राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रापा)का अध्यक्ष कमल थापाले नेपालको भूमि मिचेर भारतले जारी गरेको नयाँ नक्सा अस्वीकार्य भएको बताएका छन्।
बिहीबार दाङको तुल्सिपुरमा आयोजित चुनावी कार्यक्रममा बोल्दै अध्यक्ष थापाले कालपानी र लिपुलेक नेपालको भूमि भएको र यो अभिभाज्य रहेको बताए। उनले तुरुन्तै कूटनीतिक पहल गरी समस्याको हल खोज्न सरकारलाई सुझाब पनि दिए।
नेपालको भूमि कब्जा गर्ने कार्य आपत्तिजनक भएको भन्दै उनले विदेशीको हस्तक्षेपमा सरकार मौन बस्न नमिल्ने बताए। लाचारिपन र आत्मसमर्पणवादी मानसिकताले मुलुकको स्वाधीनताको रक्षा हुन नसक्ने उनले ठोकुवा गरे।
राष्ट्रियताको मुद्दा बोकेर दुई तिहाई बहुमत प्राप्त गर्ने सरकार विदेशी हस्तक्षेपसामू निरिह, लाचार र कमजोर हुनु दुर्भाग्यपूर्ण भएको भन्दै उनले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि कसैसँग सम्झौता नगर्ने दावी गरे।
सरकार र भारतप्रति निकै आक्रामक रुपमा प्रस्तुत भएका थापाले विप्लव माओवादीलाई सरकारले वार्तामा बोलाएर समस्या समाधान गर्नुपर्नेमा जोड दिए। ‘अब मुलुकले हत्या–हिंसाको चक्र सहन सक्दैन’, उनले भने, ‘नेकपाले यो पक्षलाई गम्भीरतापूर्वक मनन गर्न आवश्यक छ।’
पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले धर्म, संस्कृति मासेर कुनै पनि मुलुकले प्रगति गर्न नसक्ने बताए। उनले धर्म परिवर्तनको डढेलोले धार्मिक द्वन्द्वतर्फ मुलुक जान सक्ने भन्दै चिन्ता ब्यक्त गरे।
कार्यक्रममा उपाध्यक्ष प्रेमबहादुर भण्डारी , महामन्त्री डा. धवलशमसेर राणा, प्रदेश ५ अध्यक्ष प्रदीप उदय, मिना स्वर्णकार र प्रदेश उम्मेदवार भुपाल रावतले बोलेका थिए।

प्रतिक्रिया