राजनीति


चिनियाँ विदेशमन्त्रीको भ्रमण : यी सम्झौतामा हस्ताक्षर तयारी, अनुदान सहयोग बढाउने संकेत

चिनियाँ विदेशमन्त्रीको भ्रमण : यी सम्झौतामा हस्ताक्षर तयारी, अनुदान सहयोग बढाउने संकेत

सन्तोष घिमिरे
चैत ७, २०७८ सोमबार ६:५२, काठमाडौँ

चीनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणमा सीमापार रेललगायतका समझदारी पत्रमा हस्ताक्षरको गृहकार्य भइरहेको सरकारी अधिकारीहरुले बताएका छन्।

वाङ शुक्रबार औपचारिक भ्रमणमा काठमाडौँ आउँदै छन्। नेपाल र चीन दुवैले सोमबार वाङको भ्रमणको औपचारिक घोषणा गर्ने परराष्ट्र मन्त्रालय स्रोतले बतायो। 

विदेशमन्त्री वाङ नेतृत्वको उच्चस्तरीय चिनियाँ टोली शुक्रबार, शनिबार र आइतबार तीन दिन नेपालमा रहने छ। टोलीमा चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ थाओसहित ७ देखि ८ जना चिनियाँ अधिकारी तथा केही चिनियाँ पत्रकार रहनेछन्। 

नेपाल र चीनले भ्रमणको तयारी तीव्र पारेका छन्। चिनियाँ विदेशमन्त्री वाङको भ्रमणका लागि आवश्यक तयारी भइरहेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताइन्। 

‘चीन हाम्रो निकटतम छिमेकी मुलुक हो। यस भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा महत्वपूर्ण हुने विश्वास लिएका छौँ। दुई देशबीचको सहकार्यका सबै क्षेत्रबारे यो भ्रमणमा छलफल हुनेछ,’ लम्सालले नेपालखबरसँग भनिन्। 

विगतमा चीनसँग भएका सहमति र सम्झौता कार्यान्वयनलाई गति दिनेबारे भ्रमणमा कुराकानी हुने प्रवक्ता लम्सालले बताइन्। 

परराष्ट्र मन्त्रालयले भ्रमणका एजेन्डाबारे अर्थ, गृह, वाणिज्य, उर्जा, भौतिक योजना, पर्यटन, स्वास्थ्य र कृषि लगायत मन्त्रालयसँग दुई चरण छलफल गरिसकेको छ। परराष्ट्रमन्त्री डा. नारायण खड्काले उल्लिखित मन्त्रालयका उच्च अधिकारीलाई डाकेर तीन दिनअघि भ्रमणबारे छलफल गरेका थिए। 

विदेशमन्त्रीको भ्रमणमा नेपाल र चीनबीच चिनियाँ राष्ट्रपतिको भ्रमणमा भएका सम्झौता कार्यान्वयनको अवस्थाबारे विस्तृतमा छलफल हुने भएको छ। 

नेपाल-चीन रेल समझदारीको गृहकार्य, तर छैन टुंगो 
नेपाल र चीनबीच केरुङ-काठमाडौँ सीमापार रेलसम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर हुने सम्भावना रहेको भ्रमण तयारीमा संलग्न परराष्ट्र अधिकारीहरुले बताए। 

यसअघि चिनियाँ राष्ट्रपति सी चिनफिङ २०१९ मा नेपाल भ्रमणमा आउँदा केरुङ–काठमाडौँ सीमापार रेल विस्तारका लागि सम्भाव्यता अध्ययन गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ। भौतिक योजना तथा पूर्वाधार विकास मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले केरुङ–काठमाडौँ रेलबारे समझदारी पत्रमा हस्ताक्षर हुने वा नहुने टुंगो भइनसकेको बताए।

‘हामी अहिले गृहकार्यकै चरणमा छौँ,’ उनले भने। 

आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी 
नेपाल र चीनबीच आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी अर्को एक समझदारी पत्रमा हस्ताक्षरका लागि गृहकार्य भइरहेको छ। चीनले नेपाललाई दिने वार्षिक अनुदान सहयोगबारे उक्त समझदारीपत्रमा उल्लेख हुने अर्थ मन्त्रालय स्रोतले बतायो। 

‘चीनले वार्षिक अनुदान बढाउन सक्छ। तर चिनियाँ पक्षले यसबारे केही बताइसकेको छैन,’ मन्त्रालयका एक अधिकारीले भने। 

राष्ट्रपति सीले नेपाल भ्रमणका क्रममा घोषणा गरेको ५६ अर्ब अनुदान सहयोग कार्यान्वयनको विषय उक्त समझदारी पत्रले सम्बोधन गर्ने बताइएको छ।

सन् २०२० देखि २०२२ सम्म खर्च गर्ने सहमति भएको अनुदान सहयोग कार्यान्वयनका लागि दुई देशबीच औपचारिक सम्झौता हुन सकेको थिएन। यद्यपि नेपालले त्यसबारे चिनियाँ पक्षको ध्यानाकर्षण चाहिँ गरेको थियो। 

भरतपुर क्यान्सर अस्पतालमा सहयोगबारे समझदारी पत्र 
भ्रमण तयारीमा संलग्न अर्का अधिकारीका अनुसार चिनियाँ विदेशमन्त्रीको भ्रमणमा चीनको सहयोग रहेको भरतपुर क्यान्सर अस्पतालसम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर गर्ने तयारी भएको छ।

प्रस्तावित समझदारी पत्र अनुसार चीनले भरतपुर अस्पतालमा चिनियाँ चिकित्सक टोली पठाउनेछ। 

चीनतर्फ विकासे घाँस निर्यातबारे समझदारी पत्र 
स्रोतका अनुसार नेपालले चीनतर्फ विकासे घाँस निर्यात गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने तयारी भएको छ। यसका लागि कृषि मन्त्रालयले गृहकार्य गरिरहेको छ। गत मंसिर दोश्रो साता बसेको मन्त्रिपरिषद् बैठकले गाईवस्तुको आहारका लागि मकै, नेपियर (विकासे घाँस) र जौको हेलेज (प्रशोधित) चीन निर्यात गर्न एक प्रोटोकल स्वीकृत गरेको थियो। नेपालले चिनियाँ पक्षलाई उक्त प्रोटोकलमा सहमति जनाउन आग्रह गर्दै पत्र लेखिसकेको छ। 

‘चीनले सहमति जनाए चिनियाँ विदेशमन्त्रीको भ्रमणमा नेपालको घाँस चीनतर्फ निर्यात गर्र्नेबारे औपचारिक रूपमा सम्झौतामा हस्ताक्षर हुनेछ,’ कृषि मन्त्रालयका एक अधिकारीले नेपालखबरसँग भने। 

बीआरआई कार्यान्वयन सम्झौतामा प्रगति होला? 
चिनियाँ विदेशमन्त्री वाङको भ्रमणमा नेपालले सीमाबाट हुने आयातनिर्यात खुलाउने, नेपाली विद्यार्थीको चीन फिर्ती र सीमा समस्या समाधान लगायतका विषयलाई एजेन्डा बनाउने तयारी गरेको छ। उता चीनले चाहिँ बेल्ट एन्ड रोड अवधारणा (बीआरआई) अन्तर्गतका परियोजना कार्यान्वयनसम्बन्धी छाता सम्झौतालाई अन्तिम रुप दिन चाहेको नेपाली पक्षलाई बताएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उक्त सम्झौताको मस्यौदा चिनियाँ पक्षसँग साटासाट भइसकेको छ। 

‘तर चिनियाँ विदेशमन्त्रीको भ्रमणमा उक्त सम्झौता हस्ताक्षर हुन्छ वा हुँदैन, टुंगो भइसकेको छैन,’ मन्त्रालयका एक अधिकारीले नेपालखबरसँग भने।

चिनियाँ पक्षले बीआरआई अन्तर्गतका परियोजना कार्यान्वयन सम्झौताका लागि ताकेता गरे पनि परराष्ट्रमन्त्री डा. खड्काले सम्झौतालाई अध्ययनकै क्रममा राखेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .