नेपालमा बढ्दै गएको आप्रवासन समस्यालाई व्यवस्थित तथा कम गर्न अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) ले २४ बुँदे सुझाव दिएको छ।
अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा बुधबार काठमाडौंमा एक कार्यक्रम गरी अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम)ले नेपालको आप्रवासन समस्या सम्बन्धी २०१९ को प्रतिवेदन सार्वजनिक गर्दै २४ बुँदे सुझाव दिएको हो। उक्त प्रतिवेदन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले सार्वजनिक गरे।
उक्त प्रतिवेदनले आप्रवास सम्बन्धी प्रशासनका लागि सम्बद्ध सबै तहमा राष्ट्रिय समन्वय संरचनाको स्थापना गर्नुपर्ने, वैदेशिक रोजगारीमा जाने कामदारको सुरक्षाको लागि बनाइएका कानूनहरुको पूर्ण कार्यान्वयन र अनुगमन गर्नुपर्ने, कानूनी प्रकृयालाई सरल बनाउनुपर्ने, गन्तव्य मुलुकसँग द्धिपक्षीय सम्झौताहरु विस्तार गर्दै जाने तथा घरेलु कामदारका रुपमा गएकाहरुको अनुगमन बढाउनुपर्ने लगायतका सुझाव दिएको छ।
कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री यादवले आप्रवासी समस्यालाई व्यवस्थित गर्न सरकारले नीतिगत सुधारमा विशेष ध्यान दिएको बताए। उनले वैदेशिक रोजगारीमा जाने कामदारहरुलाई सिप, ज्ञान, भाषा लगायतका विषयमा दक्ष बनाउन कल्याणकारी कामहरु गर्दै आएको समेत बताए।
अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसर पारेर अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम)ले नेपाल सहित ८१ वटा देशको अप्रवासन सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ।

प्रतिक्रिया