कुनै पनि विशेष राजनीतिक घटनाक्रम हुनासाथ सामाजिक सञ्जालमा कडा प्रतिक्रिया जनाइहाल्ने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सोमबार सर्वाेच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने फैसला सुनाउँदा भने यो खबर लेख्दासम्म आफ्ना तर्फबाट कुनै प्रतिक्रिया प्रकट गरेका छैनन्।
एमाले एकताका लागि आइतबार राति कार्यदलमा १० बुँदे सहमति हुनासाथ अब प्रतिनिधि सभा पुनःस्थापना तथा देउवा प्रधानमन्त्री नहुने निश्चितैजस्तो भएकोजसरी फेसबुक तथा ट्विटरमा लेखेका थापा आज त्यसविपरीत फैसला आउँदा भने केही नबोलेका हुन्।
थापाको स्टाटसविरुद्ध एमालेका वरिष्ठ नेता नेपालले समेत आपत्ति जनाएका थिए।
यो पनि : एमाले सहमति : प्रधानमन्त्रीका प्रेस सल्लाहकारको व्याख्याप्रति माधव नेपालको आपत्ति

आइतबार राति त्यस्तो कटाक्ष गरेका थापाले सोमबार भने आफ्ना नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको स्टाटस सेयर गरेर चित्त बुझाएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक गत जेठ ७ गते मध्यराति प्रतिनिधि सभा विघटन गरेकी थिइन्। त्यसविरुद्ध नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा १४६ सांसदले हालेको मुद्दामा सर्वोच्च अदालतले आज सोमबार फैसला सुनाउँदै प्रतिनिधि सभा पुनःस्थापना गर्नाका साथै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको हो।
गत जेठमा संविधानको धारा ७६ (५) बमोजिम बहुमत १४६ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री पदमा दाबी गरे पनि राष्ट्रपति भण्डारीले बहालवाला प्रधानमन्त्री केपी शर्मा ओलीबाट पनि १५३ सांसद आफ्नो समर्थनमा रहेको दाबी आएको भन्दै देउवालाई प्रधानमन्त्री पदमा नियुक्ति दिन अस्वीकार गरेकी थिइन्। अदालतको परमादेशसँगै अब देउवा त्यही दाबीका आधारमा प्रधानमन्त्री हुने भएका हुन्।
Shares

प्रतिक्रिया