ad ad

राजनीति


कोइरालालाई ‘स्पेस’ दिएर नजिक्याउँदै देउवा

पार्टी कार्यालयमा बनाइयो अलग्गै कार्यकक्ष
कोइरालालाई ‘स्पेस’ दिएर नजिक्याउँदै देउवा

फाइल तस्बिर


केशव सावद
माघ २०, २०७९ शुक्रबार १८:५८, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इतर समूहको नेतृत्व गर्दै आएका नेता डा. शेखर कोइरालालाई आफूसँग नजिक्याउने कोसिस सुरु गरेका छन्। त्यसका लागि उनले कोइरालालाई पार्टीमा थप ‘स्पेस’ दिन थालेका छन्।

२०७८ पुसमा सम्पन्न १४ औं महाधिवेशनमा पराजित गरेपछि कांग्रेसको परम्पराअनुसार स्थान दिन अनिच्छुक देखिएका देउवा पछिल्लो समय कोइरालालाई ‘स्पेस’ दिएर नजिक्याउन थालेका हुन्। 

१० औं महाधिवेशनबाट सभापतिमा पराजित नेतालाई छुट्टै कार्यकक्षको व्यवस्था गर्ने परम्परा सुरु गरिएको थियो। तर, १४ औं महाधिवेशनमा देउवाले सो परम्परा टुटाएका थिए। महाधिवेशनको एक वर्षपछि भने देउवाले कोइरालाका लागि छुट्टै कार्यकक्षको व्यवस्था गरेका छन्।

१४ औं महाधिवेशनमा सभापतिमा पराजित भएका कोइरालालाई २६ औं वरीयतामा थन्क्याएपछि सभापति देउवामाथि प्रतिस्पर्धीको अपमान गरेको आरोप लाग्दै आएको थियो। 

महाधिवेशन सम्पन्न भएको एक वर्ष पुग्दासम्म प्रतिस्पर्धीका लागि छुट्टै कार्यकक्षको खाँचो नदेखे पनि उनले अहिले केन्द्रीय कार्यालय सानेपामा नेता कोइरालाका लागि कार्यकक्षको व्यवस्था गरिदिएका छन्। 

उनले पार्टीको केन्द्रीय कार्यसमिति बैठक बस्दै आएको भुइँतलाको बैठक कक्षसँगै कोइरालाको कार्यकक्ष तयार गर्न लगाएका छन्। कार्यालयले कार्यकक्षको व्यवस्था गरिदएको भए पनि नेता कोइरालाले अहिलेसम्म कार्यकक्षको उपयोग भने गरेका छैनन्। 

२०५७ सालमा सम्पन्न १० औं महाधिवेशनमा तत्कालीन सभापतिमा गिरिजाप्रसाद कोइरालाले आफूसँग पराजित देउवाका लागि केन्द्रीय कार्यालयमा छुट्टै कार्यकक्षको व्यवस्था गरेर यो परम्पराको थालनी गरेका थिए।

सभापतिमा पराजित नेतालाई केन्द्रीय कार्यालयमा छुट्टै कार्यकक्षको व्यवस्था गर्ने परम्परा १३ औं महाधिवेशनसम्म कायमै थियो। १३ औं महाधिवेशनमा सभापतिमा पराजित रामचन्द्र पौडेललाई देउवाले वरिष्ठ नेताका रुपमा कार्यकक्षको व्यवस्था गरेका थिए। 

दोस्रो कार्यकालका लागि १४ औं महाधिवेशनमा सभापतिमा विजयी भएपछि देउवाले विगतको परम्परा ‘ब्रेक’ गरे पनि पछिल्लो समय कोइरालाका लागि छुट्टै कार्यकक्ष तयार पारिदिएपछि दुई नेताको सम्बन्ध सुमधुर बन्दै गएको टिप्पणी हुन थालेको छ। 

शेखर कोइरालाका लागि पार्टी कार्यालयमा तयार कार्यकक्षबाहिर नेमप्लेट

सभापति देउवा प्रधानमन्त्रीबाट बाहिरिएपछि धुम्बाराहीमा कोइरालाको आउजाउ बढेको छ। गत मंसिर ४ मा सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि टिकट वितरणदेखि दुई नेताबीचको भेटवार्ताले तीव्रता पाएको नेताहरु बताउँछन्। 

महाधिवेशन सम्पन्न भएको झण्डै एक वर्षसम्म प्रतिस्पर्धी नेतालाई पार्टीको आन्तरिक छलफलमा बेवास्ता गरेका सभापति देउवा पछिल्लो समय कोइरालालाई पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकहरुमा पनि आमन्त्रण गर्न थालेका छन्। यसअघि आफू प्रधानमन्त्री हुँदा सभापति देउवाले शीर्ष तहका नेताहरुलाई छलफलका लागि बालुवाटार बोलाउँदा कोइराला भने छुट्ने गर्दथे।

तत्कालीन सत्ता गठबन्धनका अन्य नेतासँगको संवादमा देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायतलाई अघि सारे पनि कोइराला कुनै भूमिकामा देखिएका थिएनन्। 

तर, पछिल्लो समय सभापति देउवाको विगतको प्रवृत्तिमा क्रमभंग भएको देखिन्छ। देउवाले कोइरालालाई बेवास्ता गरेको आरोप पनि अहिले मत्थर भएको छ। संस्थापन पक्षीय एक नेताले शीर्ष तहमा हुने हरेक छलफलमा सभापति देउवाले नेता कोइरालालाई बोलाउने गरेको जानकारी दिए।

गत साउनमा इतर समूहले ४० प्रतिशतको शक्तिलाई सभापति देउवाले बेवास्ता गरेको निष्कर्ष पनि निकालेको थियो। यसअघि सभापति देउवा विधान र पद्धतिअनुसार नचलेको गुनासो गर्दै आएका कोइराला पछिल्लो समय उनीप्रति आक्रामक पनि सुनिँदैनन्। 

इतर समूहको नेतृत्व गर्दै आएका नेता कोइराला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने विषयमा पनि सभापति देउवाकै ‘लाइन’ मा सहमत देखिएका थिए। आफ्नै समूहबाट महामन्त्रीमा निर्वाचित गगन थापा र केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले फरक मत दर्ज गराए पनि उनी विश्वासको मत दिने ‘लाइन’ मा उभिएका थिए। 

माघ ८ गते बत्तिसपुतलीमा बसेको इतर समूहको बैठकमा नेता कोइरालाले विश्वासको मत दिएर गल्ती गरिएको अभिव्यक्ति दिएको समाचार बाहिरिएको थियो। तर, माघ ९ गते धुम्बाराहीमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा उनले विश्वासको मतबारे आफूले बोल्दै नबोलेको कुरा बाहिर आएको प्रष्टीकरण दिएका थिए। 

नेता कोइरालाले माघ ९ गते सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा प्रधानमन्त्रीलाई विश्वासको मत दिएर गल्ती भयो नभनेको प्रस्टीकरण नै दिएका थिए। उक्त बैठकपछि नेता कोइरालानिकट मानिने सहमहामन्त्री बद्री पाण्डेले पनि विश्वासको मतबारे सञ्चारमाध्यममा आएजस्तो समूहको बैठकमा कुरा नउठेको दाबी गरेका थिए। 

‘डाक्टर शेखर कोइरालाले त बैठक सुरुवात मात्रै गर्नुभएको थियो। उहाँले आफ्ना धारणा त्यहाँ प्रस्तुत गर्नुभएको थिएन। बैठकमा धारणा राख्नेहरुले पनि समग्र समीक्षा गर्नुभएको हो। गठबन्धन गर्न हुन्थ्यो, गर्न हुन्नथ्यो, गठबन्धन जोगाउन के कमिकमजोरी भए र, विश्वासको मत दिनु पर्ने आधार, कारणहरु के हुन हामी स्पष्ट हुनुपर्छ भन्ने ढंगका समीक्षात्मक कुराहरु प्रस्तुत भएका थिए,’ उनले भनेका थिए।

समूहको बैठकमा भएको छलफलबारे सञ्चारमाध्यममा त्यस्तो समाचार आएपछि इतर समूहले पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकको भोलिपल्ट अर्थात माघ १० का लागि तय गरिएको बैठक अन्तिम समयमा आएर स्थगित गरेको थियो। उक्त बैठक सभापति देउवाको आग्रहमा नेता कोइरालाले स्थगित गरेको बताइन्छ।

कांग्रेसको २६ औँ वरीयतामा शेखर कोइराला

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .