ad ad

राजनीति


आज विश्वासको मत लिँदै मुख्यमन्त्री राउत, दुईतिहाइ पाउने ‘पक्का’

आज विश्वासको मत लिँदै मुख्यमन्त्री राउत, दुईतिहाइ पाउने ‘पक्का’

शैलेन्द्र महतो
असोज २०, २०७८ बुधबार ९:५, काठमाडौँ

प्रदेश २ को सरकारले आज (बुधबार) विश्वासको मत लिने भएको छ।

प्रमुख सत्तारूढ दल जनता समाजवादी पार्टी (जसपा) विभाजन भएका कारण संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिन लागेका हुन्। 

झण्डै २ महिनापछि सरकारको सिफारिसमा बुधबार बिहान ११ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको छ।

गत भदौ ९ गते जसपा औपचारिक रूपमा विभाजन भएको थियो। तर निर्वाचन आयोगले सनाखतको समय भदौ २२ गतेसम्म तोकेकाले त्यसको एक महिनाभित्र मुख्यमन्त्री राउतले विश्वासको मत लिन लागेका हुन्। 

मुख्यमन्त्री राउतले आजको बैठकमा विश्वासको मत लिने प्रदेश सरकारको प्रवक्ता एवं आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिए।

मुख्यमन्त्री राउतलाई जसपासँगै पाँचदलीय गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले विश्वासको मत दिनेछन्। 

कांग्रेस र माओवादी केन्द्र सरकारमै छन्। गठबन्धनमा रहेको एकीकृत समाजवादीले पछि सरकारमा सहभागी हुनेगरी विश्वासको दिने यसको संसदीय दलका नेता शत्रुधन महतोले बताए। 

हाल प्रदेशसभामा १०४ जना सांसद छन्। सत्तारूढ जसपाका ३८, कांग्रेसका १९ र नेकपा माओवादी केन्द्रका ८ सांसद छन्। 

एकीकृत समाजवादीका १३ जना सांसद छन् भने एक सांसद रहेको संघीय समाजवादी पार्टी पनि सरकारकै पक्षमा छ। 

यस हिसाबले मुख्यमन्त्री राउतले ७९ जना सांसदबाट विश्वासको मत पाउने निश्चितजस्तै छ। योसँगै मुख्यमन्त्री राउतको सरकार दुईतिहाइको शक्तिशाली सरकार बन्नेछ। ​

जसपाबाट विभाजन भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का १६ र नेकपा एमालेका ८ जना प्रदेश सांसदले भने सरकारका विपक्षमा मतदान गर्ने तयारी गरेका छन्। ​

मुख्यमन्त्री राउत तत्कालीन संघीय समाजवादी फोरमको संसदीय दलको नेताको हैसियतले तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) को सहयोगमा मुख्यमन्त्री बनेका हुन्। 

फोरम र राजपा २०७७ वैशाख १० मा जसपा बनेको थियो। त्यसपछि उसको एकल बहुमतको सरकार भएको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक प्रतिनिधि सभा विघटन गरेपछि जसपाभित्रको विवादले उपेन्द्र यादव पक्षले महन्थ ठाकुर पक्षका मन्त्री र राज्यमन्त्रीलाई ३ महिनाअघि बर्खास्त गरी कांग्रेस र माओवादी केन्द्रलाई सरकारमा भित्र्याएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .