राजनीति


चुनावको ४ वर्षपछि पुनः मतगणना हुँदा नतिजा उल्ट्याएका वडाध्यक्ष रायले सम्हाले पद

चुनावको ४ वर्षपछि पुनः मतगणना हुँदा नतिजा उल्ट्याएका वडाध्यक्ष रायले सम्हाले पद

चुनावको ४ वर्षपछि पुनः मतगणनाबाट महोत्तरीको मनरासिसवा वडा नम्बर १० को वडाध्यक्ष निर्वाचित रमेश राय (बायाँ) र मेयर सञ्जयकुमार सिंह (दायाँ)।


शैलेन्द्र महतो
कात्तिक १६, २०७८ मंगलबार ९:२५, काठमाडौँ

महोत्तरीमा निर्वाचन भएको चार वर्षपछि पुनः मतगणना गर्दा दुई भोटले जितेर वडाध्यक्ष बन्न सफल रमेश रायले पदभार ग्रहण गरेका छन्। 

जिल्लाको मनरासिसवा वडा नम्बर १० को वडाध्यक्षमा निर्वाचित  रायले सोमबार नगरप्रमुख सञ्जयकुमार सिंहको उपस्थितिमा पद तथा गोपनीयताको शपथ खाँदै पद सम्हालेका हुन्। 

त्यस क्रममा रायले ढिलै भए पनि सत्यको जित भएको भन्दै खुसी व्यक्त गरे। ​

मुद्दामामिला गर्ने चाहना नभए पनि जनदबाबले अदालत जाँदा अन्ततः आफ्नो जित भएको उनले बताए। 

आफ्नो कार्यकाल छोटै भए पनि उदाहरणीय काम गर्न प्रयास गर्ने अब वडाध्यक्ष रायले बताए।

२०७४ असोज २ गते स्थानीय तहको निर्वाचनमा वडा नम्बर १० को वडाध्यक्ष पदका लागि स्वतन्त्रबाट उम्मेदवारी दिएका राय र कांग्रेसका उम्मेदवार अरुणकुमार चौधरीले त्यतिबेला मतगणना गर्दा बराबर २६७/२६७ मत देखिएको थियो। अनि गोलाप्रथा गर्दा चौधरी वडाध्यक्ष बनेका थिए। 

यसपछि पराजित रायले मतगणनामा धाँधली भएको भन्दै पुनः गणना गर्न माग गरेका थिए। तर निर्वाचन अधिकृत यामकुमार बानियाँले यो कुरा अस्वीकार गरेपछि रायले उच्च अदालत (जकपुर) मा मुद्दा हालेका थिए। 

उच्च अदालतले उनको रिट निवेदनको सुनवाइ गर्दै ०७५ असार २१ गते १५ दिनभित्र पुनः मतगणना गर्न आदेश दियो। यसविरुद्ध निर्वाचित चौधरी पनि सर्वोच्च अदालत गुहार्न पुगेका थिए। तर सर्वोच्चले अदालतले पनि उच्च अदालत (जनकपुर) कै आदेश सदर गरिदिएपछि यही कात्तिक ८ गते पुनः मतगणना गरिएको हो। 

यस क्रममा यसअघि गोलाप्रथाका कारण पराजित रायले २ भोट बढी अर्थात् २६८ मत ल्याएर वडाध्यक्ष चुनिन सफल भएका हुन्। 
यसअघिसम्म वडाध्यक्ष रहेका अरुण चौधरी भने २६६ भोटका साथ यतिबेला पदबाट हट्न बाध्य भएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .