राजनीति


वडा सचिवमाथि आक्रमण गर्नेलाई भएन कारबाही, ‘पीडकलाई बिमलेन्द्र निधिको संरक्षण’

वडा सचिवमाथि आक्रमण गर्नेलाई भएन कारबाही, ‘पीडकलाई बिमलेन्द्र निधिको संरक्षण’

शैलेन्द्र महतो
साउन २५, २०७८ सोमबार ९:३९, काठमाडौँ

धनुषाको नगराइन नगरपालिकाका वडासचिवहरु दुई सातादेखि कामकाज ठप्प गरी आन्दोलनमा छन्। 

११ साउनमा नगराइन-५ गंगुलीका वडा सचिव सुबोध झामाथि कार्यालयमै हातपात तथा दुव्र्यबहार भएको थियो।  

सचिव झामाथि आक्रमण गर्ने गंगुलीका राधेश्याम झा, भवन झा, आलोक कुमार झा लगायतका व्यक्तिहरूलाई पक्राउ गरी कारबाहीको माग गर्दै वडासचिवहरु १४ दिनदेखि कामकाज ठप्प गरी आन्दोलनमा उत्रिएका हुन्। घटनालगतै जिल्ला प्रहरी कार्यालय धनुषा, जिल्ला प्रशासन कार्यालयमा उजुरी दिँदा समेत उनीहरुलाई पक्राउ नगरिएको वडा सचिव धर्मेन्द्र मिश्रले बताए। 

जिल्ला प्रशासन कार्यालय धनुषाले १२ साउनमै जिल्ला प्रहरी कार्यालयलाई आक्रमण गर्नेहरुलाई पक्राउ गरी कारबाही गर्न पत्र लेखेको थियो। जिल्ला प्रहरी कार्यालयले भने पक्राउको लागि प्रहरीचौकी फुलगामालाई पत्र लेखेको छ। तर, हालसम्म उनीहरुपक्राउ नपरेपछि वडासचिवहरु आन्दोलनमा उत्रिएका हुन्।

कुटपिट गर्नेहरु काँग्रेस उपसभापति विमलेन्द्र निधिका मान्छे भएका वडासचिवहरुको आरोप छ। प्रहरी र जिल्ला सरकारी वकिल कार्यालयले उनीहरुविरुद्ध जाहेरी समेत दर्ता गर्नममेत नमानेको हातपातमा परेका पीडित सचिव झाले बताए। ‘पीडकहरु नेता निधिकै संरक्षणमा रहेका सचिवहरुको आरोप छ। नगराइन निधिको गृहनगर हो। 

‘हामी कुटपिट गर्नेविरुद्ध जाहेरी दर्ता गराउन पटक पटक जिल्ला प्रहरी कार्यालयमा गयौं। तर प्रहरीले जाहेरी लिन अस्वीकार गर्दै आएको छ,’ पीडित झाले नेपालखबरसँग भने, ‘सरकारी वकिल कार्यालयमा मार्फत जाहेरी दिन खोज्यौँ। सरकारी वकिल कार्यालयका न्यायाधिकवक्ता सीताराम अर्यालले उनीहर बिमलेन्द्र निधिका मान्छे भएकाले कुनै कारबाही हुँदैन भन्नु भयो। जाहेरीसमेत लिनु भएन।’

यता जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी जितेन्द्र बस्नेतले सचिवमाथि आक्रमण गर्नेहरुको खोजी भइरहेको दाबी गरे। ‘उनीहरुको खोजी भइरहेको छ। म केही दिनअघि मात्रै धनुषा आएकाले यो घटनाको विषयमा बुझ्दै छु,’ बस्नेतले भने, ‘घटनामा संलग्नहरुको खोजतलास जारी छ। दोषीमाथि अवश्य कारबाही हुन्छ।’

वडासचिवहरु लामोसमयदेखि कामकाज ठप्प गरी आन्दोलनमा उत्रिएपछि वडा कार्यालयहरुको निमित सेवा प्रवाह बन्द भएको छ। जसको कारण सेवाग्राहीहरु समस्यामा परेका छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .