ad ad

राजनीति


ओलीको ‘अर्ली इलेक्सन’ प्रस्तावले कांग्रेस उत्साहित

ओलीको ‘अर्ली इलेक्सन’ प्रस्तावले कांग्रेस उत्साहित

केशव सावद
असोज १३, २०७८ बुधबार १९:२२, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘अर्ली इलेक्सन’ को प्रस्ताव गरेपछि सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस उत्साहित देखिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बन्ध सुधारका लागि पठाएका ‘दूत’सँग अध्यक्ष ओलीले समयअगावै चुनावको प्रस्ताव गरेका थिए।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग भएका तीन वटै भेटमा अध्यक्ष ओलीले अग्रिम चुनाव गर्नुपर्ने कुरा उठाएका थिए। उनको प्रस्तावलाई कांग्रेसले सकारात्मक रुपमा लिएको छ। 

प्रधानमन्त्री देउवाले अवरुद्ध संसद् खुलाउन तथा वैशाखको स्थानीय तहको चुनाव सहज रुपमा सम्पन्न होस् भन्ने उदेश्यले कानुनमन्त्री कार्कीलाई ओलीसँग भेट्न पठाउने गरेका छन्।

‘सत्ता पक्ष र प्रतिपक्षीबीच ठूलो दरार पैदा भयो। संसद् चल्ने अवस्था रहेन। उच्चस्तरमा सहमति कायम गरेर संसद् चलाउन, संविधान कार्यान्वयन गर्न र निष्पक्ष ढंगले आगामी वैशाखमा चुनाव गर्न सरकारले संवाद सुरु गर्न चाहेको हो,’ प्रधानमन्त्रीका विश्वासपात्रमध्येका एक केन्द्रीय सदस्यले नेपालखबरसँग भने, ‘त्यसकै लागि प्रधानमन्त्रीले दूतका रुपमा ज्ञानेन्द्रजीलाई विपक्षी दलका नेता कहाँ पठाइरहनुभएको हो।’ 

कार्कीसँगको भेटमा ओलीले संसद् चलाउनतिर होइन, चुनावतर्फ जान प्रस्ताव गरेका थिए।

‘ओलीले नचल्ने संसद् किन चलाउनु पर्‍यो? चुनावमा जाने हो भने मेरो सहमति छ। राष्ट्रिय सहमतिको सरकार नै किन चाहियो? यही सरकारले आगामी वैशाखभित्रै चुनाव गरौं भन्ने प्रस्ताव गर्नुभएको छ,’ ती नेताले भने, ‘विपक्षी दलले अर्ली इलेक्सनको प्रस्ताव गरे पनि चुनावअघि राष्ट्रिय महत्वका धेरै कामहरु गर्नुछ। ती कामहरुमा रचनात्मक सहयोग गर्नुस् भन्ने प्रधानमन्त्रीको आग्रह हो।’

महाधिवेशन रोक्ने खेल?
कांग्रेसका नेताहरुले पार्टी अर्ली इलेक्सनमा जान तयार रहेको प्रतिक्रिया दिएका छन्। प्रधानमन्त्री देउवानिकट र इतर दुवै समूहका नेताहरुको भनाइ उही छ।

कम्युनिस्ट पार्टीबीच विग्रह देखिएको समयमा चुनावमा जाँदा सहज हुने उनीहरुको आकलन छ।

‘गएको चुनावमा एक तिहाइसमेत मत नपाएको पार्टीले सरकार सञ्चालनका लागि गठबन्धन जोगाउन कति सहमति–सम्झौता गर्ने?’ कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले भने, ‘अहिलेकै अवस्थामा चुनावमा गए जितिन्छ। यस कारण पनि नेपाली कांग्रेस अर्ली इलेक्सनमा जान तयार छ।’

लामो समय सरकार चलाए सरकारका कमजोर पक्षहरुलाई बढाइचढाइ गरेर विपक्षीले चुनावी एजेन्डा बनाउन मौका पाउने उनको तर्क छ।

कांग्रेसका अर्का केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले पनि एमाले अध्यक्ष ओलीको प्रस्तावलाई पार्टीले सकारात्मक रुपमा लिएको बताए। 

‘विपक्षी दलका नेताले गरेको प्रस्तावलाई कांग्रेसले बेठिक मान्दैन। हामीले सकारात्मक नै मानेका छौँ,’ विश्वकर्माले भने, ‘कांग्रेस तयार छ। आगामी वैशाखमै चुनाव गर्न सकिन्छ।’

कांग्रेसका अर्का केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पनि जनमत नै अन्तिम विकल्प भएको बताए। तर, समयअगावैको चुनाव कांग्रेसको महाधिवेशन भाँड्ने खेल हुनसक्ने उनको आशंका छ।

‘संसदको अकाल मृत्यु हुनुहुँदैन भन्ने हो। संसदले पूर्णकाल बिताउनुपर्छ,’ उनले भने, ‘अहिले हाम्रो प्राथमिकता महाधिवेशन हो। अर्ली इलेक्सनका नाममा महाधिवेशन अल्मल्याउने खेल हो कि भन्ने गम्भीर आशंका छ।’

निकटस्थलाई देउवाको ‘ब्रिफिङ’
प्रधानमन्त्री देउवाले आफूनिकटसँग शीघ्र चुनावबारे छलफल गरिसकेको उनीनिकट एक नेताले बताए।

‘शेरबहादुर दाइले वैशाखमै चुनाव गर्नुपर्छ भन्नुभएको छ। बरु, स्थानीय तहको चुनाव ६ महिना पछि सार्दा पनि हुन्छ। संसदीय चुनाव वैशाखमै हुन्छ। कम्युनिस्टहरु फुटेका बेला चुनावमा नगए पछि के हो के हो,’ उनले भने।

ती नेताले गठबन्धनमा रहेका माओवादी केन्द्र र एकीकृत समाजवादीले नियमित समयमै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्नुपर्ने प्रस्ताव राखिरहेका पनि जानकारी दिए। 

‘गठबन्धनको प्रस्ताव अर्को मंसिरमा मात्र चुनाव गराउनुपर्ने भन्ने छ,’ उनले भने, ‘तर, त्यसबेला चुनावमा जाँदा सरकारले काम पनि गर्न सक्दैन। बदनाम हुन्छ। त्यही भएर अर्ली इलेक्सन।’ 

सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र र एकीकृत समाजवादीले समर्थन नगरे पनि चुनावमा जान कांग्रेसलाई कुनै समस्या नभएको अर्का एक केन्द्रीय सदस्यले बताए।

कम्युनिस्टसँग चुनावी तालमेलमा देउवा अनिच्छुक
कांग्रेसका एक केन्द्रीय सदस्यले प्रधानमन्त्री देउवा आगामी निर्वाचनमा कम्युनिस्ट पार्टीसँग चुनावी तालमेलको पक्षमा नरहेको दाबी गरे। 

गत स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रसँग तालमेल गर्दा पार्टीले ठूलो क्षति बेहोर्नुपरेको कारण आगामी चुनावमा कम्युनिस्ट पार्टीसँग तालमेलको सम्भावना नरहेको उनको भनाइ छ।

‘शेरबहादुर दाइ यो पल्ट कम्युनिस्टहरुसँग चुनावी तालमेल गर्नुहुन्न भन्नेमा प्रष्ट हुनुहुन्छ,’ उनले भने, ‘एक्लै चुनावमा जान्छौँ, जानुपर्छ भनिरहनुभएको छ।’   

देउवाका विश्वासपात्र केन्द्रीय सदस्य पनि कांग्रेस एक्लै चुनाव जानुपर्ने बताउँछन्।

‘गठबन्धनसँग मिलेर चुनावमा जानु पर्दैन,’ उनले भने, ‘कांग्रेस एक्लैले सबैतिर जित्छ।’  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .