कोशी


कोसी प्रदेशमा ४६.९ किलोमिटर पदमार्ग निर्माण

कोसी प्रदेशमा ४६.९ किलोमिटर पदमार्ग निर्माण

नेपालखबर
बैशाख २५, २०८३ शुक्रबार १४:३५, ​विराटनगर

कोसी प्रदेशमा पदमार्गमा आधारित पर्यटन विकास परियोजना अन्तर्गत विभिन्न भौतिक पूर्वाधार निर्माण र प्रवर्द्धनात्मक गतिविधिहरूले तीव्रता पाएका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्थानीय तह र स्विस विकास सहयोगको साझेदारीमा सञ्चालित यस परियोजना मार्फत ४६.९ किलोमिटर पदमार्ग निर्माण तथा मर्मत कार्य सफलतापूर्वक सम्पन्न भएको छ।

जसमा २१ कि.मि. लालीगुराँस पदमार्ग, ६.५ कि.मि. मुन्धुम पदमार्ग, १३ कि.मि. फाल्गुनन्द पदमार्ग र ६.४ कि.मि. चियाबारी पदमार्ग रहेका काेसी प्रदेश सरकार पर्यटन वन तथा वातावरण मन्त्रालयले जनाएको छ।

शुक्रबार मन्त्रालयले पत्रकार सम्मेलन गर्दै पदमार्गलाई थप व्यवस्थित बनाउन चारवटै मार्गमा गरी जम्मा १३२ वटा परिधिय संरचनाहरू निर्माण गरिएका छन्। यस अन्तर्गत ढुङ्गाका बेन्च, कुर्सी, टेबल, राउण्ड टेबल, डस्टबिन, खानेपानी धारा, इन्टेक, सार्वजनिक शौचालय, विश्राम घर र चौताराहरू निर्माण भएकाे मन्त्रालयका सचिव डा ईन्द्र सापकोटाले जानकारी दिए।

सापकोटाका अनुसार, यी पूर्वाधार निर्माणका क्रममा ४ हजार दिन बराबरको रोजगारी सिर्जना भएको छ भने निर्माण कार्यलाई प्रभावकारी बनाउन ५८ वटा उपभोक्ता समितिहरू परिचालन गरिएका छन्।

​पर्यटन प्रवर्द्धनका लागि मुन्धुम अल्ट्रा ट्रेलर्स, रैथाने खाना महोत्सव, नाचोङ धामी महोत्सव, लालीगुराँस महोत्सव र चौंरी महोत्सव जस्ता कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भएका छन्। मुन्धुम पदमार्गको व्यापक प्रचार-प्रसारका लागि ३० सेकेन्डको प्रोमो भिडियो तयार पारी काठमाडौं, ललितपुर, भक्तपुर, इटहरी र पोखराका विभिन्न क्युएफएक्स सिनेमा हलहरूमा प्रदर्शन भइरहेको छ।

​प्रवर्द्धनकै सिलसिलामा बुद्ध, यति र श्री एयरलाइन्ससँगको सहकार्यमा बोर्डिङ पासमा मुन्धुम पदमार्गको प्रचार सामग्री छाप्ने कार्य गरिएको मन्त्री भिम पराजुलीले जानकारी दिए। साथै, बुद्ध एयरको इनफ्लाइट म्यागजिनमा मुन्धुम र चियाबारी पदमार्गबारे जानकारीमूलक सामग्रीहरू प्रकाशित गरिएका छन्। 

अन्तर्राष्ट्रिय पर्यटकहरूलाई लक्षित गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा कोसी प्रदेशको पर्यटन प्रवर्द्धनका लागि ठूला होर्डिङ बोर्डहरू समेत राखिएका उनले बताए।

परियोजनाको आगामी योजनालाई व्यवस्थित बनाउन आर्थिक वर्ष २०८३/०८४ का लागि ७२ करोड रुपैयाँ लागत बराबरको वार्षिक योजना स्वीकृत भइसकेको छ। यसले आगामी दिनमा प्रदेशको पर्यटन क्षेत्रलाई थप उचाइमा पुर्‍याउने लक्ष्य लिएको छ।

काेसी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो प्रगति विवरण अनुसार, प्रदेशका १४८ वटा पर्यटन विकास आयोजनाहरूलाई स्थानीय तहमार्फत कार्यान्वयन गर्ने गरी वित्तीय हस्तान्तरण गरिएको छ।

​मन्त्रालयले प्रशासनिक सुधार र विद्युतीय सुशासनलाई प्राथमिकता दिँदै मातहतका सबै निकायमा 'एकीकृत कार्यालय व्यवस्थापन प्रणाली' लागू गरेको जनाएको छ। यसका लागि आवश्यक अभिमुखीकरण तालिम सम्पन्न 

​राजस्व र बेरुजुको अवस्था
वन क्षेत्रका सडक तथा राजमार्गहरूमा राखिने प्रचार सामग्री (होर्डिङ बोर्ड) लाई व्यवस्थित गरी राजस्वको दायरामा ल्याइएको छ। अबदेखि प्रदेश वन निर्देशनालयको स्वीकृति लिएर मात्र यस्ता सामग्री राख्न पाउने कानुनी व्यवस्था कडाइका साथ लागू गरिएको छ, जसबाट प्रदेशको आन्तरिक राजस्व सङ्कलनमा वृद्धि हुने जनाएको छ।

आर्थिक पारदर्शिताका सवालमा मन्त्रालय र वन निर्देशनालयले प्रशंसनीय उपलब्धि हासिल गरेका छन्। आर्थिक वर्ष २०७९/८० मा यी दुवै निकायको बेरुजु शून्य रहेको विवरणमा उल्लेख छ।

मन्त्रालयको बजेट खर्चको अवस्थालाई हेर्दा भौतिक प्रगति उत्साहजनक देखिए पनि वित्तीय खर्चको अनुपात मध्यम रहेको छ। प्रदेश स्रोततर्फ विनियोजित कुल २ अर्ब २५ करोड २५ लाख ५ हजार रुपैयाँमध्ये हालसम्म ८५ करोड ५५ लाख २२ हजार रुपैयाँ खर्च भएको छ। यो वित्तीयतर्फ ३७.९८ प्रतिशत र भौतिकतर्फ ७२.५ प्रतिशत प्रगति हो।

त्यसैगरी, संघीय सरकारको सशर्त अनुदानतर्फ विनियोजित ५४ करोड १६ लाख रुपैयाँमध्ये ११ करोड ७३ लाख ८६ हजार रुपैयाँ खर्च भएको छ। यस क्षेत्रमा वित्तीय प्रगति २१.३६ प्रतिशत रहँदा भौतिक प्रगति भने ६१.६७ प्रतिशत पुगेको मन्त्रालयका सचिव सापकोटाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad