ad ad

मधेस


डाचाराज वाग्लेको स्मृतिमा अक्षयकोष स्थापना

डाचाराज वाग्लेको स्मृतिमा अक्षयकोष स्थापना

नेपालखबर
भदौ ३०, २०७९ बिहिबार ११:२८, सर्लाही

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य डाचाराज वाग्लेकी पत्नी सरस्वती मिश्रले सर्लाहीको हरिपुर १ हजारबिघामा रहेको पाँचकुमार रामऔतार लक्षिया माविमा तीन लाख रुपैयाँको अक्षयकोष स्थापना गरेकी छन्। 

विद्यालय प्रांगणमा बुधबार आयोजित कार्यक्रममा मिश्रले गरिब तथा जेहेन्दार विद्यार्थीलाई अध्ययनमा सहयोग गर्ने उद्देश्यले ‘डाचाराज वाग्ले सरस्वती मिश्र’ अक्षयकोषको स्थापना गरेकी हुन्। 

कार्यक्रममा मिश्रले विद्यालयका प्रधानाध्यापक विनोदकुमार मिश्रलाई तीन लाख रुपैयाँको चेक हस्तान्तरण गरिन्। 

माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज वाग्लेको ५१ वर्षको उमेरमा २१ माघ २०७७ मा सर्लाहीकै बरहथवामा भएको रहस्यमय सवारी दुर्घटनामा मृत्यु भएको थियो। 

वाग्लेकी पत्नी मिश्रले अक्षयकोषको ब्याजबापत प्राप्त हुने रकमले बर्सेनि गरिब तथा जेहेन्दार विद्यार्थीलाई पठनपाठनमा सहयोग गरिने बताइन्। 

कार्यक्रममा उनले पतिको मृत्युको यथार्थ कारण अझै पनि सार्वजनिक नभएको भन्दै राज्यलाई घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग गरिन्। 

कार्यक्रममा माओवादी केन्द्रका स्थायी समिति सदस्य प्रह्लाद बुढाथोकीले नेता वाग्ले निस्कलंकित र निडर नेता भएको बताए।

कार्यक्रममा हरिवन नगरपालिकाका मेयर कमल बुढाथोकी, बरहथवा नगरपालिकाकी मेयर कल्पना कटुवाल, नेकपा एमालेका नेता चुडामणि वाग्ले, विद्यालयका अध्यक्ष विजयकुमार सिंह, हरिपुर १ का वडाध्यक्ष नानीबाबु थापा, डाचाराज वाग्लेका भाइ विश्वराज वाग्ले लगायतले नेता वाग्लेले आफ्नो जीवनकालमा समाजमा पुर्याएको योगदानको चर्चा गरेका थिए। 

करिब अढाई वर्षअघि वाग्लेले पीडितलाई साथमा लिएर सर्लाहीका कुख्यात् सुदखोर श्याम परदेशी र लालबाबु यादव लगायतयतलाई कानुनी कारबाही गराउने अभियानको नेतृत्व गरेका थिए। हाल यो मुद्दा अदालतमा विचाराधीन छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .