ad ad

राजनीति


काठमाडौंमा एमाले उम्मेदवार : ‘हेबिवेट’ केशव स्थापित, नयाँ पुस्ताकी प्रतिनिधि सुनिता डंगोल

काठमाडौंमा एमाले उम्मेदवार : ‘हेबिवेट’ केशव स्थापित, नयाँ पुस्ताकी प्रतिनिधि सुनिता डंगोल

फाइल फोटो


यज्ञराज जोशी
बैशाख १०, २०७९ शनिबार २१:५४, काठमाडौँ

नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि महानगर र उपमहानगरको उम्मेदवार तय गरेको छ। 

सबैको नजर केन्द्रित भएको काठमाडौं महानगरपालिकामा एमालेले मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोललाई उठाउने भएको छ। 

एमालेले २०७४ मा कायम गरेको जितलाई बचाउन पनि हेबिवेट मानिएका स्थापितलाई टिकट दिएको हो। 

कांग्रेसबाट सिर्जना सिंहले प्रमुखको टिकट पाउँदा बाक्लो नेवार बस्ती रहेको काठमाडौं यी दुईको भिडन्त रोचक हुने देखिएको छ।  

केशव स्थापित
एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट स्थापित काठमाडौंका पूर्व मेयर समेत हुन्। 

अहिले उनी बागमती प्रदेशसभा सदस्य छन्। एमालेका केन्द्रीय कमिटी सदस्यको भूमिकामा पनि स्थापित छन्। 

ओली ०४७ सालमा एमालेको भातृ संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको संस्थापक अध्यक्ष रहेका बेला स्थापित महासचिव थिए। 

ओलीपछि स्थापित नै युवा संघको दोस्रो अध्यक्ष बनेका थिए। 

युवा संघको अध्यक्ष भएकै बेला ०५१ सालमा उनी राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिव बने। 

सदस्यसचिव भएका बेला खेलकुद पूर्वाधार विकासमा भूमिका खेलेको भन्दै अहिले पनि उनलाई स्मरण गर्ने गरिन्छ। 

खेलकुदबाट राम्रो छवि बनाउनुको फाइदा स्थापितलाई २०५४ सालमा भयो। त्यसबेला भएको स्थानीय निर्वाचनमा उनले मेयरको टिकट पाए र निर्वाचित भए। 

स्थापितले ‘मेरो पौरख, मेरो गौरव, मेरो काठमाडौँ’ भन्ने नारा ल्याएका थिए।

उनी मेयर भएकै बेला पशुपति क्षेत्र, माइतीघर, तीनकुने जस्ता ठाउँका अव्यवस्थित घर–टहरा भत्काइयो। 

ती ठाउँलाई सर्वसाधारणका लागि खुला गरिएपछि उनी ‘विकास प्रेमी’ मेयरका रुपमा चिनिन थाले। यस्तै उनले कालिमाटी–कुलेश्वर सडकखण्ड विस्तारमा पनि अग्रसरता देखाए।

मेयरबाट राजनीतिक छवि स्थापित गरेका स्थापितले त्यसयता पटक पटक राजनीतिक धार परिवर्तन गरे।

त्यही क्रममा कुनै बेला राजावादी कित्तामा पनि पुगे। तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०६० सालमा स्थापितलाई काठमाडौं महानगरपालिकाको मेयरमा मनोनित गरेका थिए। 

त्यसबेला सूर्यबहादुर थापा प्रधानमन्त्री थिए। तर माओवादीसँग साँठगाँठ गरेको आरोपमा उनलाई मेयरबाट हटाइयो।

लगत्तै उनले प्रजा परिषद पार्टीको पुनर्गठन गरे। त्यसबाट पनि खासै केही पार नलागेपछि उनी डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला काठमाडौं उपत्यका विकास प्राधिकरणको प्रमुख बने। तर अपेक्षित काम नगरेको भन्दै बर्खास्त गरियो।

२०७० सालको चुनावमा उनले काठमाडौं ६ बाट टिकटको अपेक्षा राखेका थिए। तर, योगेश भट्टराई उठेपछि उनी संघीय समाजवादी फोरमबाट उम्मेदवार बने। र, भट्टराईलाई चुनाव हराउन भूमिका खेले।

अनेक राजनीति फेरबदलबीच ओलीले स्थापितलाई एमालेमा फर्काउँदै २०७४ मै काठमाडौंको मेयरमा उठाउन चाहेका थिए। 

तर, काठमाडौं एमालेका तत्कालीन अध्यक्षलगायत नेताहरुले विरोध गरेपछि ओली पछि हटे र स्थापितले विद्यासुन्दर शाक्यलाई काँधमा बोके।

मेयर नबने पनि स्थापित काठमाडौं प्रदेश ३ मा टिकट लिएर चुनाव लडे, जिते पनि। 

त्यसपछि स्थापित बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री भए। तर मुख्यमन्त्री डोरमणि पौडेलसँग भनाभन र विवाद बढेपछि बर्खास्तीमा परे।

सुनिता डंगोल
दशकअघि मिस नेवा:को ताज पहिरिएकी सुनिता डंगोल राजनीतिमा नयाँ अनुहार हुन्। 

स्वतन्त्र रुपमा मेयरमै दाबेदारी गरिरहेकी उनलाई एमालेले उपमेयरको टिकट दिएको हो। 

सामाजिक विज्ञानमा स्नातकोत्तर उनी विभिन्न सामाजिक कार्यक्रम र क्यालिग्राफी प्रवर्द्धनमा व्यस्त थिइन। 

रञ्जना लिपी चिनाउन उनले विशेष भूमिका खेलेकी थिइन। देश विदेशका विभिन्न ठाउँमा गएर उनले कार्यशाला गोष्ठी गरेकी छन्। 

सांस्कृतिक अभियन्ताका रुपमा नेपाल चिनाउन जुटेकी उनले शहरी योजना आयोगमा सहायक विज्ञका रुपमा काम गरेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .