ad ad

राजनीति


रेशम चौधरीको चुनावी ‘इन्जिनियरिङ’ : जसले सदरखोरबाटै थारु आक्रोशलाई भोटमा बदलिदिए

रेशम चौधरीको चुनावी ‘इन्जिनियरिङ’ : जसले सदरखोरबाटै थारु आक्रोशलाई भोटमा बदलिदिए

जेवी पुन मगर
मंसिर ७, २०७९ बुधबार १३:४९, काठमाडौँ

जेलको चौघेराबाटै स्थानीय निर्वाचनको संघारमा दल दर्ता गरी निर्वाचनमा होमिएका टीकापुर घटनबाट राष्ट्रिय राजनीतिमा स्थापित रेशम चौधरीले यो चुनावमा पनि ८ वर्षअघि चर्किएको थारुवान/थरुहट आन्दोलन क्षेत्रबाट राम्रै सिट टिप्ने देखिन्छ।

यो रिपोर्ट तयार पार्दासम्म रन्जिता श्रेष्ठको अध्यक्षतामा दर्ता गरिएको नागरिक उन्मुक्ति पार्टीले त्यस भेगबाट एक सिट जितिसकेको छ भने तीन स्थानमा अग्रता लिइरहेको छ। रन्जिता रेशमकी पत्नी हुन्। 

कैलाली क्षेत्र नम्बर ३ बाट २३ हजार १२० मत लिई भारी मतअन्तरले गंगाराम चौधरी विजयी भइसकेका छन्, जसले माओवादी केन्द्रका कृष्णकुमार चौधरीलाई ५ हजार ३७१ मतले हराएका थिए। 

क्षेत्र नम्बर १ बाट लडेकी पार्टी अध्यक्ष रन्जिता पनि नेपाली कांग्रेसका पुराना नेता रामजनम चौधरीलाई निकै पछाडि छाड्दै अघि बढिरहेकी छन्। श्रेष्ठको ११ हजार ३९४ मत छ भने चौधरीले अहिलेसम्म ६ हजार ७८६ मत मात्र प्राप्त गरेका छन्। कैलालीकै क्षेत्र नम्बर २ मा उन्मुक्तिकै उम्मेदवार अरुणकुमार चौधरी अघिअघि (४४९५ मत) छन् भने माओवादी केन्द्रका भगतबहादुर बढुवाल पछिपछि (४१९९ मत) छन्। 

कैलाली मात्र नभई उन्मुक्ति पार्टीले थारु जनघनत्व बढी भएको बर्दियामा पनि राम्रो प्रदर्शन गरिरहेको छ। बर्दिया क्षेत्र नम्बर २ बाट रेशम चौधरीका बुबा तथा उन्मुक्ति पार्टीका सल्लाहकार लालवीर चौधरीले माओवादी केन्द्रका सुरेश पन्थलाई भारी मतअन्तरले पछाडि छाडेका छन्। २५ हजार ८१२ मत ल्याएका चौधरीलाई २१ हजार ३८८ मतका साथ पन्थ पछ्याइरहेका छन्। यहाँ पनि चौधरीको जित निश्चित ठानिएको छ।

सुरुमा रेशमले कारागारबाटै उम्मेदवारी दर्ता गराउन खोज्दा नपाएपछि उनले यो क्षेत्रबाट आफ्ना बुबा लालवीरलाई अन्तिम समयमा स्वतन्त्रबाट उठाएका हुन्। 

‘राज्यले आफ्नो छोरालाई झुटा मुद्दामा फसाएको’ भन्दै छोरा रेशमको तस्बिर घाँटीमा झुण्ड्याई लालवीरले घरघर गई मत मागेका थिए। उनको त्यो चुनावी हत्कण्डाले राम्रो काम गरेको देखिन्छ। प्राविधिक कारण उनले चुनावचिह्न ढकिया नपाए पनि त्यसले असर गरेको देखिँदैन। 

रेशमप्रति सहानुभूति रहेको थारुबहुल यस क्षेत्रबाट लालवीरले राम्रो मत प्राप्त गर्न सफल रहे। त्यसैगरी बर्दिया क्षेत्र नम्बर १ मा पनि पत्रकारिता छाडी उन्मुक्तिबाट उम्मेदवारी दिएका ठाकुरसिंह थारुले कांग्रेसका संजयकुमार गौतमलाई हायलकायल बनाइरहेका छन्। गौतमले १४ हजार ९८३ मत ल्याएका छन् भने थारुले १३ हजार ८२७ मत पाएका छन्। 

यो लहर यी दुई जिल्लामा मात्र सीमित छैन। केही समयसम्म एमालेका छविलाल विश्वकर्मा र गठबन्धनका उम्मेदवार घनश्याम भुसाललाई अत्याउने लुम्बिनी प्रदेशको रुपन्देही क्षेत्र नम्बर १ का उन्मुक्तिका उम्मेदवार धनीराम चौधरी पनि बलिया देखिन्छन्। ४ हजार ४३० ल्याएका छविलाल र ३ हजार ४२१ मत ल्याई दोस्रो स्थानमा रहेका घनश्यामलाई तेस्रो स्थानमा रहेका चौधरीले ३ हजार ३७३ मतका साथ पछ्याइरहेका छन्।

पहिला माओवादी, अहिले थारुवान राजनीति 
पहिला माओवादी जनयुद्धको जनाधार मानिएको र थारु समुदायले सबैभन्दा बढी मानवीय क्षति बेहोरेको कैलाली र बर्दिया भेगमा ‘माओवादीले थारुलाई उपेक्षा गरेको र मुद्दा छाडेको’ भन्दै माओवादीमा हतियार बोकेर लडेका थारु नेताहरुले आफ्नै समुदायलाई संगठित गरी थारुवान/थरुहट आन्दोलन चर्काएका थिए। 

त्यही आन्दोलनका क्रममा ०७२ सालको भदौ ७ गते ८ जना सुरक्षाकर्मी र १ नाबालकको ज्यान जानेगरी झडप भएको थियो। सो घटनामा संलग्न रहेको भन्दै दर्जनौँ थारु युवाहरुलाई पक्राउ गरी ज्यानमुद्दा चलाइएको थियो। 

त्यो घटनाको योजनाकारको रुपमा अदालतले रेशम चौधरी र लक्ष्मण थारुसहित ७ जनालाई जन्मकैदको सजाय सुनाएको छ भने १२ जनालाई ३–३ वर्षको सजाय दिइएको थियो। ३ जनालाई निर्दाेष करार गरी छाडिएको थियो। राज्य र थारु समुदायबीच भएको त्यो भिडन्तलाई राज्यले फौजदारी अपराधको रुपमा परिभाषित गदै दर्जनौँमाथि ‘ज्यानमारा’ मुद्दा थोपरेर अदालतमा तानिरहेको छ भने थारु समुदायका नेताले त्यो घटनालाई ‘राजनीतिक’ भन्दै आफ्नो पैरवी गरिरहेका छन्। 

थारु नेताहरुको तर्कमा बाबुराम भट्टराई, प्रचण्ड र केपी शर्मा ओली ‘कन्भिन्स’ पनि भइसकेको देखिन्छ, तर अदालतले फैसला सुनाइसकेको हुनाले रेशम अझै जेलमुक्त हुन सकिरहेका छैनन्। टीकापुर घटनालाई ‘राजनीतिक’ घटनाका रुपमा स्थापित गराउन थारु समुदायका के सञ्चारकर्मी, के बौद्धिक, के नेता सबै ऐक्यबद्ध भई मैदानमा उत्रिएका छन्। र, मतपत्रबाटै त्यसलाई स्थापित गराउने भन्दै मतदाताका घरदैलोमा पुगिरहेका छन्।

सुदूरपश्चिम प्रदेशको कैलाली र बर्दिया क्षेत्र कुनै समय माओवादी जनयुद्धको जनाधार थियो। ०६२–६३ जनआन्दोलनपछि त्यो स्थान थरुहट/थारुवान आन्दोलनले लिएको छ। त्यसैले थारु भावनाको प्रतिनिधित्व गर्छु भन्दै मैदानमा उत्रिएको उन्मुक्तिले बलियो जनादेश पाइरहेको छ। 

०७४ सालको संघीय निर्वाचनमा हत्याको योजनाकारका रुपमा राज्यले खोजिरहेका रेशम चौधरीले भारतको अज्ञात स्थलबाट वारेसनामा मार्फत निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गराई कैलाली–१ बाट भारी मतले विजय हासिल गरेका थिए। तर उनलाई विजयको प्रमाणपत्र बुझ्न आउँदा पक्राउ गरी कारागार चलान गरिएको थियो। त्यसयताको पुरै पाँच वर्ष सांसदविहीन रहेको कैलाली क्षेत्र नम्बर १ बाट रेशमले आफ्नी धर्मपत्नी रन्जितालाई उठाएका हुन्। 

सुरुमा आफूहरुले सर्वश्व दिएको माओवादीले सत्तामा पुगेर पनि थारुलाई विपत्ति पर्दा केही नगरेको भन्दै थारुहरु माओवादी त्याग गर्दै मधेशवादी दलमा आबद्ध भएका थिए। तर यी दल पनि टीकापुर घटनालाई भजाएर आफैँ मात्र सत्तामा उक्लिरहेको देखेपछि १८ लाख जनसंख्या भएका थारुले आफ्नै दलमार्फत थारु पहिचानको संघर्ष छेड्न थाले। यसको नेतृत्व आजीवन कारावासको सगाय भोगिरहेका रेशमले लिए।

जेलको चौघेराबाटै उनले गरेको चुनावी इन्जिनियरिङले गएको स्थानीय निर्वाचनमा कयौं स्थानमा ठूला दलहरुलाई पत्तासाफ गरिदियो। त्यतिबेला दुई वर्ष अघिसम्म कसैले नसोचेको पहाडेहरुको सघन बसोबास रहेको टीकापुर नगरपालिकाबाट मेयर र दुई वटा वडा अध्यक्ष जिताएको उन्मुक्तिले भजनी नगरपालिकाबाट मेयर र उपमेयर सहित ३ वटा अध्यक्ष खातामा थपेको थियो।

त्यसैगरि जानकी र जोशीपुर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष सहित ५–५ वटा वडाध्यक्ष जिताएको थियो। रेशम त्यो क्षेत्रमा कति चर्चित छन् भने डिल्लीबजार कारागारमा राखिएका उनलाई भेट्न कैलाली र बर्दियाबाट दिनहुँ मान्छे काठमाडौँ आइरहन्छन्। कारागारका सुरक्षाकर्मीहरुका भनाइमा रेशमलाई भेट्न दैनिक दर्जनौँ मान्छे ओइरिरहेका हुन्छन्।

यसपालि पनि राज्यसँग थारु पहिचानको अस्तित्व कायम गराउन भन्दै जेलबाटै चुनावी रणसंग्राममा होमिएका रेशमले प्रतिनिधि सभामा ३० र प्रदेश सभामा ५५ जना उम्मेदवार उठाएका छन्, जसमध्ये प्रदेश सभामा ६ जनाले अग्रता लिइरहेको देखिन्छ। 

चुनावी परिणाम हेर्दा यस निर्वाचनबाट मधेसी राजनीतिको भूगोल नै परिवर्तन गराइदिने हैसियतमा आइपुगेका रेशमले केन्द्रीय सत्ताले थोपरेको फौजदारी अभियोगलाई राजनीतिक स्वरुपमा ढाल्ने हैसियत चाहिँ प्राप्त गर्छन्, गर्दैनन् यसपालि हुने नयाँ राजनीतिक समीकरणले नै देखाउनेछ।

तर लोकतन्त्रको आधारभूत स्तम्भ आवधिक निर्वाचन राज्यसँग असाध्यै रिसाएका थारुहरुको आक्रोशलाई भने शान्तिपूर्वक व्यवस्थापन गर्न सफल भएको छ। हिंस्रक स्वरुप धारण गर्नसक्ने त्यो ठूलो आक्रोशलाई यो निर्वाचनले मतपेटिकाभित्र कैद गरिदिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .