राजनीति


चितवन सभापतिबारे रास्वपा :  पार्टी कार्यालय नै आएनन्, चुनावमा असहयोग गरे

चितवन सभापतिबारे रास्वपा :  पार्टी कार्यालय नै आएनन्, चुनावमा असहयोग गरे

नेपालखबर
माघ १९, २०७९ बिहिबार १७:५०, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन जिल्ला समिति सभापतिबाट राजीनामा गरेका धर्मेन्द्र सापकोटाले भ्रम फैलाएको जनाएको छ। 

केन्द्रीय सभापति रवि लामिछानेले चुनाव लडेको चितवन जिल्ला सभापतिबाट राजीनामा दिएपछि सापकोटाले दिएका सार्वजनिक अभिव्यक्तिाबारे पार्टी प्रवक्ता एवम् महामन्त्री मुकुल ढकालले आपत्ति जनाएका हुन्। 

‘निर्वाचनमा जिम्मेवारी निर्वाह नगरी पार्टीहितविपरीत अनावश्यक अन्तर्वार्ता दिँदै हिँड्नुभयो। जसले चितवन क्षेत्र नम्बर ३ को मतपरिणाममासमेत नकारात्मक प्रभाव पारेको थियो', ढकालले भनेका छन्, 'उहाँ चुनावी अभियानमा संलग्न हुनुभएन। पार्टी कार्यालय नगई असहयोग गर्नुभएको थियो।’

ढकालले निर्वाचनपपछि पनि चितवनका मुद्दा नउठाइ संगठनलाई बलियो बनाउने काममा नलागेको पनि बताएका छन्। 

'पार्टीको विधानबमोजिमका हैसियतभन्दा बाहिरका गतिविधिको नेतृत्व गरेकाले पुस १७ गते स्पष्टीकरण सोधिएको थियो', उनले भनेका छन्, 'पुस २७ गते राजीनामा दिएकाले पार्टीले सदर गरिसकेको छ।'

विज्ञप्ति

राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन जिल्ला समितिका सभापति रहनुभएका धर्मेन्द्र सापकोटाले पार्टी पंक्ति तथा नेपाली जनतामाझ पार्टीका सम्बन्धमा भ्रम छर्ने किसिमले सञ्चारमाध्यममा दिनुभएको अभिव्यक्तिप्रति पार्टीको ध्यानाकर्षण भई सत्य तथ्य व्यहोरा सरोकारवाला सबैमा अवगत गराउन यो विज्ञप्ती जारी गरिएको छ ।

सापकोटाले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७९ का बखत निर्वाह गर्नुपर्ने जिम्मेवारी निर्वाह नगरी पार्टीको हित विपरित अनावश्यक अन्तर्वार्ता दिंदै हिंड्नुभयो, जसका कारणले चितवन क्षेत्र नं. ३ को मत परिणाम समेतमा नकारात्मक प्रभाव पारेको थियो । साथै उहाँ चुनावी अभियानमा संलग्न हुनुभएन भने पार्टी कार्यालय नगई चुपचाप बसीे असहयोग समेत गर्नुभएको थियोे । उहाँले निर्वाचन पश्चात् पनि आफ्नो क्षेत्रका स्थानीय मुद्दाहरु तथा संगठनलाई बलियो बनाउन तर्फ ध्यान दिन वेवास्ता गरी पार्टीको विधान बमोजिमका हैसियतभन्दा बाहिरका गतिविधिको नेतृत्व समेत गरेकाले मिति २०७९।०९।१७ गते स्पष्टिकरण सोधिनुका साथै यस विषयमा आवश्यक छानबिन, अनुसन्धान तथा अन्तिम निक्र्यौल नभएसम्म पदीय हैसियतले कुनै पनि गतिविधि, कार्यमा संलग्न नहुन समेत निर्देशन दिइएको थियो ।

मिति २०७९।०९।२० गते सापकोटाले पार्टी कार्यालयमा नै आई आफ्नो स्पष्टिकरण पेस गर्नुभएको थियो र उहँले पेस गर्नुभएको स्पष्टिकरणका विषयमा पार्टीले निर्णय गर्नुअगावै मिति २०७९।०९।२७ गते उहाँले पार्टीबाट राजीनामा दिनुभयो जसलाई केन्द्रीय समितिको मिति २०७९।१०।०८ को बैठकले सदर गरेको थियो । अतः सापकोटाले सञ्चारमाध्यममा अन्तर्वार्तामा दिएको सूचना असत्य तथा भ्रमपूर्ण रहेको जानकारी गराउँदछौ ।

डा. मुकुल ढकाल
प्रवक्ता तथा महामन्त्री

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .