ad ad

राजनीति


विष्णु पौडेल भन्छन् : अहिलेको जनादेशले स्थिर सरकार बन्दैन, झन् अस्थिरता बढाउँछ

विष्णु पौडेल भन्छन् : अहिलेको जनादेशले स्थिर सरकार बन्दैन, झन् अस्थिरता बढाउँछ

फाइल तस्बिर


नेपालखबर
मंसिर १५, २०७९ बिहिबार १४:१७, काठमाडौँ

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अहिलेको जनादेशबाट स्थिर सरकार नबन्ने बताएका छन्।

बिहीवार आर्थिक पत्रकार समाज (सेजन) को २६ औं वार्षिकोत्सवमा बोल्दै उनले दीगो आर्थिक विकासको लागि आर्थिक एजेण्डाबारे बोल्दै उनले अहिलेको अभिमतले अस्थिरतालाई नै निरन्तरता दिने बताएकाहुन्। 

पूर्व अर्थमन्त्रीसमेत रहेका उनले आफूले देशमा स्थिरता दिनका लागि कुनै एक पार्टीले बहुमत ल्याओस् भन्ने चाहेको भए पनि जनादेश त्यस्तो नआउनु मुलुकका लागि दुर्भाग्यपूर्ण रहेको बताए।

उनले राजनीतिक स्थिरताका निमित्त धेरै आश गर्ने ठाउँ नरहेको बताए। 

‘स्थिरता र अस्थिरता जनादेशमा भर पर्ने कुरा हो। यस पटकको जनादेशबाट स्थिर सरकार बन्दैन। यसले अस्थिरतालाई नै निरन्तरता दिने देखिन्छ। यो मुलुकका लागि दुर्भाग्यपूर्ण छ। म कुनै एउटा पार्टीले बहुमत ल्याओस् भन्ने चाहन्थेँ', उनले भने, 'एउटा कार्यकाल उसको पोलिसीको आधारमा देशको नेतृत्व गरोस्। उसका नीतिहरुको व्यवहारिक रुपमा परीक्षण होस् भन्ने म चाहन्थेँ। तर चाहना माथि जनादेश छ। राजनीतिक स्थिरताका निमित्त त्यत्ति धेरै आशा गर्ने ठाउँ छैन।’

उपाध्यक्ष पौडेलले नयाँ संविधान निर्माणपछि बनेका हरेक सरकारले गरेका कामहरुको मूल्यांकन हुन जरुरी रहेको बताए। 

उनले संविधान निर्माणपछि बनेका सरकारको कामहरु वस्तुनिष्ठ ढंगले समीक्षा हुनुपर्ने माग गरे। उनले नेकपा एमालेको गरेका उपलब्धि र कमजोरीको आफू जिम्मेवारी लिने पनि बताए।

पौडेलले नेकपा एमालेको तत्कालीन सरकारले कोरोना भाइरस र भूकम्पको बेलामा पनि अर्थतन्त्रलाई लयमा राखेको तर अहिलेको सामान्य अवस्थामा पनि किन असामान्य परिस्थिति भएको छ? भन्दै प्रश्न गरे।

उपाध्यक्ष पौडेलले देशको आर्थिक संकट कल्पनातित रहेको भन्दै मुलुकले भोगिरहेको अर्थ संकटलाई विश्लेषण गर्नुपर्ने आवश्यक्ता रहेको बताए।

‘२०६२/०६३ को परिवर्तनपछि खास गरेर संविधान निर्माणपछि जुनजुन सरकार बने ती सरकारले गरेका कामहरुको वस्तुनिष्ठ ढंगले समीक्षा हुनुपर्छ। के उपलब्धी भए, के कमजोरी भए? त्यसको मूल्यांकन हुनुपर्छ र हरेक सरकारले त्यसको जिम्मा लिनुपर्छ। नेकपा एमालेको तर्फबाट म भन्न चाहन्छु हामी जिम्मा लिन्छौँ', उनले भने, 'तुलनात्मक रुपमा एउटा अत्यन्तै विषम् परिस्थितिमा भूकम्पपछिको परिस्थिति, कोभिड १९ पछिको परिस्थिति, मुलुकको अर्थतन्त्र सम्हाल्दा पनि हामीले सरकार हस्तान्तरण गर्दा तुलनात्मक रुपमा राम्रो थियो। तर अहिले सामान्य अवस्थामा पनि किन एक प्रकारको चुनौति छ? अहिलेसम्मको अवस्थामा यस्तो खालको चुनौति मुलुकले व्यहोरेको नै थिएन। कल्पनातित छ, आर्थिक क्षेत्रको संकट। यो कसले, कहिले समाधान गर्ने हो? हामीले के गर्ने? यो तहको पीडा मुलुकको अर्थ जगतले भोगिरहेको छ। केस वाइज विश्लेषण हुनुपर्छ र जिम्मेवारी लिनुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .