ad ad

राजनीति


माधव नेपाल र महन्थ ठाकुर दुवैको पार्टीको नाम परिवर्तन

माधव नेपाल र महन्थ ठाकुर दुवैको पार्टीको नाम परिवर्तन

नेपालखबर
भदौ ४, २०७८ शुक्रबार १३:४५, काठमाडौँ

माधवकुमार नेपाल र महन्थ ठाकुर पक्षले निर्वाचन आयोगमा दल दर्ताका लागि दिएको नाम परिवर्तन गरेका छन्।

मंगलबार नेपाल पक्षले नेकपा एमाले समाजवादी र ठाकुर पक्षले जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) नाममा दल दर्ताको लागि निवेदन दिएको थिए।

तर, ती नामहरू दर्ता गर्न नमिल्ने भएपछि दुबै पक्षले नाम परिवर्तन गर्ने भएका हुन्। नेपाल पक्षले नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी बनाउन निवेदन दिइसकेको छ।

आयोग उच्च स्रोतका अनुसार नेपाल पक्षले बिहीबार सो नाम राखेर नयाँ निवेदन पेश गरिसकेको छ।

‘उहाँहरुले नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी नाम बनाउन निवेदन हिजै दिनुभएको छ,’ स्रोतले भन्यो, ‘आयोगको सचिवालयमै यसबारे छलफल भइसकेको छ। उहाँहरु त्यसको बाँकी डकुमेन्ट लिएर आजै आयोग आउने बताउनुभएको छ।’

सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाका आधारमा एमाले जोडिएको र जसपा जोडिएको पार्टीको दल दर्ता नहुने संभावना देखेर उनीहरुले नाम परिवर्तन गरेका हुन्। 

‘मंगलबार आयोगमा दर्ता भएका जनता समाजवादी पार्टी नेपाल (जसपा) र नेपाल कम्युनिष्ट पार्टी एमाले समाजवादी दुबै नाम परिवर्तन भइसकेको छ,’ आयोग स्रोतले भन्यो।

जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव पक्षले आफ्नो पार्टीसँग मिल्ने नाम नदिन निर्वाचन आयोगमा बिहीबार निवेदन दिएका थिए।

यस्तै नेकपा एमालेले पनि आफ्नो दलको नाम जोडेर कुनै नाम नदिन निर्वाचन आयोगमा शुक्रबार निवेदन दिइसकेको छ। महन्थ ठाकुर पक्षले भने परिवर्तन गर्ने नाम खोजी गरिरहेको छ।

स्रोतका अनुसार ठाकुर पक्षले आयोगमा दल दर्ताका लागि निवेदन दिएका ज्ञानेन्द्र यादवको दल लिने प्रयास गरिरहेका छन्।

ज्ञानेन्द्र यादवले आफ्नो दलको नाम फिर्ता लिने र त्यही नाम ठाकुर पक्षलाई दिन अहिले छलफल गरिरहेका छन्।

ठाकुर पक्षका एक नेताका अनुसार लोकतान्त्रिक समाजवादी पार्टी राख्ने विषयमा पनि छलफल भइरहेको छ । ठाकुर पक्षले आजै नयाँ नाम जुराएर आयोगमा निवेदन दिँदैछ। ‘नयाँ नामबारे हामी छलफलमै छौं, ती नेताले भने, ‘आजै नाम जुराएर आयोगमा निवेदन दिन्छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .