विचार


भारतबाट खोप पाएका छिमेकी प्रभावित होलान् त?

भारतबाट खोप पाएका छिमेकी प्रभावित होलान् त?

मनोज जोशी
माघ १२, २०७७ सोमबार १३:५६,

नयाँ दिल्लीले भारतमा बनेको कोरोनाविरुद्धको खोप निर्यात अभियान सुरु गरेको छ। केही खोप अनुदानमा दिँदैछ भने अरु बेच्दैछ। स्वदेशमा भने यसलाई निकै ठूलो कूटनीतिक विजयका रुपमा प्रचार गरिँदैछ। यसले नयाँ दिल्लीलाई ठुल्ठूला सफलता दिलाउनेछ– खासगरी छिमेकमा भनिँदैछ।

अन्य मुलुकलाई खोप उपलब्ध गराउने भारतीय कार्यले कति ठूलो प्रभाव पार्ला? के यो काम सही हो? यसको मूल्यांकन गर्नु कठिन छ। किनभने अहिले भारतमा खोप कूटनीतिलाई अत्यन्त चतुर्‍याइँपूर्ण कार्यका रुपमा व्याख्या गरिँदैछ। वास्तवमा मोदी सरकारको यो कार्य आफ्नै जनताप्रति लक्षित छ। सरकार चाहन्छ– खोपमा भारतले हात पारेको उपलब्धीको जनताले प्रशंसा गरुन् र महामारीको सुरुवातमा सरकारले चालेको प्रलयकारी गल्तीलाई बिर्सून्।

तर, के खोप पाएका हाम्रा छिमेकी उचित मात्रामा कृतज्ञ होलान् त? त्यो आशा नगर्नुस्।

अन्तर्राष्ट्रिय सम्बन्धमा यस्तो कृतज्ञता ‘ओभररेटेड’ साबित हुने गरेको छ। सन् १९५० को दशकमा सोभियत संघले इतिहासकै सबैभन्दा ठूलो परिमाणमा उत्पादनका साधन चीनमा स्थानान्तरण गर्‍यो। चीनमा उसले ठुल्ठूला उद्योग स्थापनाका लागि आवश्यक पर्ने सबैथोक– पुँजीदेखि उपकरण, विमान, कार, ट्रक र आधुनिक औजारहरु दियो। तर, १९६० को मध्यदेखि चीनले सोभियत संघलाई दुश्मन ठान्न थाल्यो।

त्यसैगरी १९६० को दशकमा अमेरिकाले भारतलाई ठूलो सहयोग दियो। शिक्षाको आधुनिकीकरण, वैज्ञानिक र प्राविधिक क्षमता वृद्धि, हरित क्रान्तिका लागि खाद्य सहयोग र बायो टेक्नोलोजीका क्षेत्रमा सो सहयोग गरेको थियो। तर, सन् १९७१ मा आइपुग्दा भारत र अमेरिकाबीच झण्डै युद्ध भएको थियो।

उतिबेला त्यत्रो ठूलो सहयोग पाए पनि चीन र भारतका वर्तमान पुस्तालाई ती घटनाबारे केही थाहा छैन।

त्यो हिसाबले त भारतको खोप सहयोग धेरै सानो हो। भारतले भुटान, माल्दिभ्स, नेपाल, बंगलादेश, म्यानमार र सेसेल्सलाई करिब ५० लाख खोप निशुल्क दिएको छ। साउदी अरब, दक्षिण अफ्रिका, ब्राजिल र बोलिभियालाई पनि भारतले खोप पठाएको छ। तर, त्यो सशुल्क हो।

खोप आपूर्तिलाई ब्राजिलले हनुमानले ल्याएको सञ्जीवनी बुटीसँग तुलना गरेको छ। जसलाई भारतीय सञ्चारमाध्यमले खुब महत्व दिएका छन्। तर, त्यो तुलना भाजपाको मिडिया सेलको उत्पादन हो कि उसको ब्राजिली समकक्षीको, स्पष्ट छैन।

अस्ट्राजेनेकाको खोप, जसलाई भारतमा कोभिसिल्ड भनिन्छ, को आपूर्ति ढिला हुँदा ब्राजिलका राष्ट्रपछि जायर बोल्सोनारो दिक्क भएका थिए। ब्राजिलमा खोपको सम्पूर्ण जस बोल्सोनारोका विपक्षी तथा साओ पाउलोका गभर्नर जोआयो दोरियाले लिइरहेका थिए। दोरियाले चीनको सिनोभ्याकको खोप त्यहीँ उत्पादन गरेर लगाउन पनि थालिसकेका छन्। बोल्सोनारो खोप ल्याएर दोरियाले पाइरहेको जस आफू पनि लिन चाहन्थे।

भारतले निर्यात गरिरहेको खोप अक्सफोर्ड युनिभर्सिटी र अस्ट्राजेनेका नामक कम्पनीले साझेदारीमा विकास गरेका हुन्। जसलाई भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको हो।

अक्सफोर्ड र अस्ट्राजेनेकाका अनुसन्धाताले आफ्नो खोपको क्लिनिकल परीक्षणको तेस्रो चरणको नतिजा द ल्यान्सेट जर्नलमा प्रकाशित गरेका थिए। जसमा उनीहरुले खोप सुरक्षित र प्रभावकारी भएको बताएका थिए।

भारतले स्वदेशमै विकसित कोभ्याक्सिन पनि निर्यात गरिरहेको छ या छैन, स्पष्ट छैन। तर, यो खोपको निर्माता भारत बायोटेकले हालसम्म तेस्रो चरणको परीक्षणको तथ्यांक सार्वजनिक गरेको छैन।

फिलिपिन्समा कोभ्याक्सिनको आपतकालीन प्रयोगका लागि भारत बायोटेकले दरखास्त दिएको छ। तर, भारतमा भने यो खोप लगाउनुअघि मानिसहरुले सहमतिको फारम भर्नुपर्ने हुन्छ। कोभ्याक्सिनको पहिलो चरणको परीक्षणको तथ्यांक जनवरी २१ मा द ल्यान्सेटमा प्रकाशित भएको थियो। जसको तेस्रो चरणको परीक्षण चल्दैछ।

आफ्नो कूटनीतिक प्रबद्र्धनका लागि कोभिड–१९ लाई उपयोग गरेकोमा साउथ ब्लकलाई दोष दिन कठिन छ। किनभने भारतले चीनको नक्कल मात्रै गरेको हो। चीनले (सायद उसकै लापरबाहीले महामारी फैलिन सहयोग पुगेको हुनसक्छ) महामारीलाई कूटनीतिक उदेश्यले प्रयोग गरेको छ। कोभिड–१९ सम्बन्धी भाष्य परिवर्तन गर्न तथा आफूलाई उदार र दानी मुलुक पुष्टि गर्न चीनले फ्रान्स, इटलीसहित अनेकौँ युरोपेली मुलुकमा मास्क, पीपीई, पञ्जा, टेस्टिङ किट पठाउनुका साथै भेन्टिलेटर पनि बेच्यो। अलिबाबा फाउन्डेसन लगायत चिनियाँ संस्थाहरुले अनेकौँ मुलुकमा सहयोग उपलब्ध गराए।

हालसम्म चिनियाँ खोपबारे पर्याप्त सूचना उपलब्ध छैन। सिनोभ्याक खोपको पहिलो र दोस्रो चरणको केही तथ्यांक अध्येताहरुले प्रकाशित गरेका छन्। यो खोपको प्रभावकारितासम्बन्धी रिपोर्ट पनि एकअर्कामा बाझिएको देखिन्छ। ब्राजिलका अध्येताहरुले यो खोप ५०.४ प्रतिशत प्रभावकारी छ भनिरहँदा टर्कीले खोप ९१.२५ प्रतिशत प्रभावकारी भएको दाबी गरिरहेको छ। त्यस्तै चीनको सिनोफार्मले आफ्नो खोप तेस्रो चरणको परीक्षणपछि ७८ प्रतिशत प्रभावकारी छ भनेको छ। तर, त्यही खोप यूएईमा ८६ प्रतिशत प्रभावकारी भएको अध्ययनले देखाएको छ।

सिंगापुर, मलेसिया र फिलिपिन्सजस्ता कयौँ एसियाली मुलुकले सिनोभ्याकसँग खोप सम्झौता गरेका छन्। जनवरीमा इन्डोनेसियाले यही खोप लगाउने अभियान सुरु गरिसकेको छ। टर्कीले आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ भने सिनोभ्याकले ब्राजिल र चिलीसँग पनि सम्झौता गरेको छ। यूएई र बहराइनले सिनोफार्मसँग सम्झौता गरेका छन्।

कोभिड–१९ कूटनीतिमा चीनलाई छविको समस्या छ। जुन भारतलाई छैन। तर, भारतलाई अर्को समस्या छ– छिमेकीहरुको विचारलाई प्रभावित तुल्याउने स्रोत भारतसँग कम छ। उदाहरणका लागि ऋण, अनुदान र सैन्य उपकरणलाई लिन सकिन्छ। यी क्षेत्रमा चीन भारतभन्दा निकै अगाडि छ। त्यसैले यो क्षेत्रमा मित्रता कमाउन र मानिसहरुलाई प्रभावित पार्न नयाँ दिल्लीले कोभिड–१९ खोपको सहारा लिन्छ भने हामीले त्यसलाई नराम्रो मान्नु हुँदैन। किनभने तपाईंसँग जे छ, त्यसैले काम चलाउनुहुन्छ।

तर, एउटा समस्या भने छ। भारतमा दशौँ करोड मानिसलाई खोप लगाउन बाँकी छ। यस्तो अवस्थामा ५० लाख खोप निर्यात गरेर सरकारले सही काम गर्‍यो त? त्यो खोप जोखिम समूहमा रहेका भारतीयहरुलाई लगाउन प्रयोग गर्न सकिन्नथ्यो?

ड्युक युनिभर्सिटीको तथ्यांकअनुसार विश्वको १६ प्रतिशत मात्रै जनसंख्या भएका धनी मुलुकहरुको एउटा सानो समूहले विश्वको ६० प्रतिशत खोप आपूर्ति ओगेटेको छ। क्यानडाले आफ्नो जनसंख्यालाई ६ पटक लगाउन पुग्ने खोप रिजर्भ गरेको छ।

पर्याप्त स्रोत हुँदा दान दिनु असल काम हो। तर, आफ्नै नागरिकलाई वञ्चित गरेर दान गर्नु मूर्खता हो। सेरम इन्स्टिच्युटको वित्तीय बाध्यता हामीले बुझ्नै पर्छ। जसले सम्झौताअनुसार खोप पुर्‍याउनै पर्ने हुन्छ। तर, साउथ ब्लकको खोप कूटनीतिमा हामीले उत्सव मनाउन जरुरी छैन। किनभने जोखिममा रहेका भारतीयहरुलाई आवश्यक संरक्षण दिन ढिलाइ हुँदा थुप्रै बिरामी हुनेछन् र कयौँले ज्यान गुमाउनेछन्।

(द वायरबाट। मनोज जोशी अब्जर्भर रिसर्च फाउन्डेसनका वरिष्ठ अध्येता हुन्)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad