्रित भई विपरीत दिशाबाट जाँदै गरेको मे ५ प ६६२० नम्बरको मोटरसाइकलमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी अटोमा सवार ६८ वर्षीया मञ्जुधरी ढकाल गम्भीर घाइते भएकी थिइन्। उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा दिउँसो ४स्३५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
अन्य घाइतेहरूमा ५७ वर्षीय जीवन ढकालको प्रधान मेडिकलमा उपचार भइरहेको छ। त्यस्तै, ५० वर्षीया हरिमाया ढकाल र ३५ वर्षीया भीमा ढकालको टाउकोमा चोट लागेको छ र उनीहरूको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ।
यसैगरी, १३ वर्षीय रोजन ढकाल र १३ वर्षीय प्रदीप नेपाललाई बाहिरी चोट नदेखिए पनि भित्री चोटको आशंका गरिएको छ। उनीहरू पनि उपचाररत छन्। मोटरसाइकल चालक ३७ वर्षीय चन्द्र बहादुर खत्रीको समेत भित्री चोट लागेको तथा अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घटनापछि इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको टोलीले अटो, मोटरसाइकल र अटो चालक ४६ वर्षीय खेमराज गौतमलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ। थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउने काम भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।
Shares

प्रतिक्रिया