दार्चुलाको कालापानी क्षेत्रको विवाद सम्बन्धमा परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तीप्रति समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले व्यंग्यात्मक टिप्पणी गरेका छन्।
कालापानी क्षेत्रलाई आफ्नो भूगोलमा समेटेर भारत सरकारले हालै नयाँ नक्सा प्रकाशित गरेपछि त्यसको चौतर्फी विरोध भइरहेको छ।
नेपाल सरकारले कालापानी क्षेत्र नेपालको भू–भागमा रहेको भन्दै बुधबार साँझ विज्ञप्ती जारी गरेको थियो। विज्ञप्तीमा हस्ताक्षर भए पनि जारी गर्नेको नाम भने छैन।

परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तीको भाषा-शैलीप्रति सामाजिक सञ्जालमा चर्को वहस र आलोचना भइरहँदा डा.भट्टराईले पनि सरकारको आलोचना गर्दै ट्वीट गरेका हुन्।
उनले परराष्ट्रमन्त्रालयले जारी गरेको विज्ञप्तीले ‘दुईतिहाइ सरकारको धोती खुस्किएको’ भन्दै व्यंग्य गरेका छन्।
‘चरम राष्ट्रवादको डंका पिटेर दुई तिहाइ पड्काउने सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयको प्याडमा जारी गरिएको विज्ञप्तिमा भर्खर कलम समात्न जानेको शिशुले झैं कसले कोरेको होला?’ डा.भट्टराईले ट्वीट गर्दै भनेका छन्, ‘के त्यो हस्ताक्षर हो? हात (वा आँत?) किन काँपेको होला? अनि ‘कालापानी क्षेत्र’ भनेको कति र कहाँसम्म हो? इँजार फुस्क्यो है!’
चरम‘राष्ट्रवाद’को डंका पिटेर२/३पड्काउने सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयको प्याडमा जारी गरिएको विज्ञप्तिमा भर्खर कलम समात्न जानेको शिशुले झैं कसले कोरेको होला? के त्यो हस्ताक्षर हो?हात(वा आँत?) किन काँपेको होला?अनि ‘कालापानी क्षेत्र’ भनेको कति र कहाँसम्म हो?इँजार फुस्क्यो है! pic.twitter.com/34M0ZvjCGh
— Baburam Bhattarai (@brb1954) November 6, 2019

प्रतिक्रिया