मधेस


पत्रकार कर्णले तोडे अनसन

पत्रकार कर्णले तोडे अनसन

नेपालखबर
बैशाख ८, २०८३ मंगलबार २०:५२, जनकपुरधाम

सामाजिक अभियन्ता एवम् पत्रकार धर्मेन्द्र कुमार कर्णले गत तीन दिनदेखि जारी आमरण अनसन मंगलबार साँझ स्थगित गरेका छन्।

विभिन्न पाँच बुँदे माग सहित पत्रकार कर्ण जनकपुरधामको जनक चोकमा आमरण अनसनमा बसेका थिए। 

मधेश प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री रानीशर्मा तिवारी अनसनस्थल पुगेर कर्णलाई जुस खुवाउँदै अनसन स्थगन गराएकी हुन्।

अनसनले उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि राष्ट्रिय मानव अधिकार आयोगको पहलमा प्रदेश सरकारका प्रतिनिधिको रुपमा मन्त्री तिवारीले चरणबद्ध रुपमा सकेसम्म माग सम्बोधन गर्ने आश्वासन दिएकी थिइन्।

अनसन स्थगित गराउँदै मन्त्री तिवारीले भनिन्, ‘सामाजिक अभियन्ता पत्रकार कर्णको मागहरूलाई गम्भीर रूपमा लिएका छौँ। ती विषयमा प्रदेश सरकारबाट सम्बोधन हुन सक्ने माग चरणबद्ध रूपमा सम्बोधन गर्ने र संघीय सरकार मातहत रहेका माग सम्बोधनका लागि पहल गर्नेछु ।’ 

उनले कर्णको स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गर्दै जीवन र स्वास्थ्यभन्दा ठूलो कुनै आन्दोलन नहुने उल्लेख गरिन्। ‘उहाँको स्वास्थ्य जोगाउनु पहिलो प्राथमिकता हो, त्यसैले हामीले आग्रह गरेर अनसन स्थगित गराएका हौँ,’ उनले भनिन्।

अनसन स्थगित गरेपछि पत्रकार कर्णले आफूले उठाएका मुद्दाहरूप्रति सरकारको ध्यान गएको भन्दै आंशिक सन्तुष्टि व्यक्त गरे। ‘मेरो उद्देश्य व्यक्तिगत नभई प्रणाली सुधार हो। सरकारबाट पहिलो पटक औपचारिक रूपमा आश्वासन आएको छ। यसलाई सकारात्मक रूपमा लिएको छु,’ कर्णले भने।

कर्णले आइतबारदेखि सुरु गरेको सत्याग्रहमार्फत शिक्षा प्रणालीमा सुधार, माध्यमिक तहको गुणस्तर अभिवृद्धि, अर्थतन्त्रको लागत न्यूनीकरण, निजी क्षेत्रका अवरोध हटाउनेलगायतका मागहरू अघि सारेका थिए।

साथै, नेपाल वान टेलिभिजनसँग सम्बन्धित नीतिगत अनियमितताको छानबिन, गुनासो व्यवस्थापन प्रणाली सुधार र धार्मिक स्थलको जग्गा दर्ता समस्या समाधान जस्ता विषय पनि उनका एजेन्डामा समेटिएका थिए।

अनसन सुरु भएको पहिलो दिन नै प्रहरीले कर्णलाई नियन्त्रणमा लिए पनि कानुनी आधार स्पष्ट नभएपछि सोही रात रिहा गरेको थियो।

त्यसपछि पुनः उनी अनसनमा बसेका थिए। पत्रकार कर्ण लामो समय कारोबार दैनिक र नेपाल वान टेलिभिजन सहित काठमाडौँस्थित विभिन्न मिडियामा काम गरिसकेका छन्। उनी नेपाल पत्रकार महासंघका पूर्वसचिव समेत हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad