साहित्य


बिर्खेकी श्रीमतीले गीत गाइरहोस्!

बिर्खेकी श्रीमतीले गीत गाइरहोस्!

लीलानाथ गौतम
कात्तिक ३, २०८२ सोमबार ९:१८, काठमाडौँ

`ओई! घाँस बटुल्! अब भारी पुगे जस्तो छ। बुढाबुढीको गरेर दुई भारी भैहाल्यो। अब जानुपर्छ।´ घाँस काट्न छोडेर बिर्खबहादुर अर्थात् बिर्खेले स्वास्नीतिर फर्केर ठूलै स्वरमा भन्यो। उसको बोली र हातको इसारा सँगसँगै चलेको थियो।

भदौरे घाममा तराईको उखुम गर्मीमा घाँस काटिरहेकी बिर्खेनी लोग्नेचैँको आवाज सुनेरभन्दा पनि इसारा बुझेर घाँस छोडेर उठी। भारी पुगेकोमा अलिकति खुसी भई र बुढोतिर हेरेर फिस्स हाँसी। अचाक्लीको गर्मी, पसिनाको धारो! स्वास्नीचैँको सिउँदोको सिन्दूर नागबेली भएर बग्दै नाकको टुप्पासम्मै आइपुगेको थियो। बुढाबुढी घाँसको भारी मिलाउन थाले। दुई भारी घाँसमा सानो चैँ बुढीले बोकी। ठूलो भारी बिर्खे आफैँले बोक्यो। स्वास्नीको भन्दा ठूलो भारी बोकेर ऊ अलिकति त स्वास्नीप्रतिको माया प्रकट गर्न चाहन्थ्यो; त्यसभन्दा बढी ऊ आफूलाई महिलाभन्दा बलियो साबित गरेर पुरुष हुनुको अहम् तुष्टि गर्न चाहन्थ्यो। यथार्थमा चैँ झुसे लम्तडी लोग्नेभन्दा स्वास्नी नै हट्टाकट्टा र बलिई थिई।

घुँडा घोटुवा गोरुझैँ हिँड्ने बिर्खे रूप र जिउडालमा स्वास्नीभन्दा कमजोर थियो। स्वास्नी चैँ डमक्क परेकी, केही गोरी र तै राम्री थिई लोग्नेको तुलनामा।

उसको अर्को विशेषता भनेको ऊ फिट्टिक्कै कान सुन्दिनथी तर तोते बोली भने बोल्थी। मान्छेहरूले ऊसँग कुरा गर्दा ऊ कति न कान सुनेको झैँ गर्थी र तोते बोलीमै प्रतिक्रिया जनाउँथी। बोल्नेको मुखमुद्रा र हातको हाउभाउले कहिलेकाहीँ त उसले तोत्याङ्ग्रो बोलीमा दिएको प्रतिक्रिया ठिक हुन पुग्थ्यो। वक्ताले हातको हाउभाउ र मुखमुद्रामा ध्यान नदिई बोलेको बेलामा भने बिर्खेनीले तोते बोलीमा दिने जवाफमा `आग्रा र गाग्रा´को फरक पर्थ्यो। फेरि पनि उसका कानले दुनियाँलाई सुनोस् नसुनोस् ऊ भने आफ्ना तोत्र्याङ्ग्रो बोली अरुलाई सुनाउँथी।

`घाँस ल्याएका हौ तिमीहरूले? लौ राख,´ बज्यैले बिर्खेका लोग्नेस्वास्नी र हरियो घाँसको लोभलाग्दो भारी हेर्दै गोठमा घाँस राख्न इसारा गरिन्। घाँसको भारी फ्यात्त गोठमा फ्याँकेर जोईपोइ नै घरको ओस्रामा आएर थ्याच्च बसे। बिर्खेले लामो सास लिँदै मैलो टोपीले पसिना पुछ्यो। स्वास्नी चैँ धारामा गएर हातगोडा मुख धुन थाली। थाकेर लखतरान बिर्खेले धारासम्म जान अल्छी गर्‍यो। ऊ ओस्रामै सुस्ताइरह्यो।

`नाथे गर्मी! कतिसम्म पोल्न सकेको?´ बिर्खे आफूले मात्र सुन्ने गरी फुस्फुसायो। बज्यैले भान्साबाट थालमा हालेर खाना ओस्रामै ल्याइदिइन्। आफ्नो अगाडि भातको थाल आइपुगेपछि बिर्खे जाँगरिलो भएर उठ्यो र धारातिर लम्कियो। आँगनको पल्ला छेउमा रहेको धारामा स्वास्नीचैँ पूरै धारो ओगटेर अझै मुख धुँदै थिई। `हट् है! हात धुन दे! आफू याँ भोकले मर्ने बेला भैसक्यो। ऊ भने एकोहोरो पानी खेलाकी छ! थुतुनो धोकी छ! कति न राम्रो थुतुनो भएजस्तो? बसेकी छ, थुतुनो मात्र धोकी छ। हिँड् अब भात खान।´ फत्फताउँदै उसले भात खाने इसारा गर्‍यो। बिर्खेनीले इसारा मात्र बुझी र धारा छोडेर भात खान ओस्रातिर लम्किई। उसले कान सुन्दी हो त बिर्खेको टुप्पी उखेल्ने गरी जाइलाग्थी होली। किच्च हाँसी मात्र।

जिबुल्ले बिर्खेले खानुअघि थालतिर हेर्‍यो। थालभरि भात, कचौरामा दाल, थालको एउटा छेउमा फर्सीको मुन्टा र भातको बुई चढेर बसेको टमाटरको पित्तिक्क अचार। `खोइ खुर्सानीको ढिँडी छैन त बज्यै?´ उसले खुर्सानीको फर्माइस गर्‍यो। बज्यैले भान्साबाट चार ढिँडी हरियो खुर्सानी ल्याएर लोग्नेस्वास्नीकै थालमा दुईदुई ढिँडी राखिदिइन्। बिर्खेले दुई ढिँडी लामा र हरिया खुर्सानी हिमाल आरोहीले आफ्नो देशको झन्डा चुचुरामा गाडेजस्तै थालमा रहेको भातको चोइलीमाथि गाड्यो। ऊ खाँदाखाँदै बेलाबेलामा खुर्सानी पनि किटिक्क टोक्दै थियो।

उता स्वास्नीचैँको भात खुवाइ हेर्नलायक थियो। ऊ नमिठो खानालाई पनि मिठ्ठो मुख लाएर खान्थी। `अन्नमा भन्दा पनि सन्न (पेय पदार्थ) मा बल गर्ने बिर्खेको भात खुवाइभन्दा बिर्खेनीको खुवाइ कता हो कता रहरलाग्दो थियो। उसले हरिया खुर्सानीलाई पहिले त फर्सीको मुन्टामा किचिमिची पारी। बटुकाको दाल सबै थालमा खन्याई। भातको ढाडमा टुसुक्क बसेको अचारलाई र थालको पल्लो छेउको सागसमेत एकैचोटि मोलमाल पारेर ठुल्ठूला गाँस सप्य्राङ सप्य्राङ पारेर खान थाली। उसको खुवाइ देख्दा मान्छेहरू घुटुक्क थुक निल्थे। हुन पनि खाएजस्तै छे बिर्खेनी।

थालको भात सकिन लागेपछि फेरि बिर्खेले माग राख्यो, `यसो गोरस केही छैन बज्यै?´ बज्यैले पिल्लिक्क बिर्खेलाई हेरिन्। बज्यैको एउटा विचार छ; `काम गर्ने मान्छेलाई राम्ररी खान दिनुपर्छ।´ उनले कहिले पनि काम गर्नेलाई छुट्टै र घरकालाई छुट्टै खाना पकाइनन्। एकै भाँडोमा पाकेको खाना जुन आफूहरूले खाने हो त्यही खाना पेटभरि खान दिन्थिन्। बज्यै मनकारी थिइन्। उनी फेरि भान्साभित्र छिरिन् र दहीमा पानी थपेर तयार पारिएको पखाले एक एक गिलास ल्याएर दुवैलाई दिइन्।

