राजनीति


महिलालाई प्रधानमन्त्री बनाए देशमा भ्रष्टाचार कम हुन्छ : उमा रेग्मी

महिलालाई प्रधानमन्त्री बनाए देशमा भ्रष्टाचार कम हुन्छ : उमा रेग्मी

नेपालखबर
असोज २३, २०७८ शनिबार १६:२३, काठमाडौँ

नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमाल कांग्रेसकै पुरानो नेता भएको बताएकी छन्। 

पछिल्लो समय भिक्टिमाइज भएकोले प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई मन्त्री बनाएको रेग्मीले स्पष्ट पारेकी छिन् । 

शनिबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री रेग्मीले यस्तो बताएकी हुन् । 

‘हाम्रो पार्टीको पुरानो नेता हो । उहाँ भिक्टिमाइज हुनुहुन्थ्यो । कसैको नाता पर्यो होला । तर, उहाँ भिक्टिमाइज भएर सम्मान गरेको हो । गैर सांसद व्यक्ति ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था छ’, उनले भनिन्, ‘गजेन्द्र हमाल मन्त्री बन्दा प्रधानन्यायाधीशको सवाल छैन। सर्वदलीय सहमतिबाट भएको कुरा हो । उहाँलाई मन्त्रीमा ल्याउनुपर्थ्यो। पार्टीमा योगदान गरेकाले अवसर पाउनुपर्छ ।’

मन्त्री रेग्मीले नेपालमा निकट भविष्यमै महिला प्रधानमन्त्री बन्नसक्ने र त्यो समय आइरहेको बताइन्। 

‘प्रधानमन्त्री बन्न महिला योग्य छन् । एकतिहाइ महिलाहरुको हरेक ठाउँमा प्रतिनिधित्व भयो भने महिला प्रधानमन्त्री हुनसक्छन्’, उनले भनिन्, ‘महिला कार्यकारी प्रमुख भएर पुगे भ्रष्टाचार कम हुन्छ । तर, महिलाहरु पनि यो रेसमा दौडिनुपर्छ । राजनीति भनेको फोहोरी खेल हो । प्रधानमन्त्री बन्नको लागि त महिलाहरु पनि यो रेसमा दौडिनुपर्छ । स्वस्थ प्रतिष्पर्धा गर्नुपर्छ । अहिले त पहिलाभन्दा धेरै परिवर्तन भएको छ । नेतृत्वको जिम्मेवारी पाए कुशलतापूर्वक त्यो जिम्मेवारी वहन गर्नसक्ने महिला छन्।’ 

उनले आफूलाई दिए पनि आरामले देश चलाउन सक्ने बताइन्। ‘पार्टी भने पनि, सरकार भने पनि, यी सबै समाजको छाया त हुन् नि’, उनले भनिन्। 

उनले निकट भविष्यमा नै महिला पनि प्रधानमन्त्री हुनसक्ने बताइन्। ‘हाम्रो देशमा महिलाहरु राष्ट्रपति हुनुभयो । सभामुख हुनुभयो । प्रधानन्यायाधीश पनि हुनुभयो’, उनले थपिन्, ‘अब प्रधानमन्त्री हुन महिला तयार भएर आउँछन् । कसैले धकेलेर हुँदैन । यो दिन टाढा छैन ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .