गढी गाउँपालिकाले नयाँ शैक्षिक सत्रदेखि विद्यार्थी भर्नाका लागि खोप कार्ड अनिवार्य गर्ने निर्णय गरेको छ।
गाउँ कार्यपालिकाको कार्यालयले पालिकाभित्रका सामुदायिक, निजी र धार्मिक सबै विद्यालयहरूलाई पत्र पठाउँदै बालबालिका भर्ना गर्दा अभिभावकबाट अनिवार्य रूपमा खोप कार्ड पेस गराउन निर्देशन दिएको हो।
खोप ऐन, २०७२ को दफा ३३ को व्यवस्था बमोजिम राष्ट्रिय खोप कार्यक्रम अन्तर्गतका खोपहरू बालबालिकाले प्राप्त गरे वा नगरेको सुनिश्चित गर्न यो कदम चालिएको पालिकाले जनाएको छ।
नेपालमा जन्मदेखि १५ महिनासम्मका करिब ४ प्रतिशत र कोशी प्रदेशमा ६ प्रतिशत बालबालिकाले कुनै पनि खोप नलगाएको अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले यस्तो व्यवस्था लागू गरेको जनाएको छ।
विद्यालयहरूले भर्ना प्रक्रियामा खोप कार्डलाई अनिवार्य कागजातका रूपमा समावेश गरी सोको अभिलेख राख्नुपर्ने भनिएको छ।
साथै, खोप नलगाएका बालबालिकाको विवरण नजिकैको स्वास्थ्य संस्थासँग समन्वय गरी पठाउनुपर्ने व्यवस्था गरिएको छ।
विशेष गरी ५ वर्ष मुनिका कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित नहोउन् र उनीहरूलाई छुट खोप सेवामा समेट्न सहज होस् भन्ने उद्देश्यले यो निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष एवं पालिका खोप समन्वय समितिका अध्यक्ष आश नारायण चौधरीले जानकारी दिए।
Shares

प्रतिक्रिया