`भात थप्छौ बिर्खे?´ बज्यैको प्रश्नमा बिर्खेले `थप्दिनँ´ को इसारा गर्‍यो तर बिर्खेनीले थप खाना नमागीकन बज्यैले फेरि एक थाल भात ल्याएर हालिदिइन्। बज्यैलाई उसको आहारा राम्रैसँग थाहा थियो। बिर्खेनीले पछि थपेको भात भने पखालेसँग मुछेर उस्तै रहरलाग्दो पाराले सप्य्राङ सप्य्राङ पारेर खाई।

पेटको डाहा मारेपछि बिर्खे ओस्रामै हातको सिरानी लाएर अनिकालको ढिकी लडेको जस्तो सुत्नलाई लड्यो। बुढीचैँ जुठाभाँडा माझ्न थाली।

गर्मीमा थाकुन्जेल काम गरेको र भर्खरै भात खाएर यसो भाते निद्रामा उँघ्न थालेको बिर्खे स्वास्नीचैँको गायनले झल्लयाँस भयो। बिर्खेनी भाँडा माझेर सकेपछि लोग्नेकै छेउमा आएर टुसुक्क बसेर गीत गाउँन थाली। यस संसारमा बिर्खेकी जोईले गाएको गीत ऊ आफूबाहेक कसैले बुझ्दैन थियो। गीत सुन्नमा अभ्यस्त बिर्खे पनि स्वास्नीको गीतको श्रोता मात्र हो; गीतका शब्द उसले पनि बुझ्दैन थियो। गीत हुन्थ्यो नै त्यस्तै `चिरिपिचिरी तिरीपितिरी। मानव उच्चारण अवयवबाट उच्चरित सार्थक ध्वनि मात्र भाषा हो भन्ने भाषाशास्त्री र सङ्गीतका सात सुर जानेका सङ्गीतकारहरूलाई एकसाथ चुनौती दिँदै बिर्खेनीले आफ्नै रचना र सङ्गीतको गीत गाइरही, `चिरिपिचिरी, तिरिपितिरी।´ 

निदाउनलाई उँघिरहेको बिर्खेको निद्रा खल्बलियो। `चुप लाग् है! दुई थाल भात हसुरी हाली अनि याँ निदाउन लागेको लोग्नेको छेउमा आएर चिरिपिचिरी गर्छे। कति सुन्नु तेरा गीत। अर्थ न बर्थ गोविन्द गाई। केही बुझिने पनि होइन। पेट भरियो कि गीत गाइहाल्छे। बिहान बेलुका तेरा यही तोत्र्याङ्गे गीत सुन्दासुन्दा कान पाकिसके,´ उसले गायनमा मस्त बुढीलाई चुप लाग्ने इसारा गर्दै चुप लगायो।

बिर्खेनीको एकल गायन सुनेर हाँसिरहेका बज्यै र नातिनी पनि साङ्गीतिक कार्यक्रम सकिएपछि घरभित्र छिरे।

दुई घण्टा जतिको अनिकाले ढिकी लडाइपछि बिर्खेको निद्रा खुल्यो। ऊ सुतुन्जेल स्वास्नीचैँले भकारो सोहोर्ने र गाईलाई घाँस हाल्ने काम सकिसकेकी थिई। `ओहो! अब त हिँड्नुपर्छ। बजार पनि जानु छ।´ हाइ काढ्दै बिर्खेले सोच्न भ्यायो। `बज्यै! अब त जानुपर्ला। बजार पनि जानुपर्ने थ्यो!´ बिर्खेले टाउको कन्याउँदै घरको मूल ढोकाको बाहिरबाट बज्यैलाई पुकार्‍यो। बज्यै घरभित्रबाट बाहिर निस्किइन्। पोल्टाबाट सात सय रूपैयाँ निकालेर बिर्खेका हातमा थमाइदिइन्। दुई ओखडाको दिनमा झन्डै एक ओखडा घाँस काटेको ज्याला जोईपोइको गरेर सात सय पाएपछि बिर्खे बजार जान तम्सियो।

हिँड्ने बेलामा फेरि उसले टाउको कन्याउँदै बज्यैसँग फर्माइस गरिहाल्यो, `बज्यै! चिसो छैन? कस्तो खान मन लाग्याथ्यो।´

`चिसो त छैन बिर्खे। हाम्रो घरमा पनि चाडबाडमा मात्र खाने हुन् केटाकेटीले। म त त्यही पनि खान्नँ। बरु चिया खान्छौ भने पकाइदिन्छु।´ बज्यैले एकै सासमा कुरो टुङ्ग्याइन्। बिर्खे खिस्स पर्‍यो। `आ! भैगो´ भन्न खोजेको थियो `आ! ल्याउनु न त!´ भन्न पुग्यो।

पाँच मिनेटमै बज्यैले दुई गिलास भरिभरि दूध चिया ल्याएर अघिल्तिर राखिदिइन्। `काम गर्ने मान्छेलाई खुसी राख्नुपर्छ। आँतले मागेजति खान दिनुपर्छ´ भन्ने बज्यै अलि धार्मिक र दयालु स्वभावकी थिइन्। साँच्चै घरमा चिसो कोक, डिउ, फ्यान्टा केही हुँदो हो त उनी दिन्थिन् पनि तर थिएन र चिया नै दिइन्। काम गरेका दिन गाउँमा चलेको चलनचल्तीको पैसा दिन र आँत भरिने गरी खान दिन उनले कहिल्यै कन्जुस्याइँ गरिनन्।

बज्यैले ल्याएर राखिदिएको स्टिलको गिलासको चिजलाई चिसो पो हो कि भनेर बिर्खेनीले आँखा तन्काएर जिज्ञासापूर्वक हेरी। चिया भएको थाहा पाएर खिन्न भई। च्याप्प गिलास समाएर सुरूप्पसुरूप्पको आवाज निकाल्दै चिया पिएर सकी।

शनिबारको हाट मानिसहरूको भिड छ। सात सय रूपैयाँको तातोसहित घुँडा घोट्दै बिर्खे बजारमा मानिसहरूको भिडमा मिसिन पुग्यो। उसको जीवनमा पच्चीस वर्षदेखि मिसिँदै आएकी बुढी पनि उसैको पदाचाप पछ्याउँदै हिँडिरहेकी छ। 'पैसा भनेको खर्च गर्नलाई हो; बरु खाने कुरा बासी राख्दा हुन्छ पैसा बासी राख्नु हुन्न´ बिर्खेको यही चिन्तन थियो।

आज पनि उसले सधैँको झैँ एक रूपैयाँ पनि बाँकी नराखी सक्नै पर्ने निधो गर्‍यो। बिर्खेले अब सपिङ सुरु गर्‍यो। सबैभन्दा पहिले त उसले आफूलाई प्रलय मन पर्ने चिसो ड्युको एउटा बोतल किन्यो सय रूपैयाँमा र झोलामा हाल्यो। सानोसानो ब्रोइलर कुखुरा; तीन सयमा। कुखुरा किन्दा बुढीचैँ रमाएर खपिसक्नु होइन। किन्नेबित्तिक्कै उसले च्याप्प समातेर गीत गाउँन खोजी हाली। बिर्खेले सातो टिप्यो र मात्र रोकिई।

त्यसपछि बिर्खेले चालीस रूपैयाँमा आधा किलो चिउरा किन्यो। उनीहरूलाई मासुसँग भातभन्दा पनि चिउरा नै मन पर्थ्यो। यसर्थ बिर्खेले चामल किन्न आवश्यक ठानेन। उसले तीस रूपैयाँको तेल र थप तीस रूपैयाँको मरमसला किन्यो। उसले बिर्सनै नसक्ने मूल कुरा एक बोतल लोकल ठर्रा पनि सय रूपैयाँ हालेर किनी भ्यायो। अब उसले आफ्नो खल्ती छाम्यो। खल्तीमा जम्मा एक सय बाँकी थियो। 'हैट! यो एक सय त अटो चढ्न चाहिन्छ,´ उसले आफैँलाई सचेत बनायो। उसले सय रूपैयाँमा अटो रिजर्भ गर्‍यो।

पैसा भएको बेलामा अटो रिजर्भ गरेर चढ्नु उसको आफ्नै सानको विषय थियो। बजारबाट उसको घर नामको झुपडी लगभग पच्चीस मिनेटको पैदल दुरीमा हुँदो हो तैपनि उसलाई पैसा भएसम्म पैदल हिँड्न मन पर्दैन।

अटोमा सानसँग बसेर बिर्खेले उपरखुट्टी लगायो। स्वास्नी उसको छेउमै राजासँग रानी बसे जसरी बसी। बिर्खे गमक्क परेर केके गम्न थाल्यो। बिर्खेनीले फेरि ज्यादै खुसी हुँदा गाइने उसकै शब्द र सङ्गीतको `चिरिपिचिरी तिरिपितिरी´ गाउन सुरु गरी। बिर्खेले स्वास्नीलाई गीत गाउनबाट रोकेन। अटो ड्राइभर भने उसको गीत सुनेर मुर्छा परुँला झैँ हाँस्न थाल्यो। रिजर्भ गरिएको अटोमा घरतिर फर्कँदै गर्दा बिर्खेले संसारकै गतिलो सवारीमा आफ्ना जोईपोइ सवार भइरहेको महसुस गर्‍यो।

बजारबाट हिँड्दाहिँड्दै उसले हरियोपरियो तरकारी किनिरहेका कर्मचारीहरू र गाउँकै स्कुलमा पढाउने शिक्षिकाहरूलाई मोलमोलाइ गरेर रासन आदि किन्दै गरेको देख्यो। सिङ्गै कुखुरा, सानै भए पनि ड्युको बोतल, दारु किन्न सकेको उसले आफ्नो अगाडि ती सागसब्जी किनिरहेका र मोलमोलाइ गरेर दालचामल किन्दै गरेका मानिसहरूलाई होचा र गरिब देख्यो। हुँदा खाने बिर्खेले हुनेखानेलाई अझ भनौँ भोलि के खाने ठेगान नभएको उसले आउँदा कैयन दिन खान पाउने ग्यारेन्टी भएका मानिसहरूलाई गरिब देख्यो। बिर्खेले एक पटक ती बजारेहरूलाई उपेक्षाको आँखाले हेर्‍यो। ती दम्पती घर आइपुग्ने बेलामा गाउँकै सम्पन्न व्यक्ति लप्टन बा सन्ध्या भ्रमणमा मग्न थिए। बिर्खेले सोच्यो- लप्टन बा पैसाको लोभले पैदल हिँडेका हुन्।

`आइजै! अब खानुपर्छ।´ बिर्खे आफैँले मासु पकाइसकेपछि आवाजसँगै इसारा मिलाएर स्वास्नीलाई बोलायो। उसले थालमा चिउरा हाल्यो र मासु दामासहीले दुई भाग लगायो। रक्सीको बोतल खोल्यो र आफ्नो गिलासमा मात्र हाल्यो। बिर्खेनीले पनि रक्सीको आस राखेकी थिई र त रित्तो गिलास भुइँमा ठ्वाक् ठ्वाक् पार्दै रक्सी मागी तर बिर्खेले स्वास्नीलाई रक्सी दिँदै दिएन। उसको बुझाइमा आइमाईले रक्सी खानुहुन्न। हुन पनि बिर्खेनी त्यस्तै थिई। एक पटक दसैँको बेलामा उसले रक्सी खान दिएको थियो। थोरै रक्सीले पनि बेस्सरी मातेकी बिर्खेनीले रातभरि तमासा देखाई। जोडजोडले खित्का छोडेर हाँस्ने अनि चिच्याएर गाएर घर मात्र होइन टोलै थर्काएकी थिई। त्यसयता बिर्खेले स्वास्नीलाई रक्सी सुँघ्न पनि दिएन। अहिले पनि रक्सी दिने कुरै भएन। बरु आधा भाँडो ड्यु छ्वास्स बोतल खोलेर दियो। स्वास्नीले पनि चित्त बुझाई र मिठो मुख पार्दै चिउरा र मासु स्वादले खाई।

बिर्खेले पनि आरामले मासु चिउरा खान थाल्यो। रक्सीमा ड्यु मिलाएर एक बोतल ठाउँको ठाउँ चिरिप्पै सोड्क्यायो।

भाँडाकुँडा माझेपछि ओछ्यानमा गएर बिर्खेनीले फेरि पेट अघाउँदा गाइने `चिरिपिचिरी तिरिपितिरी´ गीत सुरु गरी। दारुले झ्याप भएको बिर्खेले यस पटक पनि स्वास्नीलाई गीत गाउन रोकेन। भनेजस्तो खान पाएर रमाएकी, उज्यालो अनुहार पारेर मधुर स्वरमा गीत गाइरहेकी आफ्नै स्वास्नीलाई बिर्खेले अप्सरा झैँ देख्यो। गीत पनि उसलाई मधुर लाग्न थाल्यो। बिर्खेले एकटक कामुक आँखाले आफ्नै स्वास्नीलाई हेरिरह्यो; मन थाम्न सकेन र बत्ती निभायो।

बिहान घाम आइपुगुन्जेल पनि बिर्खे ओछ्यानमै लडिरहेको थियो। करिब आठ बजेको हुँदो हो; जाँगरिली स्वास्नी बिहान सखारै उठेर पानी ल्याउँने, घर बढारकुँढार गर्ने काम सकेर पेट अघाएपछि गाइने उही गीत गाउन थाली। स्वास्नीको गायनले बिर्खेको निद्रा भङ्ग गर्‍यो।

ऊ ओछ्यानबाट उठ्यो र बेलुकाको बचेखुचेको खानेकुरा राखेको हेर्न गयो। 'राम्रो चोक्टा जति आफूले खा´र टाउका र खुट्टा मात्रै पो छोड्दिएकी पो रैछ ए! धन्न यति पनि राख्दिछे,´ बासी मासु राखेको भाँडो हेर्दै ऊ बर्बराइरह्यो।

उसले बुढीले खाएर बाँकी रहेको बासी मासुको रहलपहल र बाँकी अलिकति चिउरा बेलुका पकाएकै भाँडोमा हालेर मोलमाल पारेर खायो।

`अहिलेसम्मलाई त मज्जैले खाइयो! बेलुका पो के खाने होला? फेरि आज कतै काम गर्न बोलाएका पनि छैनन्। बाहुनी बज्यैकोमा पनि हप्तामा दुई दिन मात्र हो घाँस काट्ने काम! ओहो! आज बेलुका के पो खाने होला?´ हात चुठ्दाचुठ्दै बिर्खेले सोच्यो।

यता स्वास्नीको सङ्गीत साधना अझै सकिएको थिएन। राति अप्सरा जस्ती देखेकी स्वास्नीलाई अहिले उसले फेरि गोज्याङ्ग्री देख्यो। भरै के खाउँको चिन्तामा रन्थनिएको बिर्खेले स्वास्नीलाई ठूलो स्वरमा इसारासहित झपारेर चुप लगायो।

`यी नाथे छोराछोरीले पनि बुढेसकालमा साथ नदिने रैछन्,´ उसले पाँच वर्षदेखि इन्डिया गएर उतै रमाइरहेको बाउआमालाई एक रूपैयाँ पनि कमाइ नपठाउने आफ्नै छोरालाई सम्झियो। पोइल गएकी छोरीलाई सम्झियो।

निकैबेर पुर्पुरोमा हात राखेर सोचमग्न भएको बिर्खेले अचानक सुनारनी काकीले `इँटा ओसार्ने काम थियो बुढाबुढी नै आओ है बिर्खे´ भनेर अस्ति भर्खर भनेको सम्झियो। उसका मुख मुद्रामा खुसीको सञ्चार भयो। अर्थोक भन्दा पनि भरै खान पाउँने पक्कापक्की भएकाले ऊ खुसी देखियो। अघि भर्खर रिसाएर गाली गरेकी स्वास्नीलाई मायालु भावमा हेर्‍यो र `काम गर्न जाऊँ´को इसारा गर्‍यो।

भदौरे गर्मीमा भुइँबाट माथि तेस्रो तलाको छतसम्म इँटा ओसार्ने एक ओखडाको काममा बिर्खेका दम्पतीले नियुक्ति पाए। `बुढाबुढी भएर दिनभरिमा यति इँटा ओसारेर सक; आज दिउँसोको खाजा र भरै बेलुकाको खाना खुवाएर एक हजार पैसा दिउँला,´ सुनारनी काकीले इटाँको उरुङ देखाउँदै बिर्खेका दम्पतीलाई उनीहरूले पाउने सेवासुबिधा र पारिश्रमिक सुनाइन्। बिर्खे खुसी भयो र किच्च हाँस्यो। लोग्ने हाँसेको देखेर स्वास्नी पनि मज्जैले हाँसी।

इँटा बोक्दाबोक्दै बिर्खेले सोच्न थाल्यो, `दिउँसोको खाजा र रातिको खानाको पनि व्यवस्था भयो। अझ एक हजारै पैसो पनि पाइने भैयो। त्यो एक हजार पैसा पाएपछि के पो गर्नुहोला?´

उसले दुईचार छाक खान पुग्ने चामल र तरकारी किन्नपर्ला भनेर सोच्दै सोचेन। केही पैसा बचत गरेर अप्ठ्यारो पर्दा खर्च गर्नुपर्छ भनेर पनि सोचेन। `आ! भोलि कतै काम पनि छैन। बडहरी बजार जाउँला। हिजोको भन्दा अलि ठूलो कुखुरो, अलि ठूलो चिसोको जम्बो बोतल र डेढ बोतल जति रक्सी किनौँला। फेरि अटो पनि त चढ्नै पर्‍यो। बचेखुचेको पैसाले चिउरा र नुनतेल किन्नुपर्ला,´ बिर्खेले मुख मिठ्याउँदै फेरि एकै छाकमा भएजति पैसो सक्ने दृढ निर्णय लियो। निर्णय लिन सकेकोमा ऊ खुसी पनि भयो।

यही क्रम चलिरहँदा बिर्खेले कि त स्वास्नीलाई मासु र चिसो पेय मात्र खुवाएर रोगी बनाउने भयो या त काम नपाउँदा भोकै पेटमा सुताउने भयो। अघाएको पेटमा गीत गाउने बिर्खेनीले भोको पेटमा रुन पनि त जानेकी छ। बिर्खेनीले भोकमा रोएको सुन्न नपरोस्। भुँडीमा अन्नका दाना र सागका तिरिन् परेपछि उसले सन्तुष्टिमा गाउने कृतज्ञताको सुमधुर गीत सुन्न पाइयोस्। के थाहा, उसले गाउने गीत अन्न फलाउने किसानको सम्मानमा गाइएको गीत पो हो कि? या त मिहिनेतकस मजदुरहरूको विजयको सङ्गीत पो हो कि? अझ हुन सक्छ एक्काइसौँ शताब्दीको उत्तरार्द्धमा परिष्कृत भएर आएको समाजवादको घोषणापत्रको वाचन पो हो कि? वा हुनसक्छ आफ्नो स्वतन्त्र नामले चिनिन नसकेकी कहिले बाउका नामबाट तिखेकी छोरी, अहिले लोग्नेका नामबाट बिर्खेनी र भोलिका दिनमा छोराको नामबाट कालेकी आमा भनेर चिनिनु पर्ने ऊ आफ्नै मुक्तिको वा अस्तित्वको खोजीको गीत पो गाउँदै छे कि? 

तर जे होस् कृतघ्न यो दुनियाँमा उसले गाउँने गीत कृतज्ञताको गीत हो। पेट अघाएको प्रमाण हो। त्यसैले उसले नबुझिने नै सही गीत गाउनै पर्छ। भाषाशास्त्रीहरूले पत्ता लगाउन बाँकी रहेको भाषाको, सङ्गीतकारहरूले आठौँ सुरका रूपमा मान्यता दिन बाँकी बिर्खेनीको आफ्नै शब्द, सङ्गीत र गायनको सुमधुर गीत उसले गाउन पाउनै पर्छ।

बर्दिवास, महाेत्तरी।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